सल्यान । जिल्लामा कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि स्थानीय तहले अक्सिजन सहितको आइसोलेसन तयार पार्न थालेका छन् । जिल्लामा बिरामीहरूको चाप बढ्न थालेपछि उपचारमा समस्या हुन नदिन स्थानीय तहहरूले आइसोलेसन तयार पारेका हुन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले १० शय्याको अक्सिजन सहितको आइसोलेन कक्ष निर्माण गरेको छ । दिनप्रतिदिन बिरामीहरूको चाप बढन थालेको र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका बिरामीहरूको उपचार सहज रूपमा गर्नका लागि अक्सिजन सहितको आइसोलेसन कक्ष तयार पारिएको गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।
गाउँपालिकाले बिरामीहरूको शिघ्र उपचारका लागि गाउँपालिकाभित्र रहेका चार वटा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखेको केसीको भनाइ छ । ‘हामीले आइसोलेनसमा उपचार गराइरहेका बिरामीहरूलाई समस्या नहोस् भनेर र गाउँपालिका भित्रका बिरामीहरूलाई समस्या नहोस् भनेर तीन वटा एम्बुलेन्स गाउँपालिकाको स्वास्थ्य शाखाबाट सञ्चालन गर्ने व्यवस्था मिलाएका छौँ’, केसीले भने । यस्तै कपुरकोट गाउँपालिकाले पाँच वटा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । यस्तै गाउँपालिकाले २५ शय्याको आइसोलेसन निर्माण गरेको छ । तत्काल २५ शय्याको आइसोलेसन तयार पारेको गाउँपालिकाले थप २५ शय्याको आइसोलेसन तयार पार्ने गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । बिरामीहरूको चापलाई मध्यनजर गरी आगामी दिनहरूमा थप कदम चालिने अध्यक्ष सेनको भनाइ छ ।
जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाले प्रभाकर माविमा १० शय्याको अक्सिजन सहितको आइसोलेसन तयार पारेको जनाएको छ । पहिलो चरणको कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको बनगाड कुपिण्डे नगरपालिकामा पनि दोस्रो चरणको कोरोनाबाट प्रभावित बन्न सक्ने भन्दै तयारी थालेको नगरपालिकाले जनाएको छ । यस्तै नेपाली सेनाको सबुज गणले सल्यान अस्पताल परिसरमा २० शय्याको आइसोलेसन कक्ष निर्माण गर्न लागेको छ । शारदा नगरपालिकाको पाँच लाख रुपैयाँको आर्थिक सहयोगमा नेपाली सेनाको सबुज गणको प्राविधिक सहयोगमा आइसोलेसन निर्माण गर्न लागेको नेपाली सेनाका सेनानी कञ्चन कृष्ण बस्नेतले जानकारी दिए । हाल जिल्ला अस्पतालमा १६ शय्याको कोभिड अस्पताल सञ्चालनमा छ । तर, बिरामीहरूको चाप बढ्न थालेपछि जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णयअनुसार आइसोलेसन तयार पार्न लागेको सेनाले जनाएको छ ।
जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ भने २ सय ६२ जनाभन्दा बढी संक्रमित भएको सल्यान अस्पतालले जनाएको छ । यी मध्ये गम्भीर लक्षण देखा परेकाहरूको सल्यान अस्पतालमा उपचार भइरहेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय सल्यानले आइतबारदेखि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमलाई रोकथाम गर्नका लागि आगामी १ जेठसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार्इंले जानकारी दिइन् ।
जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएकोले जिल्ला ठप्प रहेको छ । गत वर्ष गरिएको लकडाउन केही खुकुलो भए पनि यसपटक भने विभिन्न स्थानमा चेक पोस्ट खडा गरेर सुरक्षा व्यवस्थालाई समेत कडा पारिएको छ । जिल्ला प्रशासनले खाद्य सामग्री खरिदका लागि बिहान ६ बजेदेखि ९ र बेलुका ५ बजेदेखि ७ बजे सम्मका लागि खाद्यान्न पसलहरू सञ्चालन गर्न दिने निर्णय गरेको छ । निषेधाज्ञा भएपछि जिल्लाका सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय संस्थाहरू पूर्णरूपमा ठप्प रहेका छन् ।
प्रतिक्रिया