काठमाडौं । अमेरिका निवासी अभिनेता सुवास थापाको निर्देशन रहेको गीत ‘कुल्चि हिड्छन् फूललाई’ को भिडियो सार्वजनिक भएको छ । खेम रिजालको शब्द, छवि न्यौपानेको स्वर र कर्मा ग्यान्चेन संगीत रहेको गीतको भिडियो अमेरिकामै छायांकन गरिएको हो । विनिता खड्का थापाको कोरियोग्राफी रहेको भिडियोेमा सुवासका साथै विनिता स्वयं, सिआइला, पतृक र कृष्टिनको अभिनय छ । पूर्वप्रेमीप्रेमिकाको मिलन, बिछोड र जीवनको उतारचढावको कथा प्रस्तुत गरिएको भिडियो तोरी राइसले छायांकन गरेका हुन् ।
‘कोही मेरो,’ ‘तथास्तु’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका चलचित्रमा अभिनय गरेर चर्चामा रहन सफल सुवास केही वर्षयता सपरिवार अमेरिकामा बस्दै आइरहेका छन् । अमेरिकामा थापाले कन्ट्रेल राइटको निर्माण तथा निर्देशन रहेको एक अंग्रेजी चलचित्र ‘हाउ टु किप योर म्यान ह्याप्पी’ मा समेत अभिनय गरेका थिए । चलचित्रमा उनको व्यवसायीको भूमिका रहेको छ ।
अमेरिकामा रहे पनि कलाकारिताप्रति आफ्नो अगाढप्रेम रहेकाले मौका मिलेसम्म नेपाली चलचित्र तथा गीत संगीतमा आफूलाई प्रस्तुत गरिरहने उनी बताउँछन् । ‘मेरो ज्यान अहिले विदेशमा छ, मन त नेपाली नै होनी,’ थापाले भने, ‘नेपाली फिल्म र गीत संगीत अभिनय अन्य काम छोडेर पनि गर्छु ।’
प्रतिक्रिया