खानेपानीको संकट बेहोर्दै चुरेवासी

सर्लाही । चुरे क्षेत्रमा सुक्खा मौसम सुरु भएसँगै खानेपानी अभाव हुन थालेको छ । बर्सेनि यस मौसममा चुरेवासीले खानेपानीको संकट बेहोर्दै आएका छन् । सुख्खा मौसमसँगै कुवा, खोला र खोल्साको धमिलो पानीमै निर्भर हुनुपर्ने स्थानीयवासीको गुनासो छ । चुरे भेगमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुंग्रेखोलालगायत ठाउँका करिब एक हजार परिवार खानेपानीको पहुँचभन्दा बाहिर छन् । उनीहरूलाई फागुन लागेसँगै खानेपानीको अभाव हुन्छ । हरिवन नगरपालिका–१ केराबारीकी रश्मिला जिम्बाले नजिकको कुवा सुकेपछि एक गाग्री पानी लिन घण्टौँ उकालो–ओरालो गरेर मुहानसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको बताइन् ।

४० घरधुरी रहेको बस्तीका छेउमा एउटा कुवा भए पनि पर्याप्त पानी नभएका कारण स्थानीयवासी समस्यामा परेका छन् । सो कुवाको पानी मुस्किलले चार÷पाँच घरलाई पुग्ने गरेको जिम्बाले बताइन् । लिफ्ट प्रविधिमार्फत चुरेका केही बस्तीमा खानेपानी पु¥याइए पनि खोलामा पानी सुक्दा धारामा पानी कम आउन थालेको छ । धाराको पानी थाप्न घण्टौँ लाममा बस्नुपरेको लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले गुनासो गरे । ‘पानीको मुहानै सुकेपछि धारामा पानी कम आउन थालेको छ’, रानाले बताए । एक गाग्री पानीका लागि करिब पाँच घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको लालबन्दी–१५ का किरण विकको भनाइ छ ।

दूषित पानीका कारण चुरे क्षेत्रमा बेलाबेलामा झाडापखालाको महामारी फैलिने गरेको छ । वस्तुभाउ र मानिसले एउटै खोलाको पानी खाने गरेका कारण विभिन्न किसिमका सरुवा रोगसमेत लाग्ने गरेको स्थानीय चिकित्सकले बताएका छन् । ‘धमिलो पानी छानेर खानुपर्छ, यसले बिरामी पर्ने जोखिम बढाएको छ’, ईश्वरपुर नगरपालिका–१२ का अजय थिङले बताए । बढ्दो वन विनाश, उत्खनन् र यस वर्ष हिउँदमा वर्षा नभएकाले खानेपानीको स्रोत सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीले जनाएको छ ।

चुरे क्षेत्रमा खानेपानीको अभाव टार्न यस क्षेत्रका स्थानीय तहले खोलाबाट लिफ्ट प्रविधिमार्फत बस्तीमा खानेपानी पु¥याए पनि मूल नै सुक्दा सो कार्य प्रभावकारी बन्नसकेको छैन । पुराना इनारकुवा मर्मत र नयाँ इनार खनेर पानी पु¥याउने योजनानुसार काम भइरहेको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले बताए । उनका अनुसार ठाउँठाउँमा डिप बोरिङ गर्न लागिएको छ । पछिल्लो समय वन विनाश हुँदै गएका कारण पनि पानीका मुहान सुक्न थालेको जनाइएको छ ।

प्रतिक्रिया