जोशीले गरे दुई कृति सार्वजनिक

ललितपुर । नेपाल भाषाको प्रचार–प्रसार एवं संरक्षण गर्ने उद्देश्यले ६८ वर्ष पहिले अर्थात् वि.स २००९ सालताका प्रकाशनमा आएको लप्टन लोकमान श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाल भाषाया त्वाथः’ को दोस्रो संस्करण बजारमा आएको छ । यसैगरी उनका नाती कवि दिलीप श्रेष्ठद्वारा लिखित पुस्तक ‘खोला पारीकी आमा’ सार्वजनिक गरिएको छ । लप्टन लोकमानको पुण्यतिथिको सन्दर्भ पारेर आयोजित एक अनौपचारिक कार्यक्रमका बीच पुस्तकलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गरे ।

कार्यक्रममा बोल्दै वाङ्मय शताब्दी पुरुष जोशीले नेपालमण्डल तथा विश्वका अन्य ठाउँमा छरिएर रहेका नेवारले नेपाली सभ्यता र संस्कृतिको विकास गर्न ठूलो भूमिका निर्वाह गरेको बताए । उनले यो पुस्तक नेपाल भाषा सिक्नेका लागि पहिलो खुड्किलोको रुपमा सहयोगी हुने जनाउँदै भने, ‘पुस्तक प्रत्येक नेवारबन्धुको लागि पठनीय र संग्रहणीय छ ।’ जोशीले कवि दिलीप श्रेष्ठको कविता र त्यसले उठान गरेका विषयले आफूलाई निकै छोएको जिकिर गरे । यसअघि केही कविता र गीतलाई समेटेर ‘रेल चढेपछि’ र ‘जिन्दगीको यात्रा कहाँ रोकुँ’ गरी दुई पुस्तक सार्वजनिक गरिसकेका दिलीपको यो तेस्रो कृति हो ।

आफ्नो मातृभाषा र साहित्यको सेवा गर्ने, पहाड र तराईमा रहेका तर यो भाषा नजानेका नेवार समाजमा फेरी एकपटक भाषा प्रचार गर्दै लाग्ने तथा अन्य भाषाभाषीलाई नेपाल भाषा पढ्न सिकाइ दिने उद्देश्यले ले. लोकमान श्रेष्ठले आफू तत्कालीन पूर्व ६ नं, चैनपुरमा रहँदा ताका तयार गरेको यो हस्तलिखित पुस्तक (नेपाल भाषाया त्वाथः) वि.सं २००९ सालमा सत्य साहित्य सदन ललितपुरले प्रकाशन गरेको थियो । समारोहमा कवि दिलीपले सत्यमोहन जोशीको प्रांगणमा २०७७ मा स्थापित लोक साहित्य भवनको लागि नगद २१ हजार सहयोग पनि हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया