काठमाडौं । आख्यानकार दीपक प्याकुरेलद्वारा लिखित उपन्यास ‘उबर’ बजारमा आएको छ । डायस्पोरिक भावको यो उपन्यास अमेरिकी भूमिबाट स्वदेश सम्झेर लेखिएको नवीनतम् कृति हो । लामो समयदेखि अमेरिकालाई कर्मभूमि बनाएका प्याकुरेल हाल आएर नेपाली साहित्यमा सक्रिय रुपमा लागेका छन् । मूलतः आख्यान विधामा कलम चलाउने प्याकुरेलको पहिलो उपन्यास ‘उबर’ हो ।
यसमा प्रयुक्त रोचक एवं मार्मिक कथा र कलात्मक भाषा–शैलीका कारण हरेक पाठकका लागि रुचिकर बनेको प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले बताए । उपन्यास डायस्पोरिक भावलाई कलात्मक रुपमा उधिनेको बताउँदै पौडेलले कृति फरक स्वादमा आएको जिकिर गरे । उपन्यासमा रहर वा बाध्यतावश विदेशिने नेपालीको मनोविज्ञान सशक्त भएर आएको छ ।
विदेशी भूमिबाट देखिने नेपाल, नेपालीपन र त्यहाँको भोगाइलाई नजिकबाट छोएर उपन्यासको कथावस्तु बुनिएको प्रकाशक पौडेलले बताए । उनले भने, ‘एक नेपाली कसरी विदेश पुग्छ र कसरी त्यहीँ बस्न बाध्य हुन्छ, अनि उसमा डायस्पोरिक भावना ओतप्रोत भएर आउछ भन्ने कुरा उबर उपन्यासले पस्केको छ ।’ उनले राष्ट्र, राष्ट्रियता र मौलिकतालाई नियाल्न पुस्तक सफल भएको सुनाए ।
अमेरिकी भूमिबाट लेखिए पनि उपन्यासको मुख्य परिवेशमा नेपाल र नेपाली समाजको चित्रण गरिएको छ । नेपालको सहरीदेखि ग्रामीण परिवेश हुँदै अमेरिकाको ज्याक्सन हाइटसम्म तन्किएको छ । विगतमा नेपाली समाजले भोगेको सशस्त्र द्वन्द्व र त्यसले निम्त्याएको परिणतिलाई यसले पक्रन खोजेको छ । मूलतः उपन्यासमा एक सैनिक अधिकृतको मनोदशा राम्रोसँग उजागर भएको सम्पादन हाउसका दीपक नेपालले बताए ।
उनका अनुसार विद्रोहीसँगको मोर्चामा विजय हासिल गरेर पदोन्नति हुने एक सैनिक अधिकृत मुलुकमा शान्ति सम्झौतापश्चात् भने आफ्नै मनोद्वन्द्वले पिल्सिन पुग्छ । अन्ततः ऊ देश छोड्न बाध्य हुन्छ र अमेरिकी भूमितिर पलायन हुन्छ । स्वदेशमा शानदार कर्णेल पदको फूली भिर्ने उक्त पात्र अमेरिकी भूमिमा भने उबर (एकप्रकारको ट्याक्सी सेवा) ड्राइभर बनेर दैनिकी चलाउन थाल्छ ।
तर, समय बित्दै जाँदा उसलाई स्वदेशको यादले लखेट्दै जान्छ र जतिसुकै भौतिक सम्पन्नताका बीच जीवन बिताए पनि मनमा भने शान्ति हुँदैन । यही डायस्पोरिक भाव नै उपन्यासको सशक्त पक्ष हो । द्वन्द्वकालमा भएको नेपाली सेना र विद्रोही माओवादी लडाकुका बीचको दोहोरो भिडन्त मात्र हैन, सामाजिक भिडन्तलाई पनि उपन्यासले यथार्थवादी कोणबाट प्रस्तुत गरेको छ ।
आफ्नो देश छाडेर सपनाको देश अमेरिका पुगेपछि हरेकपल नेपाल सम्झने तर विविध कारणवश पुनः नेपाल फर्कन नसक्ने मार्मिक कथावस्तु उबरले समेटेको छ । नेपाल फर्किने र अमेरिकामै रहने भन्ने पारिवारिक द्वन्द्वका बीच उपन्यास गतिशील बनेको छ । देशको न्यास्रो मेट्न अमेरिकामा रहेका नेपालीले ज्याक्सन हाइट (नेपाली भान्छाघर) लाई नै नेपाली समाजको प्रतिनिधि परिवेश बनाइएको छ । उपन्यास सम्पादन हाउसको सहकार्यमा काठमाडौंबाट शिखा बुक्सले प्रकाशित गरेको हो । ज्ञानज्योति पब्लिकेशन मुख्य वितरक रहेको यस कृतिको मूल्य २७५ रहेको छ ।
प्रतिक्रिया