सल्यान । जिल्लामा नेपाली सेनाले नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ । जिल्लामा हुने सम्भावित विपद्सम्बन्धी घटनाहरूलाई मध्यनजर गर्दै तत्काल उद्धार तथा व्यवस्थापनका लागि नाइटभिजन हेलिप्याड निर्माण गर्ने भएको हो ।
जिल्लामा हालसम्म नाइटभिजन हेलिप्याड नभएका कारण विपद् व्यवस्थापन तथा उद्धार कार्यमा समस्या हुँदै आएकोमा हेलिप्याड निर्माण भएपछि रातीमा समेत हेलिकोप्टर अवतरण गराउन सकिने सबजु गण सिमखर्कका सेनानी कृष्ण कञ्चन बस्नेतले जानकारी दिए । नेपाली सेनाले शारदा नगरपालिकाको आर्थिक सहयोगमा सबुज गणको हाताभित्र नाइट भिजन हेलिप्याड निर्माण गर्न लागेको बस्नेतले जानकारी दिए ।
‘जिल्लामा अहिलेसम्म नाइट भिजन हेलिप्याड नभएकै कारण रातीमा हेलिकोप्टर अवतरण हुन नसकेकोले उद्धार तथा व्यवस्थापन कार्यमा ढिला हुँदै आएको छ, हेलिप्याड निर्माण भएपछि रातीमा हुने विपद्का घटनाहरूमा हेलिकोप्टर प्रयोग गरी उद्धारकार्य गर्न सहज हुनेछ’, सेनानी बस्नेतले भने ।
सेनाले जिल्लाका ६ वटा स्थानीय तहमा हेलिप्याड निर्माण गरेको भए पनि ती हेलिप्याडहरूमा दिउँसो मात्रै हेलिकोप्टर अवतरण हुने गरी निर्माण गरिएको छ । रातीमा अवतरण हुनका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकोले शारदा नगरपालिकाले पाँच लाख रुपैयाँ उपलव्ध गराएको सेनानी बस्नेतले जानकारी दिए ।
जिल्लाका विभिन्न क्षेत्रहरूमा फैलिएको डढेलो नियन्त्रणमा सेनाले स्थानीयहरूसँग समन्वय गरेर नियन्त्रणको प्रयास गरेको सेनाले जनाएको छ । ‘हामीले अहिले जिल्लाका विभिन्न स्थानहरूमा फैलिएको डढेलो नियन्त्रणका लागि समन्वय गरेर प्रयास गरिरहेका छौँ, जनताका हरेक विपदहरूमा सेनाले अग्रमोर्चामा रहेर कार्य गर्दै आएको छ यसले सल्यानवासीहरूको मन जित्न सफल भएका छौँ’, सेनानी बस्नेतले भने ।
विपद्मा परेर घाइतेहरूको शीघ्र उद्धार तथा अन्य व्यवस्थापन कार्यका लागि सेनाले जिल्लाका ६ वटा स्थानीय तहहरूमा हेलिप्याड निर्माण गरेको नेपाली सेनाले जनाएको छ । हेलिप्याड निर्माण गर्न बाँकी रहेका स्थानीयतहरूमा समेत निर्माणका लागि स्थानीय जनप्रतिनिधीहरूसँग आवश्यक समन्वय भइरहेको सेनानी वस्नेतले जानकारी दिए ।
स्थानीय तहहरूको समन्वयमा नेपाली सेनाले हेलिप्याड निर्माणबाहेक अन्य जनसरोकारका विषयहरूमा समेत समन्वय गरी कार्य गर्दै आइरहेको छ । यसैबीच सोमबार बेलुकीदेखि सदरमुकाम खलंगा आसपासमा भइरहेको आगलागी नियन्त्रणमा सेनाको ठूलो फौज खटिएको छ । यसका साथै जिल्लाका अन्य सुरक्षा निकाय, स्थानीयहरूले समेत डढेलो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया