धनगढी । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीले ५९ करोडमा झण्डै दुई सय खानेपानी योजना निर्माण गरिरहेको छ । कार्यालयले कैलाली र कञ्चनपुरमा सो संख्याका योजनाहरू निर्माण गरिरहेको हो ।
जसमध्ये गत चैतमा एउटा योजना सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका प्रमुख मोहनबहादुर कुँवरले जानकारी दिए । गत चैतमा श्रीपुर खानेपानी योजना सम्पन्न भएको बताउँदै उनले चैत २१ गते श्रीपुर खानेपानी तथा सरसफाई समितिलाई हस्तान्तरण गरिसकेको बताए ।
कैलालीको गोदावरी नगरपालिका–६ र ७ का १ हजार ४ सय ५० हाराहारीको घरधुरीलाई लाभान्वित गर्ने लक्ष्यका साथ निर्माण गरिएको सो खानेपानी योजनामा हाल झण्डै नौ सय घरधुरीमा धारा जडान गरिएको उनले बताए । ८ करोड ५१ लाख ७९ हजार लागत रहेको सो योजनामा ५ करोड २० लाख खर्च भइसकेको जनाइएको छ ।
चालु आवको असार मसान्तसम्म कैलालीमा चार र कञ्चनपुरमा दुई गरी ६ वटा खानेपानीका योजना सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । निर्माणाधिन ती ६ वटा योजना सम्पन्न भए पश्चात कैलाली र कञ्चनपुरका ४ हजार ५ सय घरधुरीका नागरिकले स्वच्छ खानेपानी पाउनेछन् । योजना निर्माणमा जनसहभागिता राम्रो भए र उपभोक्ता समितिले छिटो छरितो काम गरे समयमै योजना सम्पन्न हुने कार्यालयको अपेक्षा छ ।
हाल २१ प्रतिशत नागरिकले मात्रै राष्ट्रिय मापदण्ड अनुसारको स्वच्छ खानेपानी पिउन पाएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीको तथ्यांकमा उल्लेख छ । नेपाल सरकारले आव ०८०–८१ सम्म ९९ प्रतिशत नागरिकलाई आधारभूत स्तरको खानेपानी र ४० प्रतिशतलाई राष्ट्रिय मापदण्ड अनुसारको स्वच्छ खानेपानी पुर्याउने लक्ष्य राखेको छ । नेपाल विश्वमा जलस्रोतको दोस्रो धनी देश भए पनि आमनागरिकमा स्वच्छ खानेपानी अझै पुग्न सकेको छैन ।
कैलाली
प्रतिक्रिया