दार्चुलामा पानीका मुहानहरु सुक्दै

दार्चुला । दार्चुलामा ५ वर्षअघि जहाँतहीँ पाइने पानीका स्रोत अहिले कम हुँदै गएका छन् । जथाभावी सडक निर्माण र वनजंगल फडानीका कारण पानीका स्रोत सुक्ने क्रम बढेको हो ।

विगतमा मुलबाट आउने पानीको मात्रा र अहिले आउने मात्रामा पानी निक्कै घटेको स्थानीयको भनाइ छ । पानीकै अभावका कारण खेतीयोग्य जमिनमा खेती गर्न सकिएको छैन् । हिजोका दिनमा हराभरा भएको जंगलहरु अहिले आएर नाङ्गा डाँडा मात्र देखिने गरेका छन् ।

स्थानीयले जंगल फडानी गर्नुका साथै जंगलमा जथाभावी आगो लगाउनाले पानीका मुहानहरु सुक्न थालेको स्थानिय मदन सिंह धामीले बताए । सामुदायिक वनको कमाउने धन्दा र वन कार्यालयको पहुँच नहुँदा दार्चुलाका धेरैजसो भारी वन मासिदै गएका छन् । जलवायु परिवर्तनको मुख्य मारमा परेको दार्चुला अहिले जंगल जोगाउने भन्दा पनि अतिक्रमण गर्नेको संख्या अत्यधिक बढेको देखिन्छ ।

जथाभावी पशुचौपाय छाडा तरिकाले जंगलमा छाड्ने तर संरक्षणमा ध्यान नदिँदा दैनिक माननीव क्रियाकलापको मारमा जंगल परेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ । जंगल मासिएसँगै पानीका स्रोतहरू कम हुँदै गएका छन् । वातावरणीय प्रभाव मूल्यांकल नै नगरी जथाभावी डोजरको बलमा बिना डिपिआर सडक निर्माण गरिँदा पानीका मूलहरू पुरिँदै गएका छन्।

गाउँ–गाउँमा पानीबाट सञ्चालन भएका अन्न पिस्न प्रयोग हुँने पानी घट्टहरू समेत पानीको अभावमा लोप हुँदै गएको अर्का स्थानिय वीर सिंह खत्रीले बताए । जिल्लाका ९ वटा स्थानीय तहमा रहेका सामुदायिक वनहरुमा जथाभावी रुख काट्ने र आगो लगाएर जंगल सखाप पार्ने निक्कै होडबाजी चलेको देखिन्छ ।

प्रतिक्रिया