तिज कार्यक्रममा विद्यार्थी सम्मानित

काठमाडौं : राजधानीको मूलपानीमा शनिबार हाँसो, संगीत अनि उमंगको माहोल थियो । मूलपानी गाविसले आयोजना गरेको तिज विशेष कार्यक्रममा नाच्ने, गाउने अनि नचाउनेहरूको विशेष तामझाम थियो ।
हास्य कलाकार शैलेन्द्र सिंखडाले तिजमा आधारित व्यङ्ग्य प्रस्तुत गर्दा सहभागीबीच हाँसोको पर्रा छुटिरहेको थियो ।
कार्यक्रममा गायक यज्ञराज उपाध्यायले राईझुमा बोलको गीतमार्फत मनोरञ्जन गराउँदा लोकगायिका मञ्जु गौतमले तिज विशेष गीत गाएर उपस्थित महिलालाई नाच्न उक्साइन् । बुद्धिबोध तिमल्सिना, रेशम थापा, राजु लामा, हरि थापा, अमृता लुंगेलीलगायत गायकगायिकाले पनि गीतसंगीत प्रस्तुत गरे ।
कार्यक्रममा सो क्षेत्रबाट यस वर्ष एसएलसी उत्तीर्ण गर्ने एक सय ६० जना विद्यार्थी तथा १६ जना स्वास्थ्यस्वयंसेवकलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया