अमेरिकाले सन्दीपलाई विश्वकप खेल्न दिएन भिसा, शुभेच्छुकहरुसँग मागे माफी

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा स्पीनर सन्दीप लामिछानेलाई आगामी जुनमा हुने टी–२० विश्वकप खेल्नको लागि भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ ।

बुधबार लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । उनले विश्वकप खेल्न अमेरिका जान नपाउने भन्दै आफ्ना नेपाल क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुसँग माफीसमेत मागेका छन् ।

बलात्कार आरोपको मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले आवश्यक सबै प्रक्रिया पूरा गरे पनि सन्दीपलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो ।

यसअघि २०७६ साउनमा पनि काठमाडौंस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यतिबेला उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि भिसाको आवेदन दिएका थिए ।

त्यसबेला पनि सामाजिक सञ्जालमा उक्त घटनाबारे सन्दीपले पोस्ट गरेका थिए । सन्दीपको पोस्टपछि आलोचना भएपछि अमेरिकी दूतावासले भिसा दिएको थियो ।

बुधबार सन्दीपले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘र अमेरिकी दूतावास, नेपालले २०१९ मा जे गरे, त्यही गरे, उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा भइरहेको टी–२० विश्वकपको लागि मेरो भिसा अस्वीकार गरेको छ, दुर्भाग्य, नेपाल क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’

आगामी महिनामा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

प्रतिक्रिया