दैलेखमा फाइबरबाट सेवा दिँदै टेलिकम

दैलेख । नेपाल टेलिकमले दैलेखमा ‘फोर–जी’ सुरु गरेसँगै सदरमुकामा फाइबरबाट सेवा दिएको छ । यो सेवा सुरु भएपछि बजारमा अव्यवस्थित रूपमा तामाको तारबाट सञ्चालनमा रहेकोे टेलिफोन तथा इन्टरनेटका तारहरू हटाउन थालेको छ । सोमबार टेलिकमको कार्यालयदेखि गणेशचोक सम्मको तारहरू हटाएको छ । यो कार्य निरन्तर रहने टेलिकमले जनाएको छ ।

नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेकोे टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको हो । सोमबारदेखि टेलिकमले दैलेख बजार भित्रका तारहरू विस्थापित गर्न लागेको छ । सदरमुकाम समेत रहेको नारायण नगरपालिकाका सेवाग्राहीलाई उच्च गतिको इन्टरनेट सेवा दिइरहेको छ । टेलिकम दैलेखकाका अनुसार १५ कात्तिकमै यो स्थानमा फाइबर टु द होम (एफटिटिएच) विस्तारको कार्य सम्पन्न भएको थियो उक्त स्थानमा यसअघि प्रयोगमा रहेका पुरानो नेटवर्कलाई सम्पूर्ण रूपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको छ । पूर्णरूपमा फाइबर नेटवर्क विस्तार हुने नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको टेलिकम दैलेखले जनाएको छ । नारायण नगरपालिकामा टेलिकममा अनुसार १ हजार २४ लाइन क्षमताको एफटिटिएच नेटवर्क विस्तार गरिएको छ ।

पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४ सय १७ लाइन एफटिटिएचमा रूपान्तरण गरिएका छन् भने नयाँ १ सय २० लाइनसमेत वितरण गरिएको छ । योसँगै उक्त नगरपालिकामा एफटिटिएच लाइन प्रयोगकर्ताको संख्या ५ सय ३७ पुगेको छ । यसले नारायण नगरपालिका अन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ । दैलेखमा टेलिकमका प्रयोगकर्ताहरूले फोर–जी सेवा एक वर्ष पहिलेदेखि चलाउँदै आएका छन् ।

नेपाल टेलिकम दैलेखको तर्ताङदेखि सदरमुकाम दैलेख बजारहुँदै खुर्सानीबारीसम्मको क्षेत्रमा अप्टिकल फाइबर बिछ्याएसँगै पुरानो तारहरू हटाउन लागेको नेपाल टेलिकम दैलेखका निमित्त कार्यालय प्रमुख हरि खनालले जानकारी दिए । उनका अनुसार दैलेख बजार अब पुराना तारहरू हटाएपछि नयाँ तारहरूलाई व्यवस्थित गरिने र बजार सुन्दर देखिनेछ । नारायण नगरपालिकामा तार विस्थापितको काम सुरु भएको र यो काम सकिएपछि दुल्लु नगरपालिकामा फाइबरको काम सुरु गरिने टेलिकम दैलेखले जानकारी दिएको छ ।

प्रतिक्रिया