सीमामा नेपालीका पीडा : जाँदा रासनकार्ड, आउँदा नागरिकता

नेपालगञ्ज । कोभिड–१९ महामारीका कारण आर्थिक चपेटामा परेका सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक भारततर्फ जान थालेका छन् । चाडपर्वको आगमनसँगै खर्च अभाव हुन थालेपछि त्यहाँका नेपालीहरू रोजगारीका लागि विभिन्न नाका भएर भारततर्फ जान थालेका छन् ।
बन्दाबन्दी खुलेर सहज भएसँगै फेरी भारतपस्नेको लर्को देखिन्छ । कोभिडका कारण केही हप्ता सिमानामै बिताएका नेपाली फेरी भारतप्रस्थान गर्न लाइन बस्ने गरेका छन् । उनीहरूलाई अहिले आवतजावत गर्न सीमामा दुई थरी कार्ड देखाउनुपर्ने बाध्यतासमेत रहेको छ । नेपाल प्रवेशका लागि नागरिकता देखाउनुपर्ने उनीहरूमा बाध्यता रहेको छ भने अहिले भारततर्फ जाँदा अनिवार्य रूपमा भारतको रासनकार्ड देखाउनुपर्छ ।

गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल–भारत नाका जमुनाह भएर २५ सय बढी नेपाली भारत छिरेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । भारतमा अहिले दैनिक रेकर्ड मात्रामा कोभिडका संक्रमित भेटिरहेको बेला जोखिम नै मोलेर नेपालीहरू त्यहाँका विभिन्न सहरमा पुगिरहेका छन् । उनीहरू भारत–चीनबीच विवाद बढिरहेको सीमा इलाका लद्दाखसम्म पुगेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीले २७ भदौबाट दैनिक तीन सयको हाराहारीमा रोजगारीका लागि नेपाली भारतका विभिन्न सहरमा गइरहेको बताए । एकसाताको अवधिमा करिब २५ सय नेपाली यो नाकाबाट भारत फर्किसकेका छन् । कोभिड–१९ का कारण नेपाल–भारत सिमाना बन्द भए पनि भारतमा रोजगारी गर्ने अधिकांश नेपालीसँग भारतीय आधार कार्ड रहेकोले सोही देखाएर उनीहरू फर्किरहेका छन् ।

भारतमा बन्दाबन्दी हुँदा काम नपाई बाध्य भएर नेपाल फर्किएको बताउँदै पहाडी जिल्लाका नेपालीले नेपालमा पनि रोजगारी नपाएपछि फेरि बाध्य भएर भारत नै जानुपरेको सुनाउँछन् । भारत जान भनी जमुनाह नाकामा पुगेकाहरूले नेपाल फर्किएको तीन महिना पुगे पनि गाउँघरमा कुनै काम नपाएपछि भोकै बस्ने अवस्था आएकोले फेरी बाध्य भएर रोजगारीका लागि भारत जान थालेको बताउँछन् । उनीहरू कोरोनाभन्दा पेट पाल्ने चिन्ता बढी भएपछि फर्किएको बताउँछन् ।

कोरोनाको डरले नेपालमा बस्ने हो भने दुई छाक टार्न समस्या हुन थालेपछि भोकै बस्नुभन्दा रोगसँग लड्दै रोजगारीमा लाग्ने ठानेर नै आपूmहरू भारत फर्किन लागेको अधिकांश नेपालीको भनाइ छ । भारतमा बन्दाबन्दी सुरु भएपछि कामबाट निकालिएका नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र देखाएर स्वदेश छिरेका थिए भने अहिले उनीहरूले भारत जानका लागि भारतीय आधार कार्ड देखाइरहेको जमुनाह प्रहरीले जनाएको छ । नेपाली नागरिकता भएकालाई नेपाल आउन र भारतीय आधार कार्ड भएकालाई भारत जान सजिलो भएपछि भारत जाने अधिकांश नेपालीले आधार कार्ड बोकेर आइरहेको जमुनाह प्रहरी प्रमुख गिरीले बताए ।

प्रतिक्रिया