‘अग्रगामी विचार समूह’ बनाएर पार्टीमा नौबुँदे प्रस्ताव राखेर अन्तरसंघर्ष गर्दै आएका एमालेका उपाध्यक्ष अशोक राईलगायतका नेताहरू एमालेबाट बाहिरिने लगभग पक्काजस्तै भएको छ । उपाध्यक्ष राईसहितका नेताहरू नयाँ पार्टी निर्माणको अन्तिम तयारीमा जुटेका छन् । कस्तो पार्टी बन्दै छ र कहिलेसम्म बन्छ ? शनिबार उपाध्यक्ष राईकै निवासमा सौर्यका लागि राजेश राईले गरेको कुराकानीको सम्पादित अंश :
एमाले छाडेर नयाँ पार्टी बनाउने निष्कर्षमा पुग्नुभएको हो ?
एमालेमा हामी रहन नसक्नेचाहिँ निश्चित भइसकेको छ, किनभने हाम्रो नौबुँदे प्रस्तावलाई एमालेले आत्मसात् गर्न सकेन भने हामी पार्टीभित्र रहन सक्दैनौँ भनेर लिखित रूपमा दिएका थियौँ । पार्टीले नौबुँदे प्रस्तावलाई ग्रहण गर्न नसक्ने पार्टी अध्यक्षज्यूले जानकारी दिइसक्नुभएको छ । यसपछि स्वाभाविक रूपले हामीले विकल्पचाहिँ निर्माण गर्नुपर्ने हुन्छ । त्यसका निम्ति हामीहरू छलफलमा छौँ । पार्टीको नाममा पार्टी नभएर एउटा शक्तिको रूपमा पार्टी निर्माण गर्ने सम्भावनातिर हामी व्यापक रूपमा अध्ययन गरिरहेका छौँ ।
बुधबार राति अध्यक्ष झलनाथ खनाल र तपाईंहरूबीच अन्तिम वार्ता थियो रे, के–के कुरा भयो वार्तामा ?
केही युवा विद्यार्थी साथीहरूले वातचितका लागि मध्यस्थता गरिरहनुभएको थियो । उहाँहरूले भन्नुभयो, ‘अध्यक्षसँग अन्तिमपटक तपाईंहरू वार्तामा बस्नुपर्यो, अरू नेताहरू पनि बस्नुहुन्छ । यदि तपाईंहरूको नौबुँदे प्रस्ताव स्वीकार गरिएन भने हामी पनि तपाईंहरूलाई साथ दिएर लाग्छौँ । तर, स्वीकार गराउनेमा हाम्रो प्रयास र दबाब रहन्छ ।’ उहाँहरूको अनुरोधपछि मैले उहाँहरूलाई भनेँ ‘नौबुँदे प्रस्तावको विषयमा पार्टीले निरन्तर नकरात्मक सन्देश पठाइरहेको र त्यसका विरुद्ध जाने वा विपरीत निर्णय गरिसकेको अवस्थामा वार्ता त्यति फलदायी सम्भावना देख्दिनँ ।’ तर पनि धेरै आग्रह गर्नुभएकाले वातचितमा बस्यौँ हामी । सो क्रममा अध्यक्षले भन्नुभयो, ‘नौबुँदे हाम्रो प्रस्तावलाई अहिलै नै स्वीकार गराएर जाने ढंगले भन्दा पनि आउने मिटिङमा आफ्नो कुरा राख्नुहोस्, बरु छलफलको ऐजेन्डा बनाइदिन सकिन्छ तर यो विचारलाई पार्टीले ग्रहण गरेर जान सक्ने अवस्था देख्दिनँ ।’ त्यसपछि हामीले पनि नौबुँदेलाई पार्टीले ग्रहण गर्दैन भने पार्टीमा रहन नसक्ने भनेर लिखित रूपमा दिइसकेको हुनाले सम्भवत: पार्टीमा रहने कुरा अन्त्य भएको छ भन्यौँ र बिदा भयौँ ।
भनेपछि अब पार्टी नेतृत्वसँग सबैखालका वार्ता र छलफलको सम्भावना सकिएको हो ?
मेरो विचारमा अब हुँदैन । अब सम्भावना छैन । किनकि पार्टीले हामीले सारेको विचारका विरुद्ध जाने निर्णय गरिसकेको छ । केन्द्रीय कमिटीले निर्णय गरेर सात प्रदेशको प्रस्ताव ल्याइसकेको छ । त्यो निर्णय फेरि उल्टाउँछ भन्ने विश्वास छैन मलाई । त्यति मात्रै होइन, हामीलाई स्पष्टीकरण माग्नेदेखि लिएर जिम्मेवारी खोसुवा हुँदै अध्यक्षले नै हाम्रो प्रस्तावलाई ग्रहण गर्न सकिँदैन भनिसकेपछि अब फेरि वार्ताबाट सुधार गर्न सकिने सम्भावना छ कि भन्नु मृगतृष्णा मात्रै हुन्छ ।
नयाँ पार्टी कस्तो हुन्छ र कहिलेसम्म बनाइसक्नुहुन्छ ?
अहिले हामी व्यापक छलफलमा छौँ, ठ्याक्कै तिथिमिति तोकेर अहिल्यै घोषणा गर्ने कुरा होइन । सहमतिबाट उयपुक्त समयमा यसलाई अगाडि सारिनेछ । असोज महिनासम्ममा एउटा परिणाम आउन सक्छ भन्ने अपेक्षामा म छु ।
पार्टी बनाउने विषयमा तपाईंहरूको ‘अग्रगामी विचार समूह’मा नै चर्को विवाद छ नि ?
अहिलेसम्म समूहबद्ध भएर काम गरिराखेको छौँ हामी, कुनै त्यस्तो विवाद छैन । मिडियामा आएका कुराहरू कति सत्य छन् म त्यस विषयमा टिप्पणी गर्न चहान्नँ । फेरि जहाँसम्म विवादको कुरा छ, विवाद सार्वभौम सत्य हो । जुनसुकै समूह, संगठन या पार्टी बनाउनुहोस् त्यहाँ विवाद हुन्छ । विवादविनाको पार्टी कसैले बनाउने कल्पना गर्यो भने त्यो अवस्तुवादी हुन्छ । त्यो पार्टी हुनै सक्दैन । खाली प्रश्न के हो भने कुनै पनि दलले आफ्नो चाहिँ निर्धारित लक्ष्यतर्फ इमानदारिताका साथ अगाडि बढ्छ कि बढ्दैन र त्यसले जनताको आपेक्षलाई आकांक्षालाई बोक्छ कि बोक्दैन, त्यसले गरेका निर्णय र प्रतिबद्धताहरूलाई पूरा गर्छ कि गर्दैन ? पालना र कार्यान्वयन गर्छ कि गर्दैन ? भन्ने कुराचाहिँ महत्त्पूर्ण हुन्छ । विवाद त निश्चित रूपमा अनेकौँ प्रश्नमा आउँछन् । कहिले नीतिमा, कहिले कार्यान्वयनका प्रक्रियामा आउँछ, कहिले कार्यशैली, संगठनात्मक प्रश्नमा आउँछन् । यस्ता विवादलाई व्यावस्थापन गर्दै जान सक्नुमै एउटा दलको सफलता अन्तरनिहित गर्छ भन्ने मलाई लाग्छ ।
केही नेताले ‘धुलिखेल भेलाको म्यान्डेट पार्टीभित्र अन्तर्संघर्ष गर्ने मात्रै हो, पार्टी गठन गर्ने होइन’ भनिरहनुभएको छ नि ?
उहाँहरूले के भन्नुभयो भन्ने कुरा अहिलेसम्म मलाई जानकारी प्राप्त छैन । धुलिखेलमा हामी अनौपचारिक छलफलमा बसेका थियौँ । त्यहाँ हाम्रो एउटै टुंगो पार्टी अन्तरसंघर्ष गर्दै जाने र संविधानसभा पुन:स्थापनका लागि आवश्यक प्रयत्नहरू गर्दै जाने भन्ने नै थियो । तर, परिस्थितिहरू छिटो छिटो परिवर्तन भइराखेका छन् । नेकपा एमालेले आफ्ना निर्णयहरूलाई सन्देशका रूपमा प्रवाहित गरिराखेको छ । अध्यक्षजीसँग पछिल्लोपटक जुन हाम्रो वार्ता भयो, यसले पनि अन्तरपार्टी सम्भावना सकिएको संकेत गरेको छ । त्यसो भएकाले अब फेरि हामी अग्रगामी विचार भएकाहरू समूहमा बस्छाँै र टुंगोमा पुग्छौँ । टुंगो भनेको निश्चित रूपमा वैकल्पिक शक्ति निर्माणको टुंगो नै हुनेछ ।
वर्गसंघर्षमा लाग्नुभएको नेता एकाएक पहिचानको राजनीतिमा लाग्नुभयो नि, केले परिवर्तन गर्यो तपाईंलाई ?
एमालेले सम्पूर्ण वर्ग, जाति, भाषा, धर्म, संस्कृति क्षेत्र लिंगका जनताहरूको समान अधिकार प्राप्त गर्ने, पहिचान प्राप्त गर्ने, सम्मान प्राप्त गर्ने, समान अवसर र प्रतिनिधित्व प्राप्त गर्ने विगतका आफ्नै निर्णयहरूलाई उल्टायो । यो वास्तवमा जाति, भाषा, धर्म, संस्कृतिसँग सम्बन्धित प्रश्न पनि वर्गसंघर्षकै एउटा रूप हो । वर्गसंघर्ष भनेको आर्थिक रूपमा शोषित पीडितहरूको मुक्ति र समानताको प्रश्न मात्रै होइन, त्यसरी बुझ्नु एकांगी हो । उत्पीडनमा परेका सबैको मुक्ति वर्गसंघर्षसँगै जोडिएको हुन्छ । वर्गीय शोषणमा परेका, जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीय, र लैंगिक उत्पीडनमा परेकाहरू सबै समुदायहरूको मुक्तिको प्रश्नलाई समेत सँग–सँगै उठाएर लैजानुपर्छ भन्ने मान्यताको आधारमा मेलै पार्टीभित्र धेरै अन्तरपार्टी संघर्ष गरेँ, छलफल बहस गरँे तर जहिल्यै पनि वर्गसंघर्षको कुरालाई लिएर सामाजिक न्यायको पक्षमा उठ्ने प्रश्नहरूलाई दमन गर्ने कोसिस भएको छ । त्यो गलत भएको हुनाले स्वाभाविक रूपमा पार्टीबाट बाहिरिनुपर्ने अवस्था बनेको छ ।
भनेपछि तपाईंहरू अहिले पनि वर्गसंघर्षकै बाटोमा हुनुहुन्छ ?
वर्गसंघर्षको बाटोमा कुनै व्यक्ति वा समूह लाग्छ कि लाग्दैन भन्ने कुरा होइन कि आमरूपमा समाजचाहिँ वर्गसंघर्षमा अगाडि बढिरहेको हुन्छ । आर्थिक हिसाबले, सामाजिक हिसाबले समाजमा वर्गसंघर्ष चलिराखेको हुन्छ । त्यसकारण हरेक व्यक्ति, हरेक समाज वर्गसंघर्षकै प्रक्रियाबाट गुज्रिरहेको हुन्छ ।
केही महिनाअघिसम्म पनि माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद नेपालको सबैभन्दा उत्कृष्ट विचार हो भन्दै पढाएर हिँड्नुभएको थियो, एकाएक कसरी यो विचार गलत भयो, यति चाँडै कहाँनिर भयो गडबढ ?
माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादसँग जोडिएर आउने नेपालका समस्यालाई हल गर्नका निम्ति अगाडि सारिएको जुन निष्कर्ष हो त्यो निष्कर्षलाई पार्टीले उल्टाइदियो । अहिले माक्र्सवाद, लेनिनवाद गलत भन्ने भन्दा पनि त्यसका आधारमा निकालिएको सही निष्कर्षलाई पार्टीका केही नेताले बहुमतको बलमा उल्टाइदिएको स्थितिमा चाहिँ हामी पार्टीमा बस्ने अवस्था सिद्धियो भन्ने निष्कर्षमा हामी पुगेका हौँ । पार्टी नेतृत्व इमानदार रहेन, पार्टी नेतृत्वप्रतिको विश्वास भंग भएको अहिलको स्थिति हो । किनकि पार्टीले बारम्बार निर्णय गरेर, संविधानसभाको निर्वाचनमा आमजनतालाई सम्बोधन गरेर जाहेर गरेको प्रतिबद्धता, महाधिवेशनको निर्णय, पछिल्लो बेलामा संविधानसभाको समितिमा मतदान गरेर निर्णय गरेको विषय, यस्तै उच्चस्तरीय सुझाब आयोगले दिएको सुझाबलगायतलाई उल्टाएर, लत्याएर, परित्याग गरेर, जनताको बीचमा जुन किमिसमको अविश्वास सिर्जना गरियो । त्यही अविश्वासले अब सँगै जान सकिन्न भन्ने निष्कर्षमा हामी पुगेका हौँ ।
यसको मतलब एमालेको नीति होइन, नेता गलत हुन् भन्नुभएको हो ?
अहिले जुन नीति पास गरेको छ, त्यो गलत छ । सात प्रदेशको प्रस्ताव जुन पारित गरेको छ, त्यो गलत छ । र, हिजोको सही नीतिहरू जे थिए, त्यसलाई उल्टाएको हुनाले नेतृत्व अविश्वसनीय पनि छ ।
अब नयाँ पार्टी बनाएर जाँदा माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मानेर जानुहुन्छ, या भिन्न सिद्धान्त बनाएर जानुहुन्छ ?
अब यसमा पनि समीक्षा गर्नु जरुरी छ । समीक्षा त एमालेले पनि गर्नुपर्ने अवस्था होला जस्तो मलाई लाग्छ । किनकि त्यसले आठौँ महाधिवेशनमा समीक्षात्मक प्रक्रिया थालनी गरेको छ । कुनै पनि विचारहरू गतिशील हुनुपर्दछ । गतिशील हुन सकेन भने त्यसले परिस्थितिलाई ठीक ढंगले सम्बोधन गर्न सक्दैन । हामी यी विचारमाथि पनि समीक्षा गर्छौं र अहिलको हाम्रो मुलुकको वस्तुस्थितिलाई अग्रगामी दिशामा रूपान्तरित गर्नका निम्ति कस्ता विचारहरू बढी उपयोगी हुन सक्दछन् ? कस्ता विचारले वस्तुगत जगतको परिवर्तनको प्रक्रियालाई तीव्र गराउन सक्छन् त्यसमा अधारित भएर नयाँ नीति र विचारहरूको निर्माणमा लाग्नेछौँ ।
यसको मतलब अब तपाईंहरू गैरकम्युनिस्ट पार्टी बनाउँदै हुनुहुन्छ ?
स्वाभाविक हिसाबले श्रमजीवीको काम, गरिखानेको मुक्ति र समानतको प्राप्तिका निम्ति जुन विचार उपयुक्त हुन्छ, उयपोगी हुन्छ । त्यसलाई ग्रहण गर्ने हो । मैले परिकल्पना गरिराखेको छु कि अग्रगामी, परिवर्तनकारी र क्रान्तिकारी शक्ति निर्माण गर्ने हो । सामाजिक, आर्थिक क्रान्तिलाई बोक्ने शक्ति निर्माण गर्ने हो । त्यसका निम्ति कुन विचार, कुन दर्शन, कुन सिद्धान्त बढी प्रभावकारी हुन सक्ला ? बहस गर्छौं, टुंगो लगाउँछौँ हामी ।
तपाईंहरू त सानो समूह बनाएर एकीकृत नेकपा माओवादीमा जाँदै हुनुहुन्छ भनिन्छ नि ?
यस्तो कुरा एक/दुई मिडियाहरूले लेखेको सुनेको छु । हामीले नयाँ शक्तिको कुरा गरिराखेका छौँ, भएका शक्तिहरूको असफलताको कुरा गरिराखेका छौँ । भनिसकेपछि एउटा दलबाट निस्केर अर्को दलमा प्रवेश गर्ने भन्ने निष्कर्ष यसको कसरी हुन सक्दछ ?
जातीय पहिचानको आधारमा राज्यको पुन: संरचनामा विदेशीहरू पनि अनुदार छन् भनिन्छ, उनीहरूको इच्छाविना त गाह्रै होला तपाईंहरूको नयाँ पार्टीलाई पनि ?
निर्णय नेपाली जनताले गर्ने हो, नेपाली जनताका प्रतिनिधिले गर्ने हुन् । हाम्रा विदेशी मित्रले चासो राख्ने कुरामा म अन्यथा लिन्नँ तर निर्णय गर्ने कुरामा उहाँहरूको प्रभावभित्र बसेर निर्णय गर्नुपर्छ भन्ने कुरामा मेरो पूर्ण असहमति रहन्छ ।
नेपालमा जातीय राज्य बनाउनु बेठीक हो भनेर त चीनले पनि सन्देश पठाइसक्यो रे नि ?
जातीय राज्य त कसैले बनाएकै छैन, कसैले सन्देश पठाउनु पनि जरुरी छैन । जातीय राज्यको विरुद्धमा त म अशोक राई स्वयं लागिनै रहेको छु नि ।
(अलि व्यक्तिगत कुरा गरौँ) यतिका वर्ष एमालेहरूसँग जीवन बिताउनुभएको छ, पार्टी छाड्ने यो बेलामा व्यक्तिगत रूपमा दु:खी हुनुुहुन्छ कि खुसी ?
यो दु:खी या खुसी हुने बेला होइन । यो गम्भीरतापूर्वक सोचेर निर्णय लिने बेला हो । हिजो पनि रााष्ट्रियताको विषयमा एमाले चुक्यो भन्ने निष्कर्ष निकालेको बेलामा अलग भएर जाने परिस्थिति बनेको हो । दल भनेको साधन हो, साध्य होइन । साध्य प्राप्तिका निम्ति यदि साधन उयपुक्त भएन भने अर्को साधन निर्माण गर्नुपर्छ । त्यसमा हिचकिचाउनु हुँदैन । गतिशील चिन्तन हुनेहरूको गतिशील व्यवहार हो भन्ने मलाई लाग्दछ ।
हिजो सँगै लडेका नेता, कार्यकर्तासँगको सम्बन्ध तोडेर जानुपर्दा कस्तो अनुभूति हुँदोरहेछ ?
योचाहिँ परिवारबाट छोरी अन्माएको जस्तो घटना होइन । यो राजनीतिक निर्णय हो । राजनीतिक निर्णय चेतनाको बलमा, सही निष्कर्षको बलमा लिइन्छ । सम्बन्ध भएका साथीभाइहरूसँग टाढिँदा कस्तो हुन्छ भन्ने ठाउँ छैन । निश्चित रूपमा मानवीय र वैयक्तिक सम्बन्ध कायम रहन्छ आफ्नो ठाउँमा । तर, राजनीतिक हिसाबले अलगधारमा र बाटोमा हिँड्ने भइसकेपछि भावनाले मात्रै बाँधेर हँदैन ।
प्रतिक्रिया