दुर्गेशको ‘बीच्च बीच्चमा २’

काठमाडौं । तिज नजिकिँदै गर्दा गायक दुर्गेश थापाले ‘बीच्च बीच्चमा २’ सार्वजनिक गरेका छन् । गत वर्षको तिजमा थापाले ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ गीत ल्याएका थिए । यो सबै उमेर समूहको मानिसले मनपराएका थिए । यो वर्षको तिजमा थापाले ‘बीच्च बीच्चमा २’ ल्याएका छन् । बिहीबार ‘एउटा फोटो खिच’ बोलको उक्त गीत दुर्गेशको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

कोरोना कहर र यसका कारण लगाइएको बन्दाबन्दीले जनजीवनमा पारेको प्रभावलाई गीतमा समेटिएको छ । कोरोना कहरले व्यवसायिक क्षेत्रमा पारेको असर, आर्थिक समस्या र यसले निम्त्याएको सामाजिक, सांस्कृतिक तथा अन्य विविध समस्याका कारण यस पटकको तिज ‘खेल जस्तै’ हुने जनाएका छन् ।

साथै, गीतमा कोरोनाको संक्रमण, फैलावट नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका कार्यमाथि व्यंग्य गरिएको छ । बन्दाबन्दीका कारण जनता भोकमरीमा परेको तर सरकारले निकै सुस्तगतिमा काम गरेको विषयलाई गीतमा उठान गरिएको छ । राम खत्री र राजन कार्कीको शब्द रहेको गीतमा दुर्गेशको स्वर तथा संगीत रहेको छ । गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका छन् ।

अर्जुन तिवारी र टोलीको छायांकन छ । भिडियोमा दुर्गेशसहित जीवन सहानी क्षेत्री, जिवी चिरन, सरिता केसी, दिपासा विसी, शिल्पी खड्का, अस्मिता जुरेली लगायतका कलाकारको अभिनय छ । गएको तिहारमा गायक थापाले ‘ह्यापी तिहार’ ल्याएको गीत विवादमा परेको थियो । यही गीतका कारण उनी पक्राउ समेत परेका थिए ।

लागूऔषध प्रयोगलाई प्रवद्र्धन गरेको र देउसी भैलोको गीतलाई बिगारेको उजुरीपछि उनी पक्राउ परेका थिए । सो गीत केही समयपछि नै युट्युबबाट हटाइएको थियो । परिमार्जनपछि सो गीतलाई पुनः सार्वजनिक गरिएको थियो । गायक थापाले यो गीत दर्शकको माया, साथ र सुझावपछि ल्याएको बताए ।

प्रतिक्रिया