बास्कोटा प्रकरणः अडियो लिक गर्ने विजय मिश्रविरुद्ध उजुरी दर्ता

काठमाडौँ । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध पनि संसदको सार्वजनिक लेखा समितिले आइतबार साइबर क्राइमको उजुरी दर्ता गरेको छ । समितिका सचिव डा. रोजनाथ पाण्डेले आइतबार उजुरी दर्ता गरिएको पुष्टि गरे ।

समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएका हुन् । मिश्रले बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएका थिए ।

समितिको बैठकले ३ दिन अघि नै प्रहरीको साइबर क्राइम ब्यूरोको नाममा छानविन गरेर कारवाहीको लागि पत्राचार गरेको थियो । तर, प्रहरीको त्यस किसिमको छुट्टै ब्यूरो नभएका कारण प्रहरी मुख्यालयमा आइतबार अर्को उजुरी दर्ता गरिएको हो । प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता गरेको पाण्डेले बताए ।

प्रतिक्रिया