नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला सोमबारदेखि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा सुरु भएको छ । नयाँ संविधान नबनाई संविधानसभा विघटन भएपछिको पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रिय राजनीतिमा कांग्रेस र केन्द्रीय सभापतिलगायतले खेलेको भूमिका, पार्टी विधानको पालनालगायत विषयमा छलफल गर्न राष्ट्रिय भेला सुरु भएको हो । भेलामा सहभागी नेताहरूलाई राष्ट्रिय भेलाले के गर्नुपर्छ र अहिलेको अन्योल समाधानका लागि कांग्रेसको भूमिका के हुन सक्छ भनेर सौर्यकर्मीद्वय भीम गौतम र विमल नेपालले केही जिल्ला सभापतिसँग लिएको प्रतिक्रिया :
केही दिनका लागि पुन:स्थापना गर्नुपर्छ
सीतादेवी यादव
सभापति, सिरहा
अहिलेको राष्ट्रिय अन्योललाई सबै दलबीच मेलमिलाप गरेर, संविधान बनाएर समाधान गर्नुपर्छ । अहिले तत्कालका लागि निर्वाचन सम्भव छैन । किनभने निर्वाचन गराउन सक्ने अवस्था नै छैन । त्यसकारण पहिला सबै दलबीच मेलमिलाप हुनुपर्छ । संविधानका विवादित विषयका बारेमा सहमति र मेलमिलाप भएपछि केही दिनका लागि संविधानसभा पुन:स्थापना गर्नुपर्छ । यसले मुलुकलाई राजनीतिक निकास दिन सक्छ । माओवादी पनि सहमतिका लागि तयार हुनुपर्छ । यही बाटोबाट वर्तमान अन्योलपूर्ण राजनीतिक अवस्थालाई निकास दिनेछ भन्ने आशा छ । सबै दल एक ठाउँमा आउनुको विकल्प छैन ।
अन्योल अन्त्यको ठोस कदम चाल्नेछ
शिव हुमागाईं
सभापति, काभ्रे
नेपालको इतिहासमा कांग्रेसले कठिन परिस्थितिमा देशलाई नेतृत्व प्रदान गरेको छ । कांग्रेसभित्र रहेको क्षमता र दक्षताको भरपुर उपयोगका लागि जिल्ला सभापतिहरूको भेलाले मूर्तरुप दिनेछ । संविधानसभा संविधान निर्माण नगरी भंग भएको अवस्थाले मुलुकमा विचारसहितको अधिनायकवाद लागू हुन लागेको अवस्था महसुस भएको छ । यस्तो अवस्थामा केन्द्रीय नेताहरूसहितको जिल्ला सभापतिहरूको भेलाले अन्योलको अन्त्यका लागि ठोस कदम चाल्नेछ । सँगै यस भेलाले मुलुकको भावी दिशा तय गर्नेछ । साथै यस भेलाले ठोस मार्गचित्र प्रस्तुत गरेर मुलुकलाई निकासको बाटोमा डोर्याउनेछ । त्यसपछि कांग्रेसका तमाम कार्यकर्ताले पार्टीको रोडम्यापअनुसार अघि बढ्न र पार्टी नेतृत्वलाई समेत अघि बढ्न सहयोग पुर्याउनेछन् ।
खेमाविहीन बनाउन आवाज उठाउँछौँ
कृष्णबहादुर घर्तीमगर
सभापति, रोल्पा
नेपालको राजनीतिमा लामो इतिहास बोकेको पार्टी कांग्रेस भएकाले मुलुकको राजनीतिक समस्या समाधानका लागि समेत कांग्रेसले भूमिका निर्वाह गर्नु आवश्यक छ । पार्टी राम्रो भए पनि पार्टीभित्र नेताहरूबीच टकरावको स्थितिका कुरा बाहिर आउँछन् । यसले पार्टीभित्र केही समस्या बाहिर देखा परेका छन् । अहिलेको समयमा सबै एकताबद्ध भई अघि बढ्नु आवश्यक छ । देशमा स्थायी शान्ति र राजनीतिक स्थिरता चाहिएको छ । अहिलेको अवस्थामा संविधानका लागि प्रतिनिधिसभाको चुनाव गराएर त्यसैलाई संविधानसभाका रूपमा समेत काम गराउनुपर्ने आवश्यकता छ ।
केही विवादित र छुटेका कुरालाई त्यसमार्फत नै सम्बोधन हुनु आवश्यक छ । काभ्रेपछिको जिल्ला सभापतिहरूको यो दोस्रो जिल्ला भेला हो । गत वर्ष यस्तै भेलाले गरेका निर्णय कति कार्यान्वयन भए, भएनन्, त्यसको समीक्षा हुन्छन् । केन्द्रीय समितिका नीति, नियम नमान्ने कारणले केही कमीकमजोरी भएका छन् । यसबारे सभापति र केन्द्रीय सदस्यसँग जवाफ माग्छन् । विधानमा केही विवादित विषय छन्, यसको समाधानका लागि पनि आवाज उठाउँछौँ । अहिलेसम्म महासमिति बैठक भएको छैन, यसबारे पनि हामी आवाज उठाउँछौँ । पार्टी एकता भए पनि कांग्रेसभित्र केही विभाजित मानसिकता देखिन्छ । खेमाविहीन बनाउनका लागि पनि आवाज उठाउँछौ । व्यावहारिक र भावनात्मक रूपमा कांग्रेस एक भइसक्यो भन्ने देखाउनका लागि पहल हुन्छ ।
समाधानका लागि मार्गदर्शन हुनेछ
प्रदीप सुनुवार
सभापति, ओखलढुंगा
७५ जिल्लाकै सभापतिको भेला भएकाले कांग्रेसलाई भावी दिनमा अघि बढ्नका लागि ठूलो सहयोग पुग्नेछ । यसले देशभरि कांग्रेसको सांगठनिक अवस्थाको पनि विश्लेषण गर्छ । अहिले जुन राजनीतिक विकासक्रम छ, यसले लोकतन्त्रविना केही सम्भव छैन भन्ने देखाइसकेको छ । यस्तो अवस्थामा कांग्रेसको भूमिका मुख्य छ ।
अहिलेको जटिल र कुटिल अवस्थाको अन्त्यका लागि जिल्ला सभापतिहरूले कांग्रेसलाई ऊर्जा दिनेछन् । राष्ट्रिय राजनीतिक अवस्था र परिस्थितिको समाधानका लागि यसले कांग्रेसलाई मार्गदर्शन दिनेछ । र, पार्टीलाई पनि एकढिक्का बनाएर लैजाने अवस्था सिर्जना गर्नेछ ।
पुन:स्थापना होइन चुनाव
रामचन्द्र खड्का
सभापति, रामेछाप
कांग्रेसको दृष्टिकोणलाई बलियो बनाउनका लागि भेला आयोजना गरिएको हो । अहिलेको महत्त्वपूर्ण विषयमा कांग्रेसको दृष्टिकोण सार्वजनिक नभइरहेकाले त्यसलाई यसले अभिव्यक्त गर्न मद्दत पुर्याउँछ । हामी संविधानसभा पुन:स्थापनामा जाने हो कि निर्वाचनमा जाने भन्ने स्पष्ट गर्छ । अहिलेको अवस्थामा पुन:स्थापनाभन्दा निर्वाचन आवश्यक छ । एउटा जीवन्त संस्थाले निर्वाचनबाहेक अरू विकल्पमा जान हुन्न ।
हिजो पाँच वर्षका लागि गठन भएको संसद् तीन वर्षमै विघटन हुँदा पो पुन:स्थापनाको कुरा भएको थियो । अहिले दुई वर्षका लागि चुनिएको संविधानसभाले चार वर्ष पूरा गरेको छ । त्यसैले पुन:स्थापना गर्नु उपयुक्त हुँदैन । चुनावमै जाने हो भने पनि त्यसका लागि भेलाले स्पष्ट म्यान्डेट कांग्रेसलाई दिन्छ । शान्ति, संविधान र सहमतिका लागि हामी दबाब दिन्छौं । पार्टीभित्रको आन्तरिक जीवनलाई पनि भेलामा उठाउँछाँै ।
जीवन्त संस्थाभित्र कमीकमजोरी र गुट–उपगुट हुनु स्वाभाविकै हो तर त्यसको उचित समाधान कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो । यसको निराकरणको उपाय पनि खोजी गर्छौं । राष्ट्र गन्तव्यविहीन भएको अवस्थामा समाधानका लागि भेलाले ठोस गन्तव्य दिनेछ ।
कांग्रेसलाई रोडम्याप दिन्छ
मोहनबहादुर बस्नेत
सभापति, सिन्धुपाल्चोक
वर्तमान संकटपूर्ण राजनीतिक अवस्थाबारे कांग्रेसको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्नका लागि राष्ट्रिय भेला आयोजना गरिएको हो । अहिले एमाओवादीले संक्रमणकाल लम्ब्याइरहेको छ भने कामचलाउ भइसक्दा पनि सत्ता नछाड्दा राष्ट्रिय सहमतिको वातावरण बन्नसकेको छैन ।
मुलुकलाई अनिर्णयको बन्दी बनाउने कार्य माओवादीले गरिरहेका बेला मुलुकले धेरै समस्या र व्यवधान भोगिरहेको छ । यस्तो बेलामा आयोजना भएको भेलाले कांग्रेसलाई स्पष्ट रोडम्याप दिन्छ । अहिले संविधानसभा पुन:स्थापना कि नयाँ चुनाव भनेर कांग्रेसभित्र बहस भइरहेको छ, यस्तो अवस्थामा कांग्रेसको स्पष्ट धारणा भेलाबाट आउनेछ ।
प्रतिक्रिया