निजी सवारीलाई यात्रु बोक्न रोक

काठमाडौं । यातायात व्यवस्था विभागले निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग गरे कारबाही गर्ने चेतवानी दिएको छ । यो निर्णयसँगै पछिल्लो समय चर्चित टुटल र पठाओलगायतका सेवा प्रभावित हुने भएका छन् ।

आम मानिसलाई सस्तो र सरलरूपमा सेवा प्रवाह गर्दै आएका यस्तो सेवा बन्द गर्नुपर्ने अवस्था आएको छ । विभागले सूचना जारी गर्दै कानुनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।

विभागका निर्देशक तथा प्रवक्ता तीर्थराज खनालले कानुनमा लेखिएको कुरा कार्यान्वयन गर्न लागिएको बताए । उनले कानुन मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने स्पष्ट गरे । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइनेछैन भन्ने व्यवस्था रहेको छ । त्यस्तै दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइनेछैन ।

विभागले अत्यन्त जरुरी सूचना भन्दै सवारी तथा यातायात व्यवस्था ऐनअनुसार निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरूले भाडा लिई यात्रु ओसारपसार कानुन उल्लंघन भएको उल्लेख गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले टुटल, पठाओलगायतका सेवालाई पनि समेट्दैन । विभागले जारी गरेको सूचना टुटल, पठाओजस्ता सेवामा पनि लागू हुन्छ । तर, आम सर्वसाधारणले भने यस्ता सेवा बन्द गर्नुभन्दा व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । ट्याक्सीभन्दा निकै सस्तो र छिटो हुने भएकाले काठमाडौंको अत्यधिक जामका यो सेवा छोटो समयमै चर्चित भएको थियो ।

उपभोक्ताहरूले ट्याक्सीमा हुने ठगी, मिटरमा जान नमान्ने, छोटो यात्राका लागि ट्याक्सी चालकले अस्वीकार गर्नेलगायत कुरालाई नजरअन्दाज गर्दै सरल सेवा प्रवाह गरेकोलाई बन्द गर्न खोजेकोमा आक्रोश पोखेका छन् । यद्यपि उनीहरूले यस्ता सेवालाई कानुनी रूपमै व्यवस्थित गर्नेतर्फ विभागको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

यता, ट्याक्सी व्यवसायीले भने विभागको सो निर्णयलाई स्वागत गरेका छन् । व्यवसायीहरूले लामो समयदेखि सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला निजी सवारीको सार्वजनिक प्रयोगले सरकार र कानुनमाथि चुनौती दिएको बताउँछन् । यसलाई विकृति भन्दै उनले यसलाई रोक्न राज्यका जिम्मेवार संयन्त्रहरू भूमिका खेल्न ढिला भइसकेको बताए । निजी सवारी साधन विभिन्न बाहनामा भाडामा प्रयोग हुनेक्रम बढ्दै गए भविष्यमा यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने उनको दाबी छ ।

यसअघि पनि विभागले यस्तै कारबाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा यस्ता सेवालाई प्रोत्साहन गर्न निर्देशन दिएका थिए । उनले कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । त्यसपछि पुनः यो विषय साम्य भएको थियो । प्रधानमन्त्री ओलीले त्यसबखत पनि विभागलाई आवश्यक व्यवस्था गरेर यस्ता व्यवसायलाई समेटन निर्देशन दिएका थिए । तर, सो व्यवस्था अहिलेसम्म पनि हुन सकेको छैन ।

प्रतिक्रिया