कांग्रेसभित्रको गुटबन्दी अन्त्य हुन्छः नेता केसी

गाईघाट । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र धनराज गुरुङले पार्टीभित्र लामो समय देखिको चरम गुटबन्दी पार्टीको आगामी १४ औँ महाधिवेशनबाट अन्त्य हुने बताएका छन् ।

मङ्गलबार १०६औँ बिपी जयन्तीको अवसरमा पार्टीको दोस्रो जनजागरण अभियानअन्तर्गत नेपाली कांग्रेस उयदयपुरले गाईघाटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसीले भने, ‘पार्टीको १४औँ महाधिवेशनबाट पार्टीभित्रको गुटबन्दी देशैभरिबाट अन्त्य गर्नुपर्दछ, यसमा सबै अगुवा पार्टी कार्यकर्ताले अहिलेबाटै जिल्ला–जिल्लादेखि यो अभियान थाल्नु पर्दछ ।’

नेपाली कांग्रेस पार्टी बिपीको विचारबाट सञ्चालन भएको हुनाले अहिले बिपीको विचारको मिथ्या व्याख्या गरेर पार्टीभित्र गुटबन्दी गर्ने सबै नेताहरुलाई आगामी महाधिवेशनबाट ठिक ठाउँमा ल्याउनुपर्ने उनको भनाइ थियो । गुटबन्दीको अन्त्य गर्नेगरी अहिले आफूहरुले समेत अभियान चलाइरहेको धारणा नेता केसीको थियो ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले आगामी १४औँ महाधिवेशनबाट पार्टीभित्रको सबै गुटबन्दी अन्त्य भएर जाने र सबैले मिलेर अन्त्य बनाउनुपर्ने धारणा राखे । उनले कांग्रेस बिपीको विचारबाट बनेको र अहिले बिपीको विचारलाई छाडेर सबैले आफ्नै व्याख्या र विश्लेषण गरेर गुटबन्दीमा लागेका कारण पार्टी कमजोर भएकाले गुटबन्दीको अन्त्यका लागि जिल्लाका अगुवा कार्यकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा उदयपुरका करीब ४०० अगुवा कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया