आम्दानी २५ करोड, ठेक्का ५१ हजार

काठमाडौं । पशुपति क्षेत्रविकास कोषको सम्पति कौडिको भाउमा भोगचलन भएको पाइएको छ । यसको एउटा उदाहरण हो गौशाला चोकमा रहेको पशुपति धर्मशाला । पशुपतिनाथको ९ रोपनी ९ आना २ पैसा जमिन निशुल्क सरह भोगचलन भएको हो ।

पशुपति क्षेत्रमा सञ्चालित गौशाला धर्मशालाले पशुपति क्षेत्र विकास कोषलाई वार्षिक ५१ हजार रुपैयाँ मात्र बुझाउँदै आएको पाइएको छ । सो धर्मशालाको वार्षिक आम्दानी २४ करोड ८४ लाख आम्दानीे रहेको पाइएको छ । जबकि सो धर्मशालाको भक्तजन बस्ने कोठा अर्थात् गेष्ठरूमकोे दैनिक आम्दानी ५१ हजार रहेको छ ।

धर्मशालामा भक्तजन बस्ने १ सय ८० वटा कोठा छन् । ८० वटा कोठा एटेज बाथरूम सहितका छन् । जसको प्रतिदिन ४ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । १ सय वटा साधारण कोठा छन् । जसको भाडा १ सय ९० रुपैयाँ रहेको छ । यसरी हेर्दा धर्मशालाको पाहुना बस्ने कोठाबाट मात्रै दैनिक ५१ हजार रुपैयाँ आम्दानी हुने गरेको देखिन्छ । धर्मशाला व्यवस्थापनको जिम्मेवारी पाउनेले कोषलाई वार्षिक बुझाउँदै आएको रकम सो धर्मशालाको एकदिनको कोठा बसेको रकम बराबरको हो ।

धर्मशालाको आम्दानी यतिमा मात्रै सीमित छैन । गौशाला चोकमै रहेका धर्मशालामा १८ वटा सटरहरू छन् । प्रतिसटर महिनामा ३० हजार रुपैयाँका दारले भाडा असुली गरिएको छ । यो हिसावले महिनाको ५ लाख ४० हजार उठ्छ । सटरबाट मात्रै वार्षिक ६४ लाख ८० हजार रुपैयाँ आम्दानी हुने गरेको देखिन्छ । एउटा सटर खाली भई सो सटरमा अर्काेले पसल गर्नको लागि जग्गा किन्ने भन्ने नाममा १० हजार तिर्नुपर्ने एक व्यापारिले बताएका छन् । सो रकम साथै प्रतिमहिना तिर्नेमा नजोडिने उनको भनाइ थियो । यसरी हेर्दा सो धर्मशालाको खुद नाफा २४ करोड ८३ लाख ४९ हजार रुपैयाँ रहेको देखिन्छ ।

पशुपति क्षेत्रमा छोडिएका दुध कटुवा बाच्छाबाच्छी, साँढे र गाई पाल्ने सर्तमा कित्ता नम्बर ८३ र ८५ गरी ९ रोपनी ९ आना २ पैसा क्षेत्रफलको उक्त जग्गा हरिनाराण रामकुमारलाई उपलव्ध गराइएको थियो । वि.सं. १९९९ जेष्ठ ५ मा साँढेहरूको निमित्त गौचरण राखी, जुनेली घाँस लगाउने प्रयोजनका लागि उपलव्ध गराइएको त्यही जग्गाको अहिले दुरुपयोग भएको हो । उक्त जग्गा कोषले २०३८ सालदेखि धर्मशाला गौशाला राख्ने नाममा उपभोग गर्दै आएको हो । २०३९ वैशाख २ मा पशुपति भण्डार तविलले अमालकोट कचहरी तालुकको आदेश तथा निर्णयको मिति उल्लेख नगरी वर्षको ६ सय असुल गर्दै आएको देखिन्छ ।

२०६० पुस २ मा कोषले अमालकोट र गौशाला बनाउने निर्णयअनुसार कित्ता नम्बर ८३ र ८५ को जगामा मापदण्ड विपरित कुनै पनि कार्य गर्न नहुने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार १२ जेष्ठ २०६० मा वार्षिक ५१ हजार बुझाउने सर्तमा सम्झौता भएको थियो । सो सम्झौता कति समयको हो भन्ने कुरा उल्लेख गरिएको छैन । समितिले सो स्थानमा पशुपति क्षेत्र विकास कोषको स्वीकृति बिना नै मापदण्ड विपरितका पक्की संरचना बनाइएको छ ।

संसद्को सार्वजनिक लेखा समितिले २०६३ सालमै कोषलाई गौशाला धर्मशाला र त्यसले चर्चेको जग्गा नियन्त्रणमा लिन निर्देशन दिएको थियो । तर, डेढ दशक बित्दा पनि सो जग्गा कोषले लिन सकेको छैन । हालसम्म पनि कोषले वार्षिक ५१ हजार मात्र बुझिरहेको छ ।

सार्वजनिक लेखा समितिले २०६३ सालमै तयार पारेको प्रतिवेदनमा पशुपति क्षेत्रमा सञ्चालित गौशाला धर्मशाला र त्यसले चर्चेको सबै जग्गा पशुपतिको गुठी तैनाथी जग्गा भएकाले नापजाँच गराई नियन्त्रणमा लिनुपर्ने निष्कर्ष निकालेको थियो ।

सो जग्गााको उचित व्यवस्थापनका लागि सरकारले गम्भीर चासो लिनुपर्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताएका छन् । उनले भने–‘ कोषले मात्र प्रयत्न गरेर दशकौँदेखि कब्जा गरेको धर्मशालाको जग्गा फर्काउन कठिन हुने देखिन्छ ।’ कोषले जग्गा र जायजेथाको खोजीमा लाग्ने र सरकारले यसको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो ।

परिषद्का निर्देशक जयन्त सुब्बाका अनुसार गौशालामा १८ पसल छन् । तिनको मासिक ९ देखि ३० हजारसम्म भाडा लिइन्छ । धर्मशाला खानपिन गर्न, बस्न÷सुत्न पाइन्छ । सो का लागि १ सय ८० वटा कोठा सञ्चालनमा रहेको बताएका छन् । एक सय ९० देखि चार सय सम्मको कोठा भएको उनले बताए । उनले मासिक आम्दानी भने खुलाउन चाहेका थिएनन् । निर्देशक सुब्बाले भने,‘कोषले सम्झौता पुनरावलोकन गर्न पत्र पठाएको थियो,हामी यसमा तयार छौँ ।’

प्रतिक्रिया