‘अनियमितता गरे मन्त्रीलाई पनि छाडिन्न’

सौर्य समाचार, काठमाडौं, २० फागुन । शिक्षामन्त्री दीनानाथ शर्माले एसएलसी परीक्षामा अनियमित काम गरेको पाइए मन्त्रीलाई पनि कारबाही गरिने बताएका छन् ।
मन्त्री शर्माले ०६८ सालको एसएलसी परीक्षामा गोपनीयता, सुरक्षा र शुद्धता कायम गर्ने दाबी गरेका हुन् । शर्माले परीक्षाको गुणस्तरका लागि कुनै सम्झौता हुन नसक्ने बताए । उनले भने, ‘परीक्षामा बदमासी गरेको वा गराएको पाइए सभासद्लाई मात्र होइन, मन्त्रीलाई पनि हामी छाड्दैनौँ ।’
शिक्षकहरूले विभिन्न माग राखी एसएलसी परीक्षामा असहयोग गर्ने निर्णय गरेका बेला शर्माले आफ्ना सुविधाका लागि पाँच लाखभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नहुने बताए । परीक्षा नियन्त्रण कार्यालय र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले गरेको कार्यक्रममा उनले लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न सबैलाई आग्रह गरे । आन्दोलनमा उत्रिएका शिक्षकबाट समेत एसएलसी परीक्षालाई असहयोग नहुने विश्वास उनले
व्यक्त गरे ।
शिक्षासचिव किशोर थापाले परीक्षाको अनुगमनका लागि सुरुकै दिन १४ अञ्चलमै सहसचिवलाई खटाइने बताए । प्रत्येक जिल्लामा एक÷एकवटा परीक्षा केन्द्रलाई पुरस्कृत गर्ने निर्णय पनि गरिएको सचिव थापाले जानकारी दिए ।
कार्यक्रममा मन्त्रालयका सहसचिव जनार्दन नेपालले परीक्षालाई मर्यादित बनाउन कठिन रहेको भन्दै यस कार्यमा सहयोग गर्न सरोकारवालालाई आग्रह गरे । एसएलसी परीक्षालाई अरू समयको जस्तै नियमित कार्यका रूपमा लिए सहज हुने शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माको भनाइ छ ।
परीक्षा नियन्त्रक डिल्लीराम रिमालले परीक्षाको मर्यादाविपरीत कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई शिक्षा ऐन, नियम र कानुनअनुसार कारबाही गरिने बताए । अनियमितता गर्नेलाई कारबाही गर्न सक्नेगरी अनुगमनको व्यवस्था मिलाइएको जानकारी उनले दिए ।
अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले परीक्षा दिन जाँदा विद्यार्थीको मनोविज्ञानमा असर नपर्ने वातावरण मिलाउन आग्रह गरे । शिक्षकले जागिर मात्र खाने नभई विद्यार्थीको भविष्यमा ध्यान दिनुपर्ने नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष धर्मदत्त देवकोटाले बताए ।
शिक्षा ऐनमा परीक्षालाई अमर्यादित कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपियाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । यस वर्ष परीक्षामा पाँच लाख २८ हजार दुई सय ५७ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार तीमध्ये नियमिततर्फका चार लाख ४५ हजार नौ सय ७४ र एक्जाम्टेडतर्फका ८२ हजार दुई सय ८३ परीक्षार्थी छन् । नियमिततर्फ सबैभन्दा कम मनाङका ९९ र एक्जाम्टेडतर्फ मुस्ताङका तीनजना परीक्षार्थी छन् ।

प्रतिक्रिया