फाल्गुनन्द नसार्न सेवाग्राहीको ताला

पाँचथर । जिल्लाको दक्षिणक्षेत्रमा रहेको फाल्गुनन्द पालिका कार्यालयमा सेवाकेन्द्र नसार्न भन्दै स्थानीयले ताला लगाएका छन् । सोमबार पालिकाको गाउँसभाले सेवाकेन्द्र सार्ने निर्णय गरेको थियो ।

सेवाकेन्द्र सार्न लागेको विरोधमा स्थानीयले बिहान ७ बजेदेखि नै कार्यालयमा ताला लगाएर प्रदर्शन गरेका थिए । स्थानीय सेवाग्राहीले अपायक हुन्छ भन्दै विगतमा पनि आन्दोलन गर्दै आएका थिए । पालिका गाउँसभाले याम्वावुङभन्दा तल कोलबुङभन्दा माथि जग्गा प्राप्तीपछि सेवाकेन्द्र सार्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अनील त्रि खत्रीले जानकारी दिएका छन् । अधिकृत खत्रीले भने, ‘बिहान उठेर हेर्दा त कार्यालय तथा क्वार्टरमा समेत ताला लगाइदिएका रहेछन् ।’

अहिले पुरानो पञ्चमी बजारमा स्थानीय सेवाग्राहीहरू भेला भएर पालिकाको निर्णयविरुद्ध नारा लगाउँदै बजारमा टायर बालेका थिए । स्थानीयले पुरानै घुर्विविसे पञ्चमी फाक्तेप ठाउँमा सेवाकेन्द्र हुनुपर्ने माग राख्दै आएका थिए । अहिले पनि साविककै ठाउँको माग रहेको छ । पालिकाको निर्णयविरुद्ध विभिन्न नारासमेत लगाएका थिए ।

नारामा ‘अध्यक्ष नेतृत्व राजीनामा दे, जनविरोधि निर्णय खारेज गर, यस्ता प्रतिनिधि चाहिँदैन, केन्द्र सार्न पाइँदैन, उपाध्यक्ष तु राजीनामा दे, फाल्गुनन्दवासी जनाता एक हौँ, संविधान अनुरूप निर्णय फिर्ता गर’ जस्ता विज्ञप्तीमा उल्लेखसहित सात बुँदे प्रश्नको उत्तर नआए कडा आन्दोलनको चेतावनी दिएका छन् । विज्ञप्तीमा, साविक फाक्तेप–५ स्थित गाउँपालिका सेवा केन्द्र बचाउ संघर्ष समिति पाँचथरले गरेको देखिएको छ । यता तनाव शान्त पार्न जनप्रतिनिधि र स्थानीयबीच संवाद हुने जनाइएको छ ।

प्रतिक्रिया