भ्रष्टाचारजन्य कार्य गर्न प्रोत्साहित गर्ने उद्देश्यले अनैतिक तवरबाट नजराना स्वरूप केही रकम वा यस्तै अन्य प्रकारका वस्तु तथा सेवाको प्रलोभन दिने प्रचलन समाजमा रहेको छ । यस प्रकारको नागरिक समाजको गलत क्रियाकलाप नै भ्रष्टाचारको उद्गमस्थल हो । जसले भ्रष्टजन्य गतिविधिमा रमाउने तत्वलाई थप मलजल गरेको छ
भ्रष्टाचारको सन्दर्भमा भन्नुपर्दा राज्य एवं नागरिक समाजबीच स्थापित रहने सह–सम्बन्धको विकासले महत्वपूर्ण भूमिका निर्वाहगर्ने गरेको तथ्य पाइन्छ । किनकि, राज्य भनेकै वास्तवमा नागरिक समाजको झुण्ड हुन् । जसद्वारा सम्बद्ध मुलुकका प्रशासनयन्त्रहरू निर्देशित रहँदै कार्य प्रारम्भ गर्दै आएका हुन्छन् । नागरिकका कार्यहरूलाई तदारुकताका साथ आरम्भ एवं सम्पन्न गर्ने सिलसिलामा समाजको मन्द विषको रूपमा रहेको भ्रष्टाचारजन्य कार्यहरू पनि सँगसँगै आरम्भ हुने प्रशस्त सम्भावना जिवन्त रहन्छन् ।
नागरिक समाजसँग प्रत्येक्ष सरोकार राख्ने कुनै पनि प्रशासनयन्त्रबाट नागरिक सरोकारका कार्यहरूमा विलम्ब उत्पन्न गरी अवरोध सिर्जना गर्ने चेष्टा भए निश्चित रूपमा त्यहाँ भ्रष्टाचाररूपी भुसको आगो मन्द रूपमा चलेको महसुस गर्न सकिन्छ । यसको प्रत्यक्ष असर विशेस गरी आमनागरिक समुदायलाई पर्ने गरेको देखिन्छ ।
मूल रूपमा भन्दा यसै तथ्यगत विशेषतालाई भ्रष्टाचारको सुरुआती अवस्था मान्दा फरक नपर्ला । यसमा ध्यान दिनु पर्ने कुरा के छ भने शून्य अवस्थामा रहेको भ्रष्टाचारका व्यवहारलाई अन्त्य गर्ने प्रयास नै भ्रष्टाचार न्यूनीकरणको महत्वपूर्ण कडी हो । यस अवस्थामा अवश्य पनि आम–नागरिक समुदाय अत्यन्त्यै चनाखो रही सम्बद्ध पक्षलाई यस प्रकारका नागरिक समाजविरोधी गलत व्यवहारलाई त्याग्न प्रोत्साहित गर्नुपर्ने हुन्छ ।
तर प्रशासनयन्त्रको व्यवहारको कारण आफ्नो काम कारवाहीमा नकारात्मक प्रभाव परी ऋणात्मक गतिमा चल्ने हो कि भन्ने भयका कारण भ्रष्टाचारजन्य कार्य गर्न प्रोत्साहित गर्ने उद्देश्यले अनैतिक तवरवाट नजराना स्वरूप केहि रकम वा यस्तै अन्य प्रकारका वस्तु तथा सेवाको प्रलोभन दिने प्रचलन समाजमा रहेको छ । यस प्रकारको नागरिक समाजको गलत क्रियाकलाप नै भ्रष्टाचारको उद्गम स्थल हो । जसले भ्रष्टाजन्य गतिविधिमा रमाउने तत्वलाई थप मलजल गरेको छ ।
नागरिक समाजमा नैतिक एवं भ्रष्टाचारजन्य शिक्षाको अभावका कारण घोषित–अघोषित रूपमा प्रशासनयन्त्र माथिको अनैतिक दबाबलाई सम्बद्ध प्रशासनिक समूहले अनैतिक सह–सम्बन्धको सुखानुभूतिको रूपमा लिएको छ । यसै अनुसार कार्य सम्पन्न गरी दिने द्विविधायुक्त व्यवहार नै भ्रष्टाचार मौलाउने पक्षपोषक कारक तत्व हुन् । यस प्रकारका कार्यले पक्कै पनि मुलुक एवं समाजको हित नगर्ने कुरालाई ठोकुवा गर्न सकिन्छ । तसर्थ यस प्रकारका खराब परिसूचकलाई अन्त्य गर्न गरीने नागरिक समुदायको प्रतिवद्धताले नै समाजबाट भ्रष्टाचारका दरहरूलाई न्यूनीकरण गर्न ठूलो सहयोग गर्नेछ ।
यस प्रकारका सकारात्मक कार्यको थालनीबाट नेपालजस्तो आर्थिक अपराधको बाहुल्यता रहेको मुलुकको प्रशासनयन्त्रमा रहने व्यक्तिहरूमा सद्बुद्धि पलाउन सक्छ । नैतिक जागरणको प्रभावले ल्याएको चेतनाले सद्बुद्धि पलाउँछ । आफुलाई दिइएको जिम्मेवारीप्रति वोध गर्न सिकाउँछ । ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखान नै छ । राज्यले असिम विश्वास एवं भरोसा प्रदान गर्दै दिइएको जिम्मेवारी पूरा गर्नु आफ्नो कर्तव्य हो भन्ने कुराको बोध हरेक कर्मचारीलाई नभएसम्म भ्रष्टाचार नियन्त्रणमा सहज हुन्न । राज्यपक्षद्वारा प्रदान गरीएको विश्वास तथा भरोसाका अगाडि क्षणिक रूपमा प्राप्त हुने न्यून रकम केही पनि होइन भन्ने सोच हरेक कर्मचारीमा पलाउनु जरुरी छ । यस प्रकारको सकारात्मक कार्यको थालनीवाट भ्रष्टाचारका सन्दर्भमा आशानुकुल परिवर्तनका लक्षणहरू देखापर्नेछ ।
यसमा विशेषगरी, नागरिक चेतनाको न्यूनताको प्रभाव स्वरूप विभीन्न प्रकारको व्यवधानहरू खडा भई समस्या समाधानमा द्विविधा उत्पन्न हुन जाने देखिन्छ । जसका कारण प्रशासनयन्त्रमा आर्थिक अपराधजन्य कार्यहरूमा शिथिलता कायम गर्न नसकिएको मात्र हो । प्रस्तुत क्रम नेपालमा मात्र नभई विश्वको जुनसुकै मानव समाजमा हुने गरेको तथ्यहरू बाहिरिएको पाइन्छ । जनचेतना एवं शिक्षाको प्रहुचको आधारमा अवस्था हेरी भ्रष्टाचारको दरहरूमा अवश्य पनि केही घटिबढी हुन सक्ला । त्यसो भएको हुँदा यस प्रकारका समाजविरोधी कार्य न्यूनताको लागि नागरिक सचेतनामा प्रखर अभिवृद्धि गर्न अत्यन्त जरुरी भइसकेको छ ।
किनकि, चेतनशील नागरिक समाजले कहिल्यै पनि भ्रष्टाचारको पक्षमा वकालत गर्दैन । जसले गर्दा समाजमा भ्रष्टाचारका दरहरूमा न्यूनता आई आर्थिक अपराध रहित सभ्य समाजको परिकल्पना गर्न सकिन्छ । तसर्थः नागरिक समाजलाई पारदर्शी एवं जवाफदेहिताको मर्म सहितको ज्ञानको अभिवृद्धि गराउन जरुरी छ । किनकि, प्रस्तुत ज्ञानको अभावमा नै बारम्बार आर्थिक अनैतिक कार्यको भुमरीमा पर्न बाध्य भएको हो । प्रशासनयन्त्रमा वेलाबखतमा देखिने शक्तिको दुरूपयोगको प्रत्यक्ष प्रभाव स्वरूप नागरिक समाजमा पर्ने खराब परिसूचकले अन्तत घोषित–अघोषित रूपमा भ्रष्टाचारजन्य गतिविधिलाई नै प्रोत्साहित गरेको भेटिन्छ । प्रस्तुत गलत सोचको परित्यागको लागि नागरिक सचेतनामा अभ्युदय गराउनुपर्ने हुन्छ । निःसन्देह प्रस्तुत सकारात्मक कदमको परिणामले मुलुकमा व्याप्त रहेको भ्रष्टाचारका दरहरूमा अविश्वनिय नतिजा हासिल गर्न सकीनेछ ।
किनकि, नागरिक शक्तिलाई कम आंकलन गरिने प्रशासनयन्त्रका व्यवहारहरू भ्रष्टाचारका पक्षपोषक तत्व हुन् । यस गहन तथ्यलाई आत्मबोध गर्नुपर्छ । यदि यथा समयमा नै कार्यान्वयन गर्ने चेष्टासहितको चेतनाको विकास गर्न सम्भव भए यस क्षेत्रमा हाल कायम रहेको उच्चदरका आर्थिक अपराधका दरहरूमा न्यूनता आई ‘आदर्श समाजको परिकल्पना आम नेपालीको चाहना’ भन्ने मूलमर्म साकार गराउन सम्भव देखिन्छ ।
सत्यता एवं भ्रष्टाचारको विभेद यदि नागरिक समाजले सहजै खुटउन सक्ने प्रवृत्तिको विकास गर्न सम्भव भए निश्चित रूपमा यस क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्न सकिनेछ । प्रस्तुत अवस्था पश्चात ः प्रशासनयन्त्रमा नैतिकता एवं इमान्दारिताले प्रश्रय पाउने हुदा आर्थिक अपराधमा कमी आउनेछ । बहुसख्यत जनसमुदायमा के विश्वास रहेको छ भने राज्यको आगमन नै भ्रष्टाचारको न्यूनता हो । यस तथ्यमा केही हदसम्म सत्यता रहेता पनि पूर्णरूपमा सत्य यही हो भनेर ठोकुवा गर्न सकिन्न । किनकि, राज्यको एक्लो प्रयासबाट मात्र आर्थिक अपराधका दरहरूमा कमी आउने पक्कै पनि होइन । यसमा नागरिक समन्वयको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।
यी दुवैको समन्वयात्मक सहकार्यको विकासले नै यस क्षेत्रमा आशानुकुल परिवर्तनका लक्षणहरू आफैँ मुखरित हुनेछन् । किनकि, आर्थिक अपराधको न्यूनता नै नागरिकको सन्तुष्टि हो । जसको सकारात्मक प्रभावले नै भ्रष्टाचारका सन्दर्भमा नागरिक सचेतनाको अभिवृद्धि गर्नमा ठूलो सहयोग पुग्ने देखिन्छ । भ्रष्टाचाररहित स्वच्छ प्रशासनयन्त्रको जर्गेना गर्न नागरिक सचेतताको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । किनकि, यथार्थमा यो नै जनअभिमतसमेत हो ।
प्रतिक्रिया