व्यास नगरपालिकाका प्रशंसनीय कार्यहरू

यस पालिकाले चालू आर्थिक वर्ष ०७५-७६ मा रु. १४ अर्ब आन्तरिक राजस्व असुली गर्ने लक्ष्य लिएकोमा पहिलो ६ महिनामा रु. ७ अर्ब असुली गरी लक्ष्य भेट्टाउने संकेत प्रदर्शन गरेको छ । यसैगरी चालू आवको रु ६४ करोडको चालू खर्च विनियोजनमा प्रथम ६ महिनामा रु ३७ करोड खर्च भएको छ भने पूँजिगत खर्च तर्फ रु. २४ करोड विनियोजन गरिएकोमा रु. १० करोड मात्रै खर्च भएको छ

व्यास नगरपालिकाको चौथो साधारण सभाका लागि भेला भएका सम्पूर्ण निर्वाचित जनप्रतिनिधि र कर्मचारीलाई सूचनाको हक र स्थानीय सरकार सञ्चालन विधिका सम्बन्धमा प्रशिक्षण दिन यस पंत्तीकारलाई मेयर बैकुण्ठ न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले संयुक्त रूपमा आमन्त्रण गर्नु भएको थियो । २०७५ माघ मसान्तको दिन अपराह्न करिब तीन घण्टाका लागि आयोजित कार्यक्रममा उपमेयर मीरा जोशीले दर्साउनुभएको आदरभाव र स्वागत तथा सम्पूर्ण जनप्रतिनिधिको मन, मस्तिष्कमा पैदा भएको सकारात्मक भावबाट उत्साहित भै व्यास नगरपालिकाले सम्पादन गरेका असल कार्यलाई उजागर गर्ने ध्येयले यो आलेख तयार गरेको छु ।

महर्षि वेदव्यासको नामबाट स्थापित तनहुँ जिल्लाको व्यास नगरपालिका हाल सो जिल्लामा कायम भएका १० ओटा पालिका मध्ये सबैभन्दा ठूलो पालिका हो । यस पालिकाले ५४ बुँदै विस्तृत आकारको नागरिक बडापत्र निर्माण गरी नगरपालिका र १४ ओटा सबै वडामा टाँस गरेको छ । व्यास नगर अल्ट्रा म्याराथुन सम्पन्न गरेको यो पालिका नौलो अभ्यासमा जुटेको महसुस हुन्छ । २ सय ३५ ओटा टोल विकास संस्था गठन गरी यस पालिकाले नागरिकमा बचत गर्ने बानीको विकास आरम्भ गरेको छ ।

नारेश्वर तालको संरक्षण र सम्बद्र्धनमा जुटेको व्यास पालिकाले विपद व्यवस्थापनको कामलाई अघि बढाएको छ । एकीकृत सहरी विकास योजना र एकीकृत पर्यटन गुरुयोजनामा जुटेको यो पालिका ल्याण्ड पुलिङद्वारा व्यवस्थित सहर बनाउने कार्यमा दत्तचित्त छ । पालिकाको आफ्नो आधुनिक र भव्य भवन निर्माण गरी आफूलाई बढी भएको स्थान भाडामा लगाएरै बर्सेनि करोडौँ घर बहाल रकम असुली गर्न पालिका सफल छ । यस पालिकाले ६ हजार ७ सय ८८ जनालाई सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालयबाट बैंक खातामार्फत वितरण गरी रहेको छ । यो कार्य नेपालका अन्य पालिकाहरूका लागि अनुकरणीय असल अभ्यासका रूपमा देखिन्छ ।

विविधतायुक्त गाउँ शहर, समृद्ध मेरो व्यास नगर नारालाई साकार तुल्याउन अघि बढेको व्यास पालिका आधुनिक बस पार्क निर्माणमा पनि जुटेको छ । भूकम्प प्रतिरोधी संरचना निर्माण गरौँ, सम्भावित प्रकोपबाट बचौँ र बचाऔँ भन्ने अर्को नारासहित यस पालिकाले वैज्ञानिक भवन संहिता पारित गरी लागू गरेको छ । मोबाइल एप्सबाट सूचना प्रवाह गरिरहेको यस पालिकाले कृषि योग्य जमिनमा प्लटिङ रोकेर सह्रानीय कार्यको थालनी गरेको छ ।

सबै मावि तहसम्मका सामुदायिक स्कूलमा ई–एटेन्डेन्स राखी पठन पाठनको कार्यलाई आफ्नो निग्रानीमा राख्न यो पालिका सफल देखिएको छ । यस पालिकाले आफ्नो पालिकाभित्रका सामुदायिकस्कूलका प्रअहरूसँग कार्यसम्पादन करार गरेको छ । यसबाट विद्यालयको पठन पाठनमा गुणस्तरीयता कायम गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । आफूलाई आधुनिक डिजिटल पालिकाको रूपमा परिचित गराउन व्यास पालिकाले कम्प्यूटरीकृत प्रणाली, अनलाईन सेवा, सिसी क्यामरा जडान र विद्युतीय हाजिरीको थालनी गरेको छ ।

साथै, यस पालिकासँग डिजिटल सूचना पाटी पनि रहेको छ । मुख्य कुरो, ग्लोबल पार्लियामेन्ट अफ मेयर्सको कार्यकारी सदस्यमा यस पालिकाका मेयर बैकुण्ठ न्यौपाने निर्वाचित हुनु भई पालिकाले थप गरिमा र उचाई हासिल गरेको छ । यसरी व्यास नगरपालिका मुलुकभित्र मात्रै नभई विश्व रंगमञ्चमा पनि परिचित हुनु पुगेको छ ।

अन्य पालिकाले व्यासबाट सिक्न सक्ने अर्को कुरा भनेको यस पालिकाले फोहोरलाई कुहिने, नकुहिने र अस्पतालको फोहोर भनी वर्गिकरण गरेको छ । जस अनुसार सरोकारवालाहरूले सोही अनुरूप फोहोर छुट्याउनु पर्ने र पालिकाले सोही अनुसार फोहोर उठाउने भ्यान पठाउने गरेको छ । यस पालिकाले कृषि क्षेत्रमा यान्त्रिकीकरण भित्र्याउन किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।

यसैगरी यस पालिकाले अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गरेको छ । जस्को कारण सामाजिक सुरक्षा प्राप्त गर्न मात्रै होइन, अन्य कैयौँ काम गर्न यस परिचय पत्रले सहजता दिलाएको छ । यस पालिकाले अन्य पालिकाहरूका लागि अनुकरणीय हुने गरी व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षाको विवरण अनलाइनमार्फत सम्पादन गरिआएको छ । खुल्ला र पारदर्शिताका लागि यस पालिकाले नगर कार्यपालिका बोर्ड बैठक र सभाको निर्णयहरू नियमित रूपमा वेवसाइटमा राख्दै आएको छ । आफ्नो वेवसाइट नियमितरूपमा चुस्त र दुरुस्त राखेको यस पालिकाले सूचनाको हकसम्बन्धी ऐन बमोजिम प्रत्येक ३–३ महिनाको स्वतः प्रकाशन पनि नियमितरूपमा वेवसाइटमा राखी प्रशंसाको पात्र बन्न सफल भएको छ ।

व्यास नगरपालिकाले आफ्नो १४ ओटा वडामध्ये जुनसुकै वडा कार्यालयमा पुगेर सम्पत्ति कर र व्यवसाय कर तिर्न मिल्ने विद्युतीय सञ्जालको व्यवस्था गरेको छ । विकास निर्माणका कामलाई पूर्णतः पारदर्शी तुल्याउने ध्येयले यस पालिकाले सबै वडामा सार्वजनिक सुनुवाइको कार्यक्रम आयोजना गरेको छ । मानुङकोटदेखि पुलिमराङ शहिद पार्कसम्मको म्याराथुन दौडले यस पालिकामा खेल पर्यटनको सम्भावना वृद्धि भएको महसुस गरिएको छ । सबै वडामा वडा कार्यालय निर्माण गर्ने र जनतालाई घर दैलोमै सेवा दिने पुनित लक्ष्यले व्यास अगाडि बढेको महसुस हुन्छ ।

यो पालिका आन्तरिक पर्यटन वृद्धि गर्न व्यास–पराशर पार्क निर्माणमा जुटेको छ । यसैगरी, सबै वडाबीचको सडक सञ्जाल व्यवस्थित गर्न सडक स्तरोन्नतिको काममा जुटेको छ । यसैगरी प्रदेश सरकारसँगको सहकार्यमा मादी नदीमा बहुउद्देश्यीय कृत्रिम ताल निर्माण गर्ने सपना बोकेर व्यास पालिका सम्भाव्यता अध्ययनमा जुटेको छ । यस्तै, अर्को ताल दुम्सी चौरस्थित नारेश्वर खोलामा बाँध बाँधेर निर्माण गर्न सकिन्छ । यो पालिका रानी गाउँ र आसपासमा एकीकृत जग्गा विकास कार्यक्रममा सघनताका साथ जुटेको छ । यो पालिकाले मेट्रिक ठेगानामा आधारित घर नम्बरिङ गर्ने काममा हासिल गरेको अनुभव अन्य पालिकाका लागि अनुशरणयोग्य रहेको छ ।

व्यास नगरपालिका आदिकवि भानुभक्त क्याम्पसको स्तरोन्नतिमा पनि जुटेको छ । यसैगरी निर्मल मावि र सत्यावती माविलाई नमूना विद्यालयमा रूपान्तरित गर्दैछ । साथै यस पालिकाले नगर पुस्तकालय केन्द्र स्थापनाको सपना बोकेको छ । जनसहभागितामा आधारित सडक बत्तीको अवधारणा अघि बढाइएको छ ।

सहकारी व्यवस्थापन र स्वरोजगार कार्यक्रमको सञ्चालनमा पनि पालिका जुटेको छ । पालिकामा निर्वाचित जनप्रतिनिधि आएको करिब डेढ वर्षको अवधिमा व्यासले विभिन्न २४ ओटा ऐन, नियम, निर्देशिका र कार्यविधि जारी गरेको छ । घर नक्सा पासको कामलाई कसरी सहज, सुलभ र पारदर्शी बनाउने भन्ने चिन्तनमा पालिका डुबेको छ । अव्यवस्थित रूपमा बढ्दै गएको कंक्रिटको सहरलाई कसरी व्यवस्थित गर्ने र कस्तो भू–उपयोग योजना तर्जुमा गर्ने भन्ने यस पालिकाको अर्को टाउको दुखाइको विषय भएको छ । तथापी व्यास पालिका आफूभित्र देखिएका बाधा र सीमालाई पन्छाउँदै अघि बढ्दैछ ।

व्यास नगरपालिकाले अन्तर मावि मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । सिन्धु मार्ग, छाब्दी मार्ग, केशवहार मार्ग, महेन्द्री मार्ग, कलेस्ती गजौडे बिर्ता मार्ग, कालिका मार्ग, क्यामिन मार्ग, खड्गकाली मार्ग, पराशर मार्ग लगायतलाई नगरको मूल मार्ग बनाउने ध्येयले व्यास यस्को निर्माणमा जुटेको छ । यस पालिकाभित्र होमस्टेको संभावना रहेको छ । पालिका यस्को प्रबद्र्धनमा पनि जुटेको छ । यो पालिका प्रदेशस्तरीय प्रदर्शनी स्थल निर्माणमा पनि जुटेको छ ।

साथै कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा थुप्रै साना–ठूला योजना कार्यान्वयनमा व्यास संलग्न छ । यस पालिकाले १०८ फिट अग्लो व्यासको मूर्ति निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । यसको निर्माणसँगै व्यास नगरपालिकाले आफ्नो विशेष पहिचान उजागर गर्दै राम्रो संख्यामा आन्तरिक पर्यटक आकर्षित गर्न सकिने देखिन्छ । हाल रहेका व्यास गुफा लगायतका पर्यटक र धार्मिक स्थलको यस क्षेत्रको महिमा बढाएको छ ।

व्यास नगरपालिका कृषि उत्पादन बढाई कृषि बजारको व्यवस्थापन गर्ने गृहकार्यमा पनि जुटेको छ । बालबालिका, युवा, महिला, अपांगता भएका नागरिक, दलित, आदिवासी, जनजाति, वृद्धवृद्धालगायत सबै लक्षित वर्गमा अनुभूत हुने गरी सेवा प्रवाह गर्नुपर्छ, विकासको घाम तिनमा पनि पु¥याउनुपर्छ भन्ने कुरामा व्यास पालिका सचेत देखिन्छ । सूचना, सञ्चार तथा प्रविधि मैत्री पालिका निर्माण गर्ने, स्वच्छ पिउने पानी वितरण गर्ने, नागरिकमा सुरक्षाको अनुभूति गराउने, आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने र ठूला आयोजना समेत सञ्चालन गर्ने लक्ष्यका साथ व्यास आफ्नो कर्तव्यमा अग्रसर छ ।

यस पालिकाले चालू आर्थिक वर्ष ०७५÷७६ मा रु. १४ अर्ब आन्तरिक राजस्व असुली गर्ने लक्ष्य लिएकोमा पहिलो ६ महिनामा रु. ७ अर्ब असुली गरी लक्ष्य भेट्टाउने संकेत प्रदर्शन गरेको छ । यसैगरी, चालू आ. ब. को रु ६४ करोडको चालु खर्च विनियोजनमा प्रथम ६ महिनामा रु ३७ करोड खर्च भएको छ भने पुँजीगत खर्च तर्फ रु. २४ करोड विनियोजन गरिएकोमा रु. १० करोड मात्रै खर्च भएको छ । यसबाट पुँजीगत खर्चमा पालिका विशेष चनाखो हुनुपर्ने देखिएको छ ।

अन्त्यमा, वर्तमान नेपालको संविधानको अनुसूची–८ ले यस व्यास नगर पालिकालाई प्रदान गरेको २२ ओटा अधिकारलाई पुनः एकपटक एक–एक गरेर हेरी गर्न बाँकी काममा बाँकी समय व्यतित गर्नुपर्ने देखिन्छ । जसअनुसार शान्ति सुरक्षामा नगरवासीलाई आश्वस्त तुल्याउनु पर्छ । एफएम सञ्चालन लगायतका कार्यबाट पालिकाले काम गर्ने र आफूले गरेका कामको ‘बजारीकरण’ गर्ने नीति अख्तियार गर्नुपर्छ ।

स्थानीय तथ्यांक संकलन गर्ने र अभिलेखलाई दुरुस्त तुल्याई भविष्यपरक सोच सहित वैज्ञानिक नगर गुरुयोजना तर्जुमा गर्नुपर्छ । स्थानीय बजारको व्यवस्थापन गर्दै कोशेली घर स्थापना गर्ने, हाट बजारको व्यवस्था गर्ने र स्थानीय उत्पादनले बजार पाउनेतर्फ पालिकाको नीति केन्द्रीत हुनुपर्छ । सहकारी खेती र सामूहित खेती तथा सरकारी निजी साझेदारीका योजनाहरू निर्माण गरी कार्यान्वयन गर्नुपर्छ ।

व्यास नगरपालिकाले लगानी सम्मेलन गर्नुपर्छ । बेरोजगारको तथ्यांक संकलन गरी स्वरोजगारका स्कीमहरू सञ्चालन गर्नुपर्छ । यस्का लागि पालिकाले युवालाई बिउ पँुजीसहित सघाउनु पर्छ । जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षणमा पालिका जुट्नुपर्छ । भाषा, संस्कृति र कलाको विकासमा होमिनुपर्छ । भएका वृद्धाश्रमको सु–सञ्चालन गर्नुका साथै चिडियाखाना र म्यूजियम निर्माणमा जुट्नुपर्छ । सभाहल, कभर्ड हल, सामुदायिक भवन निर्माणको प्रयास गर्नु पर्छ ।

प्रत्येक वडामा खुल्ला क्षेत्र निर्माण गर्नुपर्छ । ठाउँ ठाउँमा उद्यान निर्माण गर्नुपर्छ सार्वजनिक शौचालय बनाउनुपर्छ । नगर बस चलाउनुपर्छ । पशु वधशाला स्थापना गर्नुपर्छ । सानै भएपनि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ । सुपथ मुल्यका पसल खोल्नु पर्छ । नगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ । यत्ती काम गरेपछि व्यास पालिका थप प्रशंसाको शिखरमा पुग्नेछ । नेपालभरीका पालिकाहरूमा पुगी नियमित अन्तरक्रिया गरेको अनुभवको आधारमा पालिकाहरूको अन्तरमनले बर्गिकरण गर्दा व्यास पालिका उत्कृष्टताको पंत्तीमा छ । यसलाई मेयर, उपमेयर, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारीले सबै नागरिकको सहयोग लिई मुलुककै नमूना र सर्वोत्कृष्ट पालिकाहरूको पंत्तीमा आफूलाई पु¥याउन मन, वचन र कर्मले निरन्तर आफ्नो आफ्नो कार्य क्षेत्रमा खरो उत्रिनुको विकल्प नभएको कटु सत्य बुझी राख्नु बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया