हालसम्म नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने खालका छन् । जस्तै चार-पाँच दिनदेखि ७-९ दिनसम्म नेपाल बिताउनेहरू बढी देखिन्छ । तर, चिनियाँ पर्यटकको बसाइ छोटो हुने भए तापनि उनीहरू ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई भने फाइदै फाइदा छ ।
विश्वका विभिन्न सञ्चारमाध्यममा आएका समाचारअनुसार विगत केही वर्षदेखि नै संख्याको आधारमा चिनियाँ नागरिक बराबर कुनै पनि देशका नागरिक विदेश भ्रमणमा निक्लेका छैनन् । अनि खर्च गराईमा पनि सायदै अरू देशका पर्यटकले अबका दिनमा चिनियाँ पर्यटकलाई जित्लान् ।
त्यसो त चीनको सन्दर्भमा पर्यटनको कुरो गर्दा सुरुमा कडा खालको साम्यवादी शासन व्यवस्था भएकोले (हाल पनि चीनले घोषित रूपमा आफूलाई प्रजातान्त्रिक शासन व्यवस्था भएको देश नभने तापनि केही दशकदेखि आर्थिक र सामाजिक रूपमा धेरै हदसम्म खुलापन अपनाएको छ । सन् १९८० सम्म चिनियाँ सर्वसाधारण नागरिकहरूलाई बाहिरी मुलुकमा आफू खुसी घुम्न जाने अनुमति थिएन ।
सर्वप्रथम चीन सरकारले एसिया, युरोप, अमेरिका लगायतका छानिएका देशमा पर्यटक भएर जानका लागि आफ्ना देशका सर्वसाधारण नागरिकलाई सन् १९८० देखि अनुमति दिएको थियो । चीन सरकारले आफ्ना देशका सर्वसाधारण नागरिकलाई विदेश घुम्न जान पाउने अस्थाई प्रकृतिको अनुमतिको व्यवस्थालाई ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’को रूपमा बुझिन्थ्यो । चीनले सुरुमा आफ्ना देशका सर्वसाधारण नागरिकलाई सीमित देशहरू छनौट गरेर पर्यटकको रूपमा घुम्न जान दिएको थियो ।
नेपालमा भने चीन सरकारले सन् २००३ देखि मात्रै आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रूपमा भ्रमण गर्ने अनुमति दिएको हो । यसरी सन् २००३ देखि चीन सरकारले आफ्नो देशका नागरिकलाई नेपालमा पर्यटक भएर आउने अनमुति अर्थात् ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ दिए यता अपवादबाहेक नेपाल आउने चिनियाँ पर्यटकको संख्या बर्सेनि बढ्दै गएको देखिन्छ । हुन पनि तथ्यांक हेर्दा के देखिन्छ भने, सन् २००३ मा पर्यटकको रूपमा नेपाल भ्रमण गर्ने अनुमति पाएपछि सो वर्ष सात हजार पाँच सय ६२ सर्वसाधारण चिनियाँ नागरिक पर्यटकका रूपमा नेपाल घुम्न आएका थिए ।
त्यसयता नेपाल आउने चिनियाँ पर्यटकको संख्या संख्यात्मक रूपमा लगातार बढेको बढ्यै देखिन्छ । सन् २०१४ (लगभग १२ वर्षको अन्तराल) मा एक लाख २३ हजार आठसय पाँच चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा १ लाख ५३ हजार ६०२ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसो त विगत लामो समयदेखि हरेक वर्ष नेपाल आउने पर्यटकको सबैभन्दा धेरै संख्या हालसम्म दक्षिणको छिमेकी देश भारत रहँदै आएकोमा अबका केही वर्षपछि नै उत्तरको छिमेकी देश चीन हुनेमा कुनै शंका नहोला कि !
विश्वमा चिनियाँ पर्यटकहरूले भ्रमण गर्ने पर्यटकको संख्याको सन्दर्भमा भन्नुपर्दा ‘ट्राभल बिज न्युज’ले चाइना नेसनल टुरिज्म एडमिनिस्ट्रेसन (सिएनटिए) लाई उद्धृत गर्दै छापेको एक समाचारअनुसार आगामी पाँच वर्षमा ६ सय मिलियन चिनियाँ नागरिकहरू पर्यटकको रूपमा विदेश भमणमा निक्लने छन् ।
जब कि सन् २०१५ मा एकसय २० मिलियन चिनियाँ पर्यटकहरू विश्का विभिन्न देशमा पर्यटक भई घुम्न निक्लेका थिए । तथ्यांकअनुसार यो भनेको सन् २०१४ मा विदेश घुम्न निक्लेका चिनियाँ पर्यटकको तुलनामा सन् २०१५ मा विदेश घुम्न निक्लेका चिनियाँ पर्यटकको संख्या १९ दशमलव पाँच प्रतिशतले बढी हो । त्यस्तै सन् २०१४ मा एकसय ९ मिलियन मिलियन चिनियाँ पर्यटकहरू विश्का विभिन्न देशमा पर्यटक भई घुम्न निक्लेका थिए । समाचार अनुसार यो भनेको सन् १९८९ को भन्दा १३ पटक (गुणा) ले बढी हो ।
यो पंक्तिकार ट्रेकिङ गाइड (गाइड लाइसेन्स नम्बर–४२४२ ग्रेड ‘ए’) पनि भएकोले धेरै जसो पदयात्रा मार्गमा के देखेको छ भने, कतिपय चिनियाँ पर्यटक पनि आपूm बसेको होटल धनीलाई एककप तातो पानी मागेर चाउचाउ भिजाएर छाक टार्ने र ग्रिन टी पिउने पनि प्रशस्तै भेटिन्छन् भने भारतीय पर्यटकहरू त अधिकांश पशुपतिनाथको दर्शन गर्न आउनेहरू छन् । त्यही पनि दिसा गर्दा पानी बोक्न चाहिने लोटा !?समेत उतैबाट लिएर आउनेहरू धेरै छन् । अब तपाईं नै भन्नोस् त ? यस्ता पर्यटकबाट हामीले के आशा गर्ने ?
चिनियाँ पर्यटकको सन्दर्भमा भन्नु पर्दा हालसम्म नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने खालका छन् । जस्तै, चार-पाँच दिनदेखि सात-नौ दिनसम्म नेपाल बिताउनेहरू बढी देखिन्छ । तर, चिनियाँ पर्यटकको बसाई छोटो हुने भए तापनि उनीहरू ट्रेकङ, ¥याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई भने फाइदै फाइदा छ । तापनि हामीले डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तिमा आठ-दस दिनदेखि १४÷१५ दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटकहरू धेरै भन्दा धेरै संख्यामा भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ ।
त्यसो त खासमा चिनियाँ पर्यटक ‘मक्खिचुस’ होइनन् भन्ने त केही वर्ष अघिदेखि उनीहरू लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिने गरेकोले पनि देखाउँछ । त्यति मात्रै होइन, चिनियाँहरू संख्याकै आधारमा पनि विश्वका धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पर्यटकका रूपमा दरिएका छन् । यसरी हेर्दा चिनियाँ पर्यटक भित्र्याउनका लागि मात्रै होइन, कुनै पनि देशका पर्यटक भित्र्याउनका लागि नभई नहुने आधारभूत आवश्यकताहरू जस्तै हवाई मैदान अर्थात् विमानस्थल, मोटर बाटो, होटल, लज, गेस्ट हाउस, रिसोर्ट, मोटेल (नेपालमा हालसम्म मोटेलको अवधारणाले साकार रूप लिइसकेको छैन ।
हामीसँग पर्याप्त छैन । त्यस्तै पर्यटकले इच्छाएको खाना, हुन त खानाको सन्दर्भमा भन्नु पर्दा स्थानीय उत्पादनलाई जोड नदिने हो भने कुनै पनि पर्यटकले खानाका लागि खर्च गर्ने लगभग ८० प्रतिशत पैसा विदेसीने सम्भावना हुन्छ । यो कुरा केही अघिसम्म र, हालसम्म पनि नेपालमा सञ्चालित ठूला होटल÷तारे होटलहरूमा माछा, मासु, मरमसला, खाद्यान, पेय, पदार्थलगायत कतिपय आवश्यक सरसामान नेपाल बाहिरबाटै ल्याउँथे भने अझै पनि कतिपय तारे होटलहरूले विदेशी खाद्यपदार्थ नै ल्याउनुपर्ने वाध्यता छँदैछ ।
उता कतिपय होटलहरूले आफ्नो लागि चाहिने दक्ष जनशक्तिसमेत पूर्ण रूपमा नेपालीहरूबाट लिन सकेको छैन । जस्तै, म्यानेजर, हेड कुक, एसिस्टेन्ट कुक, क्याप्टेन, वेटर, बारमेन आदि समेत विदेशी नै खासगरी भारतीयहरू ल्याउने गरेको पाइन्छ । जे होस्, हालको अवस्थामा नेपालको पर्यटन प्रवद्र्धनमा सबैभन्दा ठूलो समस्या भन्नु नै हवाईजहाजको समस्या प्रमुख हो भने, नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विमानस्थल नहुनु अर्को दुःखद् पक्ष हो । हुन पनि हाम्रो देशको अवस्था कस्तो छ भने, अहिलेसम्म एकैपटक दोहोरो रूपमा ठूलो जहाज (अन्तर्राष्ट्रिय रुटमा चल्ने हवाईजहाज) उड्न÷बस्न सक्ने धावनमार्ग भएको विमानस्थलसमेत छैन ।
अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न विमानस्थल बन्ने चर्चा भएको लामो समयपछि बल्लतल्ल बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने तय त भएको छ । तर, कहिले सुरु हुने हो ? कहिले सकिने हो ? केही अत्तोपत्तो छैन । नेपाल न हो के भन्न सकिन्छ र ? भोलि फेरि राजनैतिक निर्णय गरेर कसैले कसैको स्वार्थमा अन्तै बनाउने भनी निजगढको सट्टा अन्तै कतै पो नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्ताव ल्याउने हो कि ? अन्तै पो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्ने हो कि ? त्यसैले कामना गरौँ, त्यस्तो नहोस् । निजगढले नै नेपालको पहिलो र सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने अवसर पाओस् ।
बरु यो काम जति सक्दो छिट्टै सुरु भएर छिट्टै सकियोस्, भन्ने कामना गरौँ । यसरी कामना गर्दागर्दै पनि कहिले रुख कटानको समस्या, कहिले जग्गाको मुआब्जाको समस्या, कहिले वन विनासको हल्ला, कहिले के, कहिले के गर्दागदै वर्ष दिनभन्दा बढी समय बितिसकेको छ । हुन त पोखारतिरै फर्कने हो भने, उक्त विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भए तापनि मझौला १ सय ८० सिटेभन्दा ठूलो विमान बस्न नसक्ने हुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बने पनि अपेक्षित रूपमा विदेशी पर्यटक धान्न सक्दैन ।
प्रतिक्रिया