१० वर्षीया बालिकाको शव फेला

मोरङ । विराटनगरमा एक बालिकाको हत्या गरेको अवस्थामा शव फेला परेको छ । स्थानीय १० वर्षीया बालिकाको शव नग्न अवस्थामा सिंघिया खोलामा फेला परेको हो ।

विराटनगर–८ मधुमारा बलुवाईकी १० वर्षीया गुडिया भन्ने रूपामती दासको हत्या भएको अवस्थामा शव फेला परेको हो । शनिबार राति छिमेकीको घरमा टिभी हेर्न गएकी बालिका आइतबार बिहानसम्म पनि फेला नपरेपछि उनको परिवारले प्रहरीमा खबर गरेको थियो । प्रहरीलाई निवेदन दिइरहेका वेला बालिकाको शव फेला परेको जानकारी उनका बाबु रामप्रसाद दासले पाएका थिए ।

गुडियालाई आमा मनिदेवीले शनिबार साँझ भुजा किनेर ल्याउन भन्दै पैसा दिएर पठाएकी थिइन् । तर, पसलमा भुजा नपाएपछि उनि त्यत्तिकै फर्किइन् । घर फर्किएर आमालाई पैसा फिर्ता दिँदै आफू छिमेकीको घरमा टिभी हेर्न गएको भन्दै निस्केकी थिइन् । उनी यसअघि पनि सोही घरमा टिभी हेर्न जाने तथा त्यहीँ सुत्नेसमेत गरेको उनका बुबा रामप्रसादले बताए । शनिबार उनी करिब आठ बजेतिर घर फर्किए । घर फर्किंदा छोरी घरमा नभएको र छिमेकीको घरमा टिभी हेर्न गएको परिवारबाट जानकारी पाए ।

घटनास्थलमा विक्षिप्त अवस्थामा भेटिएका रामप्रसादले भने, ‘रातको साढे आठ बजे फर्किंदा घरमा छोरी थिइनन् । छिमेकमा सुतेकी छ होला भनेर राति खोजी गरिनँ ।’ उनले विगतमा पनि छोरी छिमेकीको घरमा सुत्ने गरेको सुनाए । तर, सो दिन बिहान नफर्किएपछि उनी छिमेकीको घरमै हेर्न गए । त्यहाँ उनले गुडियालाई भेटेनन् ।

त्यसपछि उनले आसपास सम्भावित स्थानमा छोरीको खोजी गरे । घरबाट नजिकै रहेको विराटेश्वर वृद्धाश्रमको गेटमा चप्पल भेटे पनि छोरी भेटेनन् । त्यसपछि उनले प्रहरीकोमा गएर उजुरी लेखाए । तर, सोही वेला गुडियाको शव घरबाट करिब पाँच सय मिटर टाढा रहेको सिंघिया खोलामा भेटियो । विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिका–२ को सिमानामा रहेको सिंघीया खोला किनारमा मृत अवस्थामा फेला परेको हो ।

त्यसपछि, रामप्रसाद प्रहरीको टोलीसँगै खोलामा पुग्दा उनको शव पानीबाट निकालिएको थियो । प्रहरीका अनुसार बालिकाको मुखबाट रगत आएको र नग्न अवस्थामा रहेकाले बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको डिएसपी कृष्णा खड्काको नेतृत्वमा घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिका स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्थिन् ।

प्रतिक्रिया