क्यानेडीयन प्रधानमन्त्री जस्टिनका ‘जुम्ल्याहा’

काबुल । हालैको एक साँझ अफगानिस्तानको काबुलमा आयोजित रियालिटी शो ‘अफगान स्टार’मा एक प्रतिस्पर्धी गायक जब झुल्किए, तब निर्णायक अचम्भित हुँदै सोधे, ‘ए ! जस्टिन ट्र्युडो त हैनन् यी ?’

क्यानडीयन प्रधानमन्त्री जस्टिन ट्र्युडो स्वयं अफगानिस्तानको गायन प्रतिस्पर्धामा भाग लिन त किन पो आउँथे र ! तर जस्टिनको जस्तै अनुहार भएका एक प्रतिस्पर्धीले सबैलाई अचम्ममा पारिदिए ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त बादग्सानको एउटा दुर्गम गाउँमा हुर्किएका अब्दुल सलाम मफ्तुनलाई यथार्थमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्युडोको नामसमेत थाहा थिएन ।

जब अडियन्स र जजले उनलाई उनै विश्व राजनीतिमा प्रभावशाली युवा प्रधानमन्त्री जस्टिनसँग तुलना गर्न थाले केही दिनमै अब्दुल सेलिब्रिटीमा परिणत भइसकेका छन् ।

गाउँमै बसेर विवाह समारोह तथा सामाजिक कार्यक्रममा गाउने र बजाउने काम गर्ने यी २९ वर्षीय मफ्तुन आफैँ अहिले दंग छन् । ‘अफगान स्टार’ बन्ने सपना बोकेर गाउँदै गरेका यी युवाको संसारभर चर्चा छ ।

‘मलाई पहिले सबैले मफ्तुन भनेर बोलाउँथे । जब मेरो फोटो सार्वजनिक भयो त्यसपछि सबैले जस्टिन ट्र्युडो भनेर बोलाउन थाले । कसैले त जस्टिनको जुम्ल्याहा भनेर बोलाउँछन्,’ अब्दुल सलाम मफ्तुन भन्छन् ।

संसारकै सर्वाधिक कामुक पुरुष नेताको रूपमा जस्टिन ट्र्युडोलाई अन्तर्राष्ट्रिय मिडियाले चर्चामा गरिरहन्छन् । मफ्तुनको यस्तो सम्भावना र अपेक्षा पनि नहोला । जस्टिन झैँ विश्व राजनीतिमा प्रभाव राख्ने पनि सम्भव छैन । तर, अफगानिस्तानको मौलिक लय र गायकीमार्फत यी अफगान युवाले संसारभर प्रभाव जमाउने बाटो खुलेको छ ।

प्रतिक्रिया