आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रिक्त रहेको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको जनाएको छ ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेपछि लामो समय निमित्तको भरमा चल्दै आएको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । उक्त प्रतिष्पर्धामा १२ जना सहभागी भएका थिए ।

१२ जनाबाट ५ जनाको नाम सर्ट्लिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । त्यस मध्येबाट मन्त्रिपरिषदले पौडेललाई कार्यकारी निर्देशकमा छनोट गरेको हो ।

पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् । उनले उदयपुर सिमेन्टमा तीन वर्षे कार्यकाल पूरा गरेका थिए । आफ्नो कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेको श्रेय पौडेललाई जान्छ । उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

प्रतिक्रिया