कुस्तीले तान्यो दर्शक

महेन्द्रनगर, १७ फागुन । फुटबल र क्रिकेट भन्नेबित्तिकै सुदूरपश्चिमेलीहरू भुतुक्कै हुन्छन् । भलिबलको क्रेज पनि उत्तिकै छ यहाँ । खेल हुने स्थानमा प्रायः दर्शकको बाक्लो उपस्थिति हुन्छ । कञ्चनपुरमा जारी छैटाँै राष्ट्रिय खेलकुदमा भने कुस्ती (रेसलिङ) ले दर्शकलाई लोभ्यायो । अन्य खेलभन्दा कुस्ती हेर्नेहरूको घुइँचो नै लाग्यो ।
फुटबल, क्रिकेट र भलिबलजस्ता लोकप्रिय खेल हेर्न छाडेर दर्शकहरू कुस्तीमै आकर्षित देखिए । ‘पहिलोपटक त्यो पनि राष्ट्रिय प्रतिस्पर्धा भएकाले नौलो लागेर दर्शक आकर्षित देखिए’ कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने, ‘कुस्ती शारीरिक शक्ति र सन्तुलनको आधारमा खेलिने खेल हो ।’ सात स्वर्णका लागि चौथो दिनमा कुस्ती प्रतिस्र्पधा सकिएको छ । खेल सुरु गर्नुअगाडि नै मैदानवरपर दर्शकको भीड सुरु हुने गथ्र्यो । स्वयंसेवक र सुरक्षाकर्मीलाई दर्शक नियन्त्रण गर्न हम्मे परेको थियो ।
कञ्चनपुरमा कुस्तीको आयोजना पहिलोपटक भएको हो । राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला र क्षेत्रस्तरीय छनोटबाहेक यहाँ अहिलेसम्म कुस्तीको आयोजना भएको छैन । छोटो समयमै आन्तरिक रूपमा छनोट गरिने भएकाले दर्शकहरूले खेल हेर्न पाउँदैनन् ।
‘कुस्ती रेसलिङको प्रारम्भिक आधार हो । यो रेसलिङजस्तै भएको र घरमा टिभीमा रेसलिङ हेरिने हुनाले पनि दर्शकको घुइँचो भएको हो,’ प्रशिक्षक चन्दले बताए ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र पिएलए गरी ६ टिमबीच प्रतिस्र्पधा भएको छ । कुस्तीमा मध्यमाञ्चल विकास क्षेत्र बलियो टिम मानिन्छ । बुधबार सम्पन्न खेलमा मध्यमाञ्चलले सर्वाधिक चार स्वर्ण जितेको छ । कुल सात स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा पश्चिमाञ्चलले दुई तथा पिएलएले एक स्वर्ण हात पारेका छन् ।
५५ केजीमा जवाहर सहनी, ६६ केजीमा मुक्तार आलम, ७४ केजीमा बुन्नीलाल राउत अहिर र  ८४ केजीमा सुमिरकुमार साहले मध्यमाञ्चललाई स्वर्ण दिलाए ।
पश्चिमाञ्चलबाट ६० केजीमा वैजनाथ यादव र ९६ केजीमा प्रल्हाद यादवले स्वर्ण जिते । एक सय २० केजीमा पिएलएका राजीशरण यादवले पहिलो स्थान हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यद्वय नम्बर शेर्पा र कुसुमकुमारी श्रेष्ठलगायतले पुरस्कृत गरे ।
महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको ५५ केजीमा
पश्चिमाञ्चलका वसन्त थापा दोस्रो तथा सुदूरपश्चिमाञ्चलका कृष्ण धामी र पूर्वाञ्चलका अमरनाथ यादव तेस्रो, ६० केजीमा मध्यमाञ्चलका सुवास यादव दोस्रो तथा पूर्वाञ्चलका सुरेशकुमार यादव र सुदूरपश्चिमाञ्चलका बब्लु चौधरी
तेस्रो भए ।
७४ केजीमा पूर्वाञ्चलका जितेन्द्रकुमार यादव दोस्रो तथा पश्चिमाञ्चलका व्यासमुनि चौधरी र सुदूरपश्चिमाञ्चलका नवीनसिंह थापा तेस्रो तथा ८४ केजीमा पूर्वाञ्चलका जितेन्द्रकुमार यादव दोस्रो तथा पश्चिमाञ्चलका राजेन्द्र अहिर र सुदूरपश्चिमाञ्चलका राजु रोकाया तेस्रो, ९६ केजीमा मध्यमाञ्चलकाका डेब्बा यादव दोस्रो तथा पूर्वाञ्चलका विष्णुदेव यादव र मध्यपश्चिमाञ्चलका उत्तम भारती तेस्रो भए ।
एक सय २० केजीमा मध्यमाञ्चलका सत्येन्द्रप्रसाद यादव दोस्रो तथा पूर्वाञ्चलका नागेन्द्रकुमार यादव र सुदूरपश्चिमाञ्चलका करणदेव भट्ट तेस्रो स्थानमा रहे ।
मध्यमाञ्चलमा कुस्ती खेल लोकप्रिय छ । कुनै पर्व वा अवसरमा कुस्तीको आयोजना गरिन्छ जसले गर्दा त्यहाँका खेलाडीको वर्षभरि नै प्रशिक्षण चल्छ । ‘त्यसैले पनि त्यहाँ कुस्तीको विकास र टिम बलियो छ’ नेपाल कुस्ती सङ्घका महासचिव तथा प्रशिक्षक मुन्ताज अलि इदरीले सौर्यसँग भने । सीमित प्रशिक्षणमा राष्ट्रिय प्रतियोगिताका लागि मात्रै मैदानमा भिड्ने  सुदूरपश्चिमका खेलाडीले पाँचाँै राष्ट्रिय खेलकुदमा एक रजत र तीन कांस्य हात पारेका थिए ।
छैटौँ राष्ट्रिय प्रतियोगताबाट कुस्तीमा पहिलोपटक महिला प्रतिस्र्पधा पनि समावेश गरिएको थियो । कञ्चनपुर, कैलाली, डडेल्धुरा, मोरङ  र नेपालगन्जका गरी पाँच जिल्लाका १० महिला खेलाडीबीच प्रतिस्पर्धा गराइएको छ । पहिलोपटक प्रदर्शनी खेल गराइएको र साताँैबाट औचारिक रूपमा सहभागी गराइने कुस्तीका महासचिव इदरीले बताए ।

प्रतिक्रिया