पेट्रोल, डिजलमा कोटा प्रणाली, बाइक र स्कुटरलाई पाँच लिटर मात्रै

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको विक्रीमा कोटा प्रणाली लागु गरेको छ । सो काटा प्रणालीअनुसार अबदेखि मोटरसाइकल र स्कुटरले पाँच लिटर मात्र पेट्रेल पाउने भएका छन् ।

ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो ।नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न भनेको छ ।

अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १ सय लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।

एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ ।

मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरु आन्दोलित भएपछि भारतीयबाट हुँदै पेट्रोलियम पदार्थको आयात प्रभावित भएको छ ।

आयात रोकिएसँगै काठमाडौंसहित देशका विभिन्न क्षेत्रका पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेको छ । इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको हो ।

प्रतिक्रिया