‘संविधानसभा ब्युँताएर समस्या सल्टाऔं’


काठमाडौं, २५ जेठ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले केही समयका लागि भए पनि संविधानसभा ब्युँताएर अहिलेको राजनीतिक र संवैधानिक जटिलता अन्त्य गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् । बूढानीलकण्ठस्थित देउवानिवास पुगेका प्रधानमन्त्री भट्टराईलाई वरिष्ठ नेता देउवाले सहमतिका लागि मार्गप्रशस्त गर्न सुझाउँदै यस्तो आग्रह गरेका हुन् ।
अहिलेको अवस्थामा निर्वाचन हुनै नसक्ने उल्लेख गर्दै देउवाले प्रधानमन्त्रीसमक्ष सहमतिमा केही दिनका लागि भए पनि संविधानसभा ब्युँताएर संविधान जारी गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । दलहरूबीच सहमति जुटाउनका लागि मार्गप्रशस्त गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्दै उनले संविधानसभा बचाउन नसकेर एमाओवादीले गम्भीर गल्ती गरेको स्पष्ट पारेका थिए ।
आधा घन्टा लामो भेटमा उनले संघीयताका विषयमा दलहरूबीच सहमति जुटाएपछि संविधान जारी गर्न केही दिनका लागि संविधानसभा ब्युँताउनु सबैभन्दा उत्तम विकल्प भएको बताएका थिए । उनले संविधानसभा पुन:स्थापना गर्न नसकिए संविधानसभा र दलबीच भएका सहमतिलाई समावेश गरेर विवादित विषयको टुंगो लगाउन संविधान मस्यौदा आयोग गठन गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका थिए । उनले आयोगले तयार पारेको मस्यौदालाई जनमत संग्रहमार्फत अनुमोदन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिए ।
उनले निर्वाचनमा जानु अन्तिम विकल्प भएको उल्लेख गर्दै अहिलेको अवस्थामा निर्वाचन हुनै नसक्ने धारणा राखेका थिए । निर्वाचनका लागि नयाँ चुनावी सरकार गठन गर्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक दलबीच सहमति गरी संविधान संशोधन गरी नयाँ चुनावको मिति घोषणा गर्नुपर्ने धारणासमेत राखेका थिए ।
प्रत्युत्तरमा प्रधानमन्त्रीले दलहरूबीच सहमति नजुटे आफू संविधानसभा ब्युँताउन बाधक नबन्ने आश्वासन देउवालाई दिएका थिए । संविधानसभाबाट संविधान जारी गर्न नसकेपछि सरकारले नयाँ निर्वाचनको मिति घोषणा गर्नुको विकल्प नभएको उल्लेख गर्दै उनले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
यसैबीच, कांग्रेस पूर्वसभासद्हरूले बुधबार कांग्रेस सभापति सुशील कोइरालालाई भेटी संविधानसभा पुन:स्थापना गरेर जारी राजनीतिक र संवैधानिक संकटको समाधान खोज्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री पद छाडेपछि सहमति : नेपाल
काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिको नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री डा. भट्टराईसँगको भेटमा वरिष्ठ नेता नेपालले निर्वाचनको घोषणा असंवैधानिक भएको भन्दै सहमतिको राजनीतिक यात्रामा फर्कन र संवैधानिक संकट निवारणका लागि दलहरूको सहमतिमा नयाँ सरकार बनाउन आवश्यक रहेको बताएका हुन् । नेता नेपाललाई भेट्न प्रधानमन्त्री बुधबार कोटेश्वरस्थित नेपालनिवास पुगेका थिए ।
नेपालले अन्य विकल्पको बेवास्ता गरेर दलहरूसँग सहमतिसमेत नगरी संविधानसभाको अर्को निर्वाचन घोषणा गरेको भन्दै भट्टराईको आलोचना गरेका थिए ।
प्रधानमन्त्रीले भने आफू सहमति जुटाउन लागिपरेको र सहमतिका लागि त्याग गर्न पनि तयार रहेको बताएका थिए । ‘निर्वाचन मात्र होइन जुनसुकै बाटामा हिंँड्न पनि दलहरूबीच सहमति जरुरी छ,’ भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निर्वाचन वा संविधानसभाको पुन:स्थापना जुनसुकै विकल्पका लागि पनि आवश्यक सहमति गर्न सहयोग गर्नुस् ।’
जवाफमा नेपालले सहमतिका लागि सबैभन्दा पहिले प्रधानमन्त्रीबाट हट्नुपर्ने र नयाँ सरकार गठन गर्नुपर्ने बताएका थिए । ‘तपाईंले संविधान नबने एक मिनेट पनि पदमा बस्दिन भन्नुभएको होइन ? संविधान बन्ने सम्भावना हुँदाहुँदै किन दलहरूलाई झुक्याएर चुनावको घोषणा
गर्नुभयो ?’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले सौर्यसँग भन्यो ।

प्रतिक्रिया