नेपालमा १३ हजार गिद्ध

नवलपरासी । नेपालमा विभिन्न नौ प्रजातिका करिब १३ हजारभन्दा बढी गिद्ध रहेका अनुमान गरिएको छ . पूर्वी नवलपरासीको कावासोतीस्थित जटायु रेस्टुरेन्टका अनुसार हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम संख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमालीबोहक सबैजसो स्थानमा पाइने गरेका छन् ।

नेपालमा डंग्र, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी नौ प्रजातिका गिद्ध पाइएको छ । हाडफोर प्रजातिको गिद्ध बढी चिसो हुने हिमाली भेगमा मात्र पाइने जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले जानकारी दिए ।

नेपालमा सबैभन्दा बढी हिमाली प्रजातिको गिद्ध करिब १० हजारको हाराहारीमा रहेको तथ्यांक छ भने खैरो, राज र लामोठुडे प्रजातिका गिद्ध भारत, पाकिस्तान, चीन, बर्मा, थाइल्यान्ड लगायतका देशबाट जाडो छल्न नेपाल आउने गर्दछन् ।

पूर्वी नवलपरासीको कावासोतीस्थित उक्त रेस्टुरेन्टमा राखिएका १२ वटा गिद्धलाई प्रकृतिमा छाडिएको छ । प्रजनन केन्द्रमा हुर्किएका ती गिद्धलाई प्राकृतिक वासस्थानमा छाडिएको हो ।

विश्वमैै पहिलोपटक नेपालमा गिद्ध संरक्षणको थालनी भएको र संकटापन्न अवस्थामा रहेका गिद्धकोे संरक्षणमा यस्ता प्रयास फलदायी हुने जनाइएको छ । प्रकृतिमा छाडिएका गिद्धको पखेटामा नम्बरसहितको ट्याग लगाइएको छ भने सेटलाइटबाट अनुगमन गर्न सकिने गरी गिद्धको ढाँडमा रेडियोकलर जडान गरिएको संयोजक चौधरीले जानकारी दिए ।

उनका अनुसार रेडियोकलर जडान गरिएकाले अब प्राकृतिक वासस्थानमा छाडिएका ती गिद्ध रहने स्थान र तिनको अवस्थाबारे अनुगमन गर्न सकिनेछ । विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव ९ प्रतिशत गिद्ध मासिएपछि यी दुवै देशका साथै अन्य मुलुकले पनि गिद्ध संरक्षणमा जोड दिन थालेका छन् ।

रेस्टुरेन्टमा प्रकृतिमा भएका र छोड्नुपूर्व खोरमा राखिएका गिद्धलाई सँगै खाना खुवाइँदै आएको थियो । जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेस्टुरेन्टमा गरिएको थियो । सँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ ।

अतिसंकटापन्न अवस्थामा रहेको डंगुर जातको गिद्धको संख्या बढाउनका लागि दातृनिकायको सहयोगमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया