उत्तम विकल्प राष्ट्रपति–उपराष्ट्रपतिको निरन्तरता


-डा. छवि पन्थी  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि आवश्यक सबै कार्यविधि बनाइसकेको छ । निर्वाचन कार्यालयसमेत स्थापना भइसकेको छ । दुई दिनपछि राष्ट्रपतिका लागि मनोनयन दर्ता र एक सातापछि निर्वाचनको मिति पनि तोकिसकिएको छ । एमाले र माओवादी केन्द्रको मिलनसँगै वाम गठबन्धनका उम्मेदवार राष्ट्रपति निर्वाचित हुने निश्चितप्रायः छ । यही आधारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट अहिलेसम्म राष्ट्रपतिको विषयमा खासै चर्चा भएको पाइएको छैन ।

स्पष्ट बहुमत मात्रै नभई झण्डै पाँच सय मत अगाडि रहेको वाम गठबन्धनसामु कांग्रेसलेसमेत सर्वसम्मत गर्ने अपेक्षा आम नागरिकको छ । यस्तो वेला भावी राष्ट्रप्रमुखको विषयमा चर्चा, बहस वा आकांक्षीको संख्या धेरै देखिनु स्वभाविक हो । यसलाई अन्यथा लिनुहुन्न । तर यो पदमा आउने व्यक्तिको इतिहाससँगै अहिले भइरहेको सम्माननीयहरूको काम गर्ने शैली र अहिलेसम्म निर्वाह गरेको भुमिकालाई भने नजरअन्दाज गर्न बिल्कुलै मिल्दैन । लामो अस्थिरता र तीव्र राजनीतिक परिवर्तनपछि देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा परिणत भएको छ । यसबीचमा स्थानीय तह, प्रादेशिक र केन्द्रीय संसद र सरकार गठनका लागि निर्वाचन सम्पन्न भएका छन् ।

तिनै तहको निर्वाचनपश्चात् संविधान कार्यान्वयन हुने दिशामा देश अगाडि बढिरहेको छ । अबको आवश्यकता भनेको देशले आर्थिक समृद्धि हासिल गर्नु रहेको छ । हामी सबै नेपालीको विश्वास छ कि अब मुलुकले समृद्धिको यात्रातर्फ पाइला चाल्नेछ । हाम्रो देश अति निम्न आय वा निम्न विकसित देशबाट विकासोन्मुख हुँदै मध्यम आय गर्ने मुलुकसम्म चाँडै पुग्ने छ । तर यो बीचमा धेरै कुराहरू कहाँ कहाँ नमिले जस्तो, कता कता नपुगेको जस्तो भइरहेको आभास आम जनमानस र युवा पिंढीमा सिर्जित भइरहेको छ । अचारमा नुन नलागेको जस्तो अनुभूति यसबीचमा भइरहेको केही घटनाक्रमले देखाएको छ । संविधान जारी भएपछि सरकार परिवर्तन भयो ।

देशको राष्ट्रप्रमुख र उपप्रमुख पदहरू पनि परिवर्तन भए । फलस्वरूप देशले महिला राष्ट्रप्रमुख पायो । जनजाति र विद्रोहको नेतृत्व गरेका उपराष्ट्रपति पायो । जसको कारण आम नेपाली जनता र अन्तराष्ट्रिय समुदायमा नेपालले लामो राजनीतिक अस्थिरतापछि प्राप्त गरेको सफलताको चर्चा परिचर्चासँगै अति विशिष्ट उदाहरणको रूपमा यसलाई हेरियो । अन्तर्राष्ट्रिय जगतलाई यस घटनाले निकै ठूलो तरंगित बनायो । नेपालजस्तो अति कम विकसित मुलुकको यो राजनीतिक सफलता कैयौँ राष्ट्रहरूको लागि एउटा नमुना उदाहरण बनेर स्थापित भयो । यतिबेला फेरि करिब ३ बर्ष नपुग्दै राष्ट्रप्रमुख र उपप्रमुखको पद नवनिर्वाचित हुने कुराले बजार तातिरहेको छ । यही गरमागरम बहसको बीचमा आम नागरिकको चाहना र युवा पुस्तामा चलेको बहसले पंक्तिकारको पनि ध्यानाकृष्ट हुन पुग्यो ।

प्राकृतिक न्यायको सिद्धान्तले पनि करिब आधा आकाश ओगट्ने महिलाहरूबाट राष्ट्रप्रमुख हुनुपर्ने कुराको वकालत गर्दछ । यो भन्दै गर्दा पुरुष राष्ट्रप्रमुख हुनुहुँदैन भन्ने कुरा कदापि स्थापित गराउन खोजेको होइन । देशको कार्यकारी पदमा महिला होस वा पुरुष दुवैको समान हक रहने कुरा प्राकृतिक न्यायको सिद्धान्तले पक्षपोषण गर्दछ ।तर हालको अवस्थामा पुरुष कार्यकारी प्रमुखको पदमा भएकोले व्यवहारिक सिद्धान्तअनुरूप पनि आलंकारिक राष्ट्रप्रमुखको पदमा महिला भइदिए नेपालले प्राप्त गरेको राजनीतिक सफलतामाथिको अन्तर्राष्ट्रिय साखः निरन्तर हुने र अझ बढ्ने देखिन्छ । अब एकछिन कुरा गरौँ नवनिर्वाचित हुने राष्ट्रप्रमुख र उपप्रमुख पदका सम्भावी वा प्रत्यासीहरू, आकांक्षा वा काम । वाम गठबन्धनबाट अगाडी सारेका केही सम्भाव्य नेताहरूमा झलनाथ खनाल, वामदेव गौतमलगायतकाहरूको लामो सुची छ ।

पछिल्लो समयमा त माधवकुमार नेपाल र वामदेव गौतमले झलनाथ खनाललाई समर्थन र सहयोग गर्ने कुराले बजार तातेको छ । हामीजस्ता युवा पुस्तालाई के लाग्छ भने झलनाथ खनाल अति आदरणीय नेता हुनुहुन्छ, उहाँ पार्टीप्रमुख हुँदै देशको कार्यकारी प्रमुख भइसकेको नेता हुनुहुन्छ । अन्तर्राष्ट्रीय लोकतान्त्रिक मूल्यमान्यता र प्रचलित परिपाटीहरूमा पनि देशको कार्यकारी प्रमुख भइसकेको मान्छे राष्ट्रप्रमुख हुने व्यवस्था त छैन नै । देशको अति विशिष्ट पदहरू आलंकारिक राष्ट्रप्रमुख र कार्यकारी प्रमुख बीचका गम्भीर पदीय जिम्मेवारी र फरक विषयवस्तुहरू रहेका हुन्छन् । कतिपय विषयवस्तुहरू अति विशिष्ट र गोपनीय पनि हुन्छन्, जसले यी दुई पदहरूबीच एक अर्कोलाई थाहा नहुने गरी कार्य सम्पादन गर्नुपर्ने रहन्छ ।

यस्तो अवस्थामा देशको कार्यकारी प्रमुख भइसकेको मानिस राष्ट्रप्रमुख हुनु भनेको सरासर नैतिक धरातल बिर्सनु हो । चरम पद लोलुपता प्रकट गर्नु हो । त्यसैले आदरणीय नेता झलनाथ खनालले राष्ट्रप्रमुख वा उपप्रमुख पदको चाह राख्नु बाञ्छनीय हुँदैन । झलनाथ खनालले त वाम राजनीतिको संरक्षक भएर पो काम गर्नुपर्छ । उहाँलाई राष्ट्रप्रमुख बन्नुपर्छ भन्नेहरू उहाँका हितैषी पनि होइनन् । देशमा इतिहास बनाइसकेका एउटा असल नेतालाई विवादमा पार्दै सिंगो आधा आकाशविरोधी देखाउने धृष्टता हो । नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका एउटा अगुवा नेता, जो एमालेजस्तो विशाल पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसक्नुभएको छ ।

उहाँजस्तो नेता सिंगो कम्युनिस्ट आन्दोलनको अभिभावक हो । आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि वा मन्त्री नपाएको बहानामा केही धुपौरेहरूले आदरणीय नेता खनालको इतिहासमाथि कालो पोत्ने चेष्टा गरिरहेका छन् । यसप्रति उहाँ आफैँ सजक हुन जरुरी छ । कहिल्यै एमाले मिलेको हेर्न नचाहने र सदैव गुट बनाएर झुटको खेती गर्ने केहीको दवावमा झलनाथ खनालजस्तो नेता फस्नुहुन्न । आम युवा पुस्ताको यो सुझाव छ । अवस्य खनालजस्तो नेताले यसलाई बुझेर उपयुक्त निर्णय आफैँ सुनाउनुहुनेछ । संवैधानिक व्यवस्थाअनुरूप सामान्य अवस्थामा राष्ट्रप्रमुख र उपप्रमुखको अवधि पाँच वर्षको हुने गर्दछ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यअवधि भने आधा मात्रै पुगेको छ । संक्रमणकाललाई सहजरूपमा पार लगाउन उहाँहरूको भूमिका निकै सहज र समन्वयकारी रहेकोमा सबैले प्रशंसा गरिरहेका छन् । संविधानतः पाँच वर्ष रहने पदमा दुई वर्षअगाडि नै अवकाशमा हालेर भूतपूर्व बनाई अर्को चुनाव गरेर राज्यकोषको दोहन गर्नुभन्दा वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई नै निरन्तरता दिनु व्यहारिकरूपमा अति उत्तम देखिन्छ । प्राकृतिक न्यायको सिद्धान्त, अन्तर्राष्ट्रिय साखः, इज्जत र परिपाटी, राज्यको आन्तरिक शक्ति सन्तुलन, आर्थिक अवस्थाजस्ता कारणहरूले वर्तमान राष्ट्रप्रमुख र उपप्रमुखलाई चुनावबिनै यथावत कायम राख्दा धेरै कुरामा सन्तुलन मिल्न जान्छ ।

नागरिकको आवाज पनि यही छ । सबैभन्दा उत्तम विकल्प भनेको चुनाव नगरी अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई यथावत कायम गर्नु हो । यसका लागि प्राविधिक विषय मिलाउन जरुरी छ । त्यसो हुन सकेन भने पनि राष्ट्रप्रमुख र उपप्रमुखमा निरन्तरता अनिवार्य छ । यसो गर्दा संवैधानिक व्यवस्थाअनुरूप निस्कने कठिनाइहरू हुन सक्छन् । ती कठिनाइहरूलाई भने आवश्यक प्रक्रिया मिलाएर समाधान गर्नुपर्ने हुन्छ । त्यसैले त यो पंक्तिकार सदैव संविधानमा खोटहरू छन् भनेर निरन्तर लेखिरहन्छ ।

यी माथिका विषय पंक्तिकारले एक्लै कल्पना गरेर लेखेका कुरा होइनन् । हाम्रो देशको दशकौँको राजनीतिक अभ्यासबाट सिर्जना भएका राजनीतिक विकृति र विसंगतिको फलस्वरूप आम जनमानसमा चलिरहेका आकांक्षाका प्रतिनिधिमूलक आवाज हो । यसलाई सबै नेतागण र आकांक्षीहरूले मनन गर्नेछन् भन्ने विश्वास आम नागरिकको छ । देशका लागि पनि यही नै सबैभन्दा उत्तम विकल्प हो । यसतर्फ सोच्नका लागि युवापुस्ता र नेपाली नागरिकको तर्फबाट सुझाव दिन चाहन्छु ।

 

प्रतिक्रिया