मन्दिरा थापा ०७२ सालमा गएको महाभूकम्पले दिएको पीडा सबैका लागि बराबर रह्यो । त्यसले सबै वर्गलाई नै असर पारेको थियो । तर, सबैभन्दा बढी प्रभाव किशोरीहरूमा देखिएको थियो । त्यो असर हालसम्म पनि यथावत रूपमा रहेको पाइन्छ ।भूकम्पले घरबारविहीन भएकाहरू लामोसमय खुल्ला चौरमा त्यसपछि त्रिपालमा बिताए भने हाल अस्थायी टहरामा आफ्नो जीवन बिताइरहेका छन् । उनीहरूको दिनचर्या जसका कारण कष्टकर बनिरहेको छ । भूकम्पको प्रभावले खुल्ला, त्रिपाल र अस्थायी टहरामा बस्दा सबैभन्दा बढी असुरक्षित किशोरीहरूले महसुस गरेको तथ्यांक छ ।
अस्थायी टहरामा बस्दा एकै ठाउँमा बस्नुपर्दा, त्यसमा पनि रजस्वला भएको अवस्थामा आएका समस्याहरू अझ विकराल छ ।किशोर अवस्थामा आउने समस्याका बारेमा न त घर परिवारले नै बुझेका छन् न त विद्यालयले नै । घरमा त असहज परिस्थिति भोगिरहेका बालिकाहरू करिब सात घण्टा विद्यालयमा बिताउँदा त्यहाँ पनि परिस्थिति उस्तै छ । भूकम्पपछि भत्किएका विद्यालयमा न त छात्रामैत्री शौचालय छ न त पानीको व्यवस्थापन नै हुन सकेको छ ।भूकम्पपछि अस्थायी टहरामा पढ्दै आएका छात्राछात्र मध्ये सबैभन्दा बढी समस्या छात्राहरूलाई पर्ने गरेको छ ।
‘शौचालय एउटै प्रयोग गर्नुपर्ने बाध्यता सँगसँगै कतिपय विद्यालयका ढोकाहरू पनि ठीक अवस्थामा नभएकाले बाहिर अर्को साथी राखेर शौचालय जानुपर्ने बाध्यता छ,’ सुकाठोकरमा कक्षा १० मा अध्ययनरत एक किशोरीले भनिन् । छात्र÷छात्रामैत्री शौचालय नहुँदा सबैभन्दा बढी बालिकाहरू प्रभावित हुँदै आएका छन् । रजस्वला हुँदा भोग्नुपरेको पीडा त छँदै छ त्यसमा पनि एउटै शौचालय प्रयोग गर्दा आइपर्ने अप्ठ्यारामा पनि समस्याकै रूपमा देखिएको छ । महिनावारी भएका वेला छात्राहरू विद्यालय आउन् भन्ने उद्देश्यले विद्यालयमा नै सेनेटरी प्याडको व्यवस्था गरिए पनि त्यो दोलखाको अधिकांश विद्यालयले कार्यान्वयन गर्न सकेको छैन ।
दोलखा सदरमुकाम चरिकोटमा रहेका सामुदायिक विद्यालयदेखि दुर्गम स्थानमा रहेको विद्यालयले त्यो व्यवस्था कार्यान्वयन गर्न नसक्दा बालिकाहरू अझै रजस्वला हुँदा अध्यापनलाई निरन्तरता दिन सकेका छैनन् । भूकम्पपछि केही समय विद्यालयहरूले सेनेटरी प्याड दिने व्यवस्था गरे पनि हाल त्यो कार्यान्वयन हुन सकेको छैन । भूकम्पपछि दुई वर्ष जिल्ला स्वास्थ्य कार्यालयले विद्यालयहरूलाई सेनेटरी प्याड दिने व्यवस्था गरे पनि हाल त्यो व्यवस्था नभएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले बताए ।
शौचालय एउटै प्रयोग गर्नुपर्ने बाध्यता त छँदै छ भने अधिकांश विद्यालयहरूमा शौचालयमा पानीको समेत अभाव हुँदा रजस्वला भएका छात्राहरू विद्यालय आउन नै छोडने समस्या पनि बढिरहेको शिक्षकहरूले बताएका छन् । रजस्वला भएपछि साथीले जिस्काउने, घृणा गर्ने र अप्ठ्यारो महसुस हुँदा कक्षा कोठामा बस्न नसक्ने भएपछि घर फर्किने समस्या पनि बढ्दै गइरहेको छ । दोलखाका अस्थायी टहरामा अध्यापन हुँदै आएका विद्यालयहरूले छात्र÷छात्रामैत्री शौचालय निर्माणमा खासै ध्यान दिएको देखिँदैन । विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, महिनावारी भएको समयमा आवश्यक पर्ने प्याड विद्यालयमा नहुनु पनि समस्याको रूपमा देखिएको छ ।
शिक्षा नीतिमा विद्यालयमा बालमैत्री शिक्षा प्रदान गर्नुपर्ने भनेर स्पष्ट लेखिए पनि शौचालय निर्माण गर्दा भने त्यस्ता कुरामा ध्यान दिएको पाइँदैन ।दोलखा डाडार्खक मावीमा अध्ययनरत एक छात्राले गुनासे पोख्दै भनिन्, ‘विद्यालयमा शौचालय जस्तो त छ, खाल्डो बनाएर माथिबाट काठको टेक्ने बनाइएको छ, न पानी छ, न त सेनेडरी प्याड राख्ने भाँडा नै राखिएको छ ।’ टहरामा अध्यापन गर्नु बालबालिकाको दैनिकी नै बनेको छ । त्यसमा पनि शौचालयको राम्रो व्यवस्थापन हुन नसक्दा किशोरीहरू जंगल जानसमेत बाध्य बनेका छन् । रजस्वला भएका चार दिन कतिपय किशोरीहरू विद्यालय आउँदैनन् भने आए पनि बीचमा नै पढाइ छोडेर जाने गरेको शिक्षिकाहरूले बताएका छन् ।
भूकम्प गएको तीन वर्ष पुग्न लाग्दा पनि दोलखामा रहेका अधिकांश विद्यालयहरू न पुनर्निर्माण हुन सकेका छन् न त व्यवस्थित शौचालय नै निर्माण गरिएको पाइन्छ ।दोलखामा रहेका ३ सय ६६ विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । ती मध्ये हालसम्म ६३ वटा विद्यालय मात्र निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाको तथ्यांकमा उल्लेख छ । ०७२ साल वैशाखमा गएको भूकम्पले ३ हजार २ सय २५ वटा विद्यालय कोठा मध्ये २ हजार ५ सय २ वटा कोठामा पूर्ण रूपमा क्षति पु¥याएको थियो । दोलखामा आधारभूत तहदेखि उच्च माविसम्म ३८ हजार ४ सय ४२ जना बालबालिका अध्ययनरत रहेका र यसमा बालिकाहरूको संख्या धेरै रहेको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।
प्रतिक्रिया