धितोपत्र बजारमा महिला लगानीकर्ताको आकर्षण

-नरेन्द्रमान श्रेष्ठ   पछिल्लो समयमा धितोपत्र बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । कुनै पनि कम्पनीका प्राथमिक सेयर निष्कासन हुँदा आवेदन दिनेहरूको संख्या बढिरहेको छ । पछिल्लो समयमा प्राथमिक सेयर खरिदमा आवेदन दिनेहरूको संख्या दुई लाखभन्दा नाघ्ने गरेको छ । सेयर बजारमा महिला लगानीकर्ताको पनि आकर्षण बढिरहेको देखिन्छ । चाहे प्राथमिक बजारमा होस्, चाहे दोस्रो बजारमा होस्, चाहे लिलामीको सेयरमा होस्, महिलाको आकर्षण बढेको देखिन्छ । पछिल्लो समयमा सेयर ब्रोकर कम्पनीहरूमा महिला लगानीकर्ता पनि थु्रपै देखिन थालेका छन् ।

अधिकांश सेयर ब्रोकरका कार्यालयमा सेयर कारोबारको लागि थुप्रै महिला आउने गरेका छन् । धेरैजसो सेयर ब्रोकरकहाँ महिलाको भिडभाड नै देखिन्छ ।  पुँजीबजार अर्थात् सेयर बजारमा महिलाको आकर्षण रहनु रोचक पक्ष हो । प्राथमिक सेयर बजारमा होस् वा दोस्रो बजारमा होस्, महिलाको संलग्नता दिनानुदिन बढिरहेको छ ।  विगतमा सेयर बजारमा सेयर कारोबारमा महिलाको त्यति सहभागिता नदेखिएको भए पनि पछिल्लो समयमा भने किन देखियो ? सबैका लागि चासोको विषय बनेको छ । पछिल्लो समयमा देशका हरेक क्षेत्रमा महिलाको संलग्नता बढिरहको छ । त्यसैले सेयर बजारमा पनि बढ्नुलाई अस्वाभाविक रूपमा लिनुपर्दैन ।

देशका संवैधानिक पदहरू राष्ट्रपति, सभामुख प्रधानन्यायाधीशदेखि संघसंस्था कम्पनीहरूमा महिलाको संलग्नता बढिरहेको छ । त्यसैगरी स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमखमध्ये एक जना महिला उम्मेदवार उठाउन पर्ने व्यवस्थासमेत गरिएको छ । महिलाको संलग्नता तथा आकर्षणले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । सेयर बजारमा महिलाको सहभागिताले सेयर बजारको दायरा फराकिलो बनाउने देखिन्छ । पछिल्लो समयमा सेयर कारोबारमा मात्र नभएर सेयर बजारसँग सम्बन्धित क्षेत्रहरूमा चाहे सेयर ब्रोकरकोमा होस्, चाहे आरटिएसको कार्यालयमा होस्, थुप्रै महिलाको संलग्नता पाइन्छ ।

पछिल्लो समयमा त विभिन्न कम्पनीले गर्ने वार्षिक साधारणसभाहरूमा पनि महिलाको सहभागिता उल्लेख्य रूपमा हुने गरेको छ ।  सेयर बजार तथा कारोबारमा महिलाको संलग्नताको चर्चा गर्नुपर्दा धेरैजसो गृहिणीहरूको संलग्नता देखिन्छ । हुन त सेयर बजारमा सबै वर्ग, तहका महिलाको संलग्नता देखिन्छ । तर, पनि कामकाजी महिलाभन्दा गृहिणीको बढी सहभागिता देखिन्छ । सेयर कारोबारमा जागिर खाएजस्तै नियमित १० बजेदेखि ५ बजेसम्म बस्नुनपर्ने र ११ बजेदेखि ३ बजेभित्रमा आफूलाई पायक पर्ने समयमा मात्र गए पनि हुने, सेयर दलालको कार्यालयमा जान नभ्याएमा घरमा बसी टेलिफोनबाट पनि कारोबार गर्न सकिने भएकोले ययसमा धेरैजसो महिलाको सहभागिता बढेको पाइन्छ ।

सेयर कारोबार गर्दा यसको लागि विशेष योग्यताको पनि आवश्यकता नपर्ने र सामान्य योग्यता भएकाले पनि गर्न सक्ने भएकोले पनि सेयर कारोबारमा महिलाको संलग्नता देखिएको हो भन्दा पनि फरक नपर्ला ।  सेयर बजारमा संलग्न हँुदा आफ्नो फुर्सदको पनि सदुपयोग हुने र केही आम्दानी पनि गर्न सकिने भएकोले र बाहिरी ज्ञान पनि हासिल गर्न सकिने भएकोले गृहिणीहरूको संलग्नता देखिने गरेको हो । सेयर बजारमा सबै वर्ग तहका महिलाको संलग्नता देखिन्छ । सुरुमा सेयर बजारमा लगानी गर्नको लागि लाखौँ रुपैयाँ चाहिन्छ भन्ने पनि छैन दोस्रो बजारमा नै भए पनि कम मूल्यका राम्रा कम्पनीहरूको सय दुई सय कित्ता सेयर खरिद गरेर पनि सेयर बजारमा प्रवेश गर्न सकिने भएकोले पनि सेयर कारोबारमा महिलाको सहभागिता बढिरहेको छन् ।

त्यसो त कतिपय सेयर दालालले नयाँ लगानीकर्तालाई महत्व नदिने गरेको पनि कतिपयको गुनासो छ । सेयर दालालहरूले साना लगानी गर्ने र नयाँ, महिलालाई प्राथमिकता दिनुपर्दछ । यिनीहरूले सेयर बजारको दायरा बढाउने गर्दछन् । सेयर बजारमा पछिल्लो समयमा लगानीकर्ताको आकर्षण देखिए पनि दोस्रो बजारमा लगानी गर्दा यसमा जोखम भने हुने गर्दछ । कतिपय नयाँ लगानीकर्तामा सेयर बजारमा लगानी गर्दा फाइदा मात्र हुनेछ भन्ने सोच पनि रहेको पाइन्छ । सेयर बजारमा लगानी गर्दा सधैँ फाइदा मात्र हने होइन, यसमा जोखिम पनि हुने गर्छ । सेयर बजार भनेको सधैँ उकालो मात्र लाग्ने गर्दैन, आरालो पनि लाग्ने गर्दछ ।

उकालो र ओरालो लाग्ने सेयर बजारको विशेषता पनि हो सेयर बजारबाट लगानीकर्ताले सधैँ नाफा मात्र लिने गर्दैैन, कहिलेकाहीँ घाटा पनि बेहोर्नुपर्ने हुन्छ । यसमा पनि ध्यान दिनुपर्ने हुन्छ । चाहे महिला होस् वा पुरुष, सेयर बजारमा प्रवेश गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ । सेयर बजारलाई विभिन्न कारणले प्रभाव पार्ने गरेका हुन्छन् । कहिले राजनीतिक कारणले, कहिले हल्लाको कारणले कहिले ठूलाबडा लगानीकर्ताको चलखेलको कारणले सेयर बजारमा प्रभाव पार्ने गरेका हुन्छन् । भनिन्छ, सेयर बजारलाई हल्लाले हल्लाउने गरिन्छ । यसकारण सेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताले अरूको लहलहैमा हल्लाको पछि लागेर अरूले सेयरबाट कमाएको देखेर मात्र सेयरमा लगानी गर्नु उपयुक्त हुँदैन ।

बजारलाई बुझेर, बजारबारे अध्ययन गरेर मात्र सेयरमा लगानी गर्नुपर्दछ । सेयर कारोबारमा उतारचढाब भइरहन्छ । यसबाट आत्तिन नहुने र सेयरमा लगानी गर्दा राम्रा कम्पनीहरूमा दीर्घकालका लागि लगानी गर्नुपर्दछ । सेयर बजारमा नेप्से घट्ने बढ्ने भइरहन्छ, सेयर बजार ओरालो लाग्यो भन्दैमा, नेप्से घट्यो भन्दैमा आत्तिनुपर्ने हुँदैन । सेयर बजार सधैँ घटिरहने वा सधैँ बढिरहने मात्र हुँदैन । सेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताको लागि सुरुमा दोस्रो बजारमा भन्दा पनि प्राथमिक बजारमा र म्युचुअल फन्डमा लगानी गरे राम्रो हुन्छ । प्राथमिक बजार भनेको सेयर बजारमा लगानी गर्ने सिँढीजस्तै हो ।

यसमा जोखिम कम हुन्छ । सेयरबजारमा प्रवेश गर्न चाहने महिलाले पहिले सेयर बजारमा कारोबार हुने तरिकासम्बन्धी जानकारी लिनुपर्छ । सूचनाहरू संकलन गर्ने, आफूले खरिद गर्न लागेको कम्पनीबारे तथ्यांकहरू संकलन गर्ने गरेर मात्र सेयरमा लगानी गर्नुपर्दछ । कतिपय अवस्थामा लगानीकर्तामा धैर्य पनि हुनपर्छ । लगानीकर्तामा होल्ड गर्न सक्ने क्षमता पनि हुनुपर्दछ । सेयरमा लगानी गर्दा आजको भोलि फाइदा हुने पक्कै होइन । सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताले अल्पकालका लागि नभई दीर्घकालका लागि लगानी गर्नुपर्दछ ।

प्रतिक्रिया