डा. अतीन्द्र दाहाल
संघीय संसद्को निर्वाचन सम्पन्न भएपछि लगातार चर्चामा रहेका र भविष्यका प्रधानमन्त्रीका रूपमा हेरिएका ओली यो हप्ता पनि चर्चाको शिखरमा रहे । भारतीय विदेशमन्त्री स्वराजको भ्रमण अनी उनले ओलीलाई दिएको विशेष आतिथ्यले हिजोको ओली भावनालाई भारतले पनि स्वीकारेको देखियो । उनले सम्बन्धमा सुधार गर्न चाहेको खुलेरै बताइन् । सरकार गठन हुन लाग्दा यहाँका नेता दिल्ली जाने प्रचलनको परावर्तन भयो । राष्ट्रिय सभाको निर्माणपछि ओलीको नेतृत्वमा सरकार बन्दै छ ।
सरकारले उनलाई प्रधानमन्त्री सरह नै सुविधा तथा सुरक्षा प्रदान गर्दै आएको छ । यद्यपि बहिर्गमन हुनै लागेका प्रधानमन्त्रीले उनको आगामी सरकारलाई असहजता हुनेगरी विभिन्न निर्णयहरू गर्दै छन् । त्यसलाई सन्तुलित हिसाबले अगाडि बढाउनु पनि उनको नयाँ जिम्मेवारी हो । परिवर्तित राजनीतिको मियोको रूपमा रहेका उनीमाथि विशाल दुई अपेक्षाहरू छन्, पहिलो वाम गठबन्धन टिकाएर देशलाई राजनीतिक स्थायित्व दिने अनि देशलाई समृद्घिमा हिँडाउने । यिनै उनका चुनावी घोषणा थिए र आगामी जिम्मेवारीसमेत हुन् ।
स्थायीत्व, एक आवश्यकता
राजनीतिक स्थायीत्व नभएका देशमा नागरिकले चाहेको प्रगति सम्भव हुँदैन । ली क्वानले लगातार ३१ वर्ष सिंगापुरमा शासन गरे । महाथिर विन मोहोम्मदले २२ वर्ष मलेसियालाई नेतृत्व दिए । अमेरिकामा ४ हजार ४ सय २२ दिन राष्ट्रपति भएका रुजभेल्टले आर्थिक–सामाजिक रूपान्तरणको बृहत् सफलता सम्भव गराए । बेलायतमा पुरानो प्रकारको राज्य व्यवस्थामा रोर्बट वालपोल १७औँ शताव्दीतिर २० वर्ष ३ सय १४ दिन प्रधानमन्त्री बने ।
आधुनिक राजनीतिमा सबैभन्दा बढी सुधारात्मक र रचनात्मक कार्यगर्ने मारग्यारेट थ्याचर ११ वर्ष २ सय ९ दिन प्रधानमन्त्री बनिन् । भारतमा मनमोहन सिंह १० वर्ष कार्यकारी प्रधानमन्त्री पदमा रहे । चीनमा वर्तमान राष्ट्रपति सी जीन पिङको नेतृत्व अविछिन्न चल्दै छ । तसर्थ, उनीहरूसँग आप्mना कार्यक्रम लागूगर्न र नागरिकलाई परिवर्तन महसुस गराउन प्रशस्त मौका थियो र छ ।
तर, हामी कहाँ गएको ६ दशक औषतमा वर्षको एउटा सरकार परिवर्तन भयो । परिणामः भ्रस्टाचार, घुसखोरी, कमिसनतन्त्र मौलायो । कर्मचारीतन्त्रमा जवाफहीनता घट्यो । विकास निर्माणका योजनाहरूमा व्यापक गिरावट आयो । धनवाद र डनवादको आतंक चल्यो । आर्थिक गतिविधि र लगानीमा नकारात्मक असरहरू परे । व्यपार घाटा विशाल अनि निराशा उच्च बन्दै गयो । बेरोजगारी बढ्दो रह्यो । प्रगति सुस्त र पीडाचाहिँ दुरुस्त बने । इतिहासमा निकै सुखद् र सम्मानित हैसियत भएको देश मागेर खाने अवस्थामा रूपान्तरित भयो ।
तर, अब परिस्थिति बदलिएको छ, नागरिकमा सर्वपक्षीय उन्नयनहरूको उभारको प्रतिक्षा जाग्दैछ । स्थायीत्वसँगै नयाँ र सुनौलो विरासत निर्माण हुने आशा छ । यो निर्वाचनले नागरिकहरूलाई निकै परिपक्व भएको देखायो । विगतमा राजनीतिक अस्थिरताले विकासका विशाल सम्भावनाहरूलाई निर्मम समाप्त ग¥यो । कतिपय सवालमा नेतृत्वमा दृढईच्छा नभएको अथवा ईच्छा भए पनि कार्यसम्पादन कौशलताको कमी थियो होला । तर, राम्रो कामगर्ने चाहाना एवं क्षमता बावजुत धेरै सरकारहरूसँग ज्यादै थोरै मात्र समय थियो ।
राम्रा कामगर्ने इच्छा अनि सोचसँगै नेतृत्वसँग समयसमेत हुनुपर्छ भन्ने मान्यता नागरिकले बुझेको देखियो । त्यसैले स्थायी सरकार भन्ने समूहलाई देशव्यापी अपार मतसँगै सहज बहुमत प्राप्त भयो । साच्चै नागरिक सुख र समृद्घिको लागि काम गर्ने भए ओली नेतृत्वको वाम गठबन्धनको सरकारले पाँच वर्षीय पूर्ण कार्यकालको समय पाउने देखिँदै छ । स्थायीत्वसहितको आगामी सरकार बनेपछि समृद्घिको पहिलोे अनिवार्य आवस्यकता समेत हो ।
समृद्घिको अपेक्षा
नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित देउवा एकाएक शक्ति केन्द्रको रूपमा उदाए र देशको पछिल्लो प्रधानमन्त्रीसमेत बने । यद्यपि उनको कार्यकालमा प्रशंसा गर्ने भन्दा पटाक्षेप गर्नुपर्ने धेरै कामहरू भए । यो उनको मात्रै नभएर सिंगै कांग्रेस पार्टीकै एक परिचय हो । नेपाली कांगे्रसले पटकपटक सत्ता सञ्चालन गर्ने जिम्मेवारी पायोे । केही सामन्य बर्हिगमनबाहेक बहुदलीय व्यवस्थाको पुनःस्थापनादेखि उसले नै निरन्तर देशको सत्ता अनि शासनको बागडोर सम्हाल्यो । दुर्भाग्य, यही अवधिमा देशको अधोगति अधिक र निरन्तर असमानान्तर भएसँगै उदारणीकरणको नाममा देश भिखारी बन्यो ।
तर, यही समय विश्वका अन्य कतिपय देशहरूले आर्थिक, सामाजिक, सांस्कृतिक विकासका नयाँ तथा आश्र्चयजनक आयमहरू निर्माण गरे । छिमेकी भारत र चीन उदीयमान अर्थतन्त्र तथा सामरिक शक्तिका अगुवा भए । थाइल्यान्ड, भियतनाम, ताइवान, मलेसियाजस्ता छिमेकीहरूले गरेको आर्थिक प्रगतिलाई ‘टाइगर इकोनोमी’ को संज्ञा दिन थालियो । विगत २५ वर्षमा थाइल्यान्डसँग नेपालको मुद्रा विनिमय दर लगभग २० गुनाले कमजोर भइसकेको छ । करिब ५० वर्ष पहिले नेपालभन्दा कमजोर अर्थतन्त्र भएको दक्षिण कोरिया आज ५० हजार अमेरिकी डलरकै हाराहारी प्रतिव्यक्ति आय हुने देशमा गनिन्छ । स्थापनाको ४० वर्षको हाराहारीमा सिंगापुरमा ८२ हजार डलरको प्रतिव्यक्ति आय छ । हामी सन २०२० सम्ममा कसरी अल्पविकसित देशको स्तरबाट माथि जाने अथवा हजार डलरको आयस्तर कायम गराउने भन्ने वहसमा छौँ ।
देशको निर्माण तथा सशक्तीकरणमा नागरिकदेखि नेतृत्वसम्म सबैको समानुपातिक योगदान हुन्छ । गैरराजनीतिक अनि तटस्थ रूपमा रहनुपर्ने राज्यका सार्वजनिक निकायहरूको समेत भूमिका हुन्छ । तैपनि यी सबैको अगुवा भनेकोचाहिँ जननिर्वाचित सरकार हो । त्यो सरकार निर्माण र नेतृत्व गर्ने सबैभन्दा धेरै र लामो समय अवसर प्राप्त गरेकाले देश बिग्रनुमा धेरै जिम्मेवारी पनि स्वतः कांगे्रसले नै बोक्नुपर्छ ।
१५ सालको चुनावमा दुईतिहाइ बहुमत अनि बहुदलीय व्यवस्थाको समयमा दुई पटकसम्म स्पस्ट बहुमत प्राप्त कांग्रेस आज लज्जास्पद पराजयसहित दोस्रोे दलमा सीमित हुँदै छ । तुलनात्मक रूपमा खस्कँदो छ । यद्यपि, अहिलेसम्म आपूm सक्षम भएर नभई, अरूको आन्तरिक कलह धेरै भएर कांग्रेसले मौका पाएको थियो । एउटै सिद्घान्त तथा नेता मान्ने कम्युनिष्टहरू देश एवं नागरिक श्रीवृद्घिको मिसनमा कम र फुट अनि विभाजनको फेसनमा बढी लालयित हुँदा कांग्रेससँग आपूmलाई अरूभन्दा सवल देखाउने मौका थियो । अब वाम गठबन्धन बनेपछि त्यो सम्भावना जीर्ण हँुदै छ ।
अहिले विश्व राजनीतिको प्रवाह पनि साम्यवादी र कम्युनिस्टभन्दा पँुजीवादी शक्तिमाथि बढी ढल्केको छ । सन १९७० तिरको दशकमा ४० हाराहारीको देशमा विद्यमान कम्युनिजम आज पाँच राष्ट्रमा खुम्चिनुपरेको छ । वुद्घिजीवी र लेखकहरूको समूहसमेत कम्युनिजमको सिद्घान्त र दलहरूप्रति निकै गहन कटाक्ष गर्छन् अनि उष्ण उछितो काढ्छन् । जर्ज ओरेलको ‘एनिमल फार्म’ नामक कृतिलाई कम्युनिजममाथिको सभ्य र भव्य कटाक्ष मानिन्छ । वर्तमान अमेरिकन राजनीतिमा रिपब्लिकनलाई गाली गर्न जियोफ्री क्यावासर्भिसको ‘रुल एन्ड रुइन’, माइक लोफग्रिनको ‘पार्टी इज ओभर’ देखि क्रिस मुनीको ‘द रिपब्लिकन ब्रेन’ जस्ता पुस्तकहरूको बिगबिगीले संसारभर कब्जा जमाएको छ ।
ती सबै पूर्वाग्रही बहसको उदेश्य अमेरिकालगायत संसारबाट कम्युनिस्ट भावना र सिद्घान्तमा आधारित शक्तिलाई क्षय गर्दै पुँजीवादी शक्तिको वकालत गर्नेहरूको संरक्षण गर्नु हो । यस आधारमा, कांग्रेसलाई देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय माहोल पनि उसकोे पक्षमा थियो । अब चिनियाँ सुसंस्कृत समाजवादका कारण उक्त विश्व मान्यतासमेत बदलिँदै छ ।
यस्तो अन्तर्राष्ट्रिय दबदबा र नेपालका कम्युनिस्टहरूको फाटो हुँदासमेत देशको समृद्धिलाई गति दिन नसकेका कारण कांग्रेसलाई नागरिकले रुचाएनन् । पुरानोको विघटनसँगै नयाँ निर्माणको अर्थ लगाउन मिल्ने गरी फ्रान्सेली चिन्तक ज्याक्विस डेरिडाले ‘डिकन्स्ट्रक्सन’ भन्ने शब्द प्रयोगमा ल्याए । यसको नेपाली अनुवाद विनिर्माणको यथार्थसँग मिल्ने गरी नागरिकले वाम गठबन्धनलाई सहज बहुमत दिए । तसर्थ, ओलीको नेतृत्व नयाँ नीति र प्रायोगिक कार्यक्रम लिएर आउनुपर्छ । पाँच वर्षभित्रै देशको सकारात्मक रूपान्तरणको लागि ठोस कदम लिनुपर्छ ।
ओली सबैका लागि उदाहरण बन्नुपर्छ । नागरिकका समग्र जीवनस्तर अभिवृद्धिका लागि आधुनिक र वैज्ञानिक अवधारणा ल्याउन सक्नुपर्छ । जनतालाई उनीमाथि आश जगाउन सक्नुपर्छ । ठूलो पार्टीको कदम पनि ठूलै हुनुपर्छ । देशको विकासका लागि नयाँ नीति निर्माण, वैदेशिक सम्बन्धको पुनव्र्याख्या अनि देशका जल्दाबल्दा समस्याको उपचार गर्ने सवालमा गहन कार्र्यनीति ल्याउनुपर्छ । देशको समग्र विकासमा नेतृत्वदायी र कुशल भूमिका निर्वाह गर्ने तत्परता देखाउनुपर्छ ।
राजनीतिको कालखण्डमा कहिलेकाहीँ दलहरू खराब अनि नेतृत्व नालायक पनि हुनसक्छ । तर, देशको विकास र समृद्घिमा दलीय व्यवस्था अनि राजनीतिक नेतृत्वको अगुवाईको विकल्प खोज्न सकिँदैन र मिल्दैन । खराब दलको सट्टा राम्रा दल र खराब नेताको सट्टा राम्रा नेताको विकास नै एउटै मात्र विकल्प हो । नेतृत्व राम्रो, नैतिक अनि नागरिक केन्द्रित भए दलमाथिको नागरिक श्रद्धा भने पुनर्जागरण हुन्छ । नरेन्द्र मोदीको कारण भारतमा भारतीय जनता पार्टीले पाएको मत, टोनी ब्लेयरको व्यक्तित्वका कारण बेलायतमा लेबर पार्टीले पाएको समर्थन, रुजभेल्टको आर्थिक तथा सामाजिक परिवर्तनको सोचका कारण अमेरिकामा डेमोक्र्याटले पाएको उचाइ अनि सुकीको दलमाथि म्यानमारका नागरिकको अपार समर्थन यसका ज्वलन्त उदाहरण हुन् । ओली यसैक्रमको नेपाल संस्करणीय उदाहरण हुन् ।
तसर्थ नागरिकको आशा पनि यही हो कि एमाले ठूलो दल भएका कारण ओलीले नेपालको दलीय राजनीतिक परम्परामा ठूलै परिवर्तन र नजिर स्थापित गरुन् । जनताका लागि राजनीति गर्ने मान्यता तथा व्यवहार निर्माण गर्न ठूलै अनि आम अन्यलाई अनुकरणीय भूमिका प्रदर्शन गर्न सकून् । सबल देश निर्माणमा उनको नवीन सोच र परिवर्तनकामी कदम नै ओलीको दाउ बनोस् । पात्रो पल्टिएको छ, ओलीले पद्घति पनि पल्टाउन सकुन् । नागरिक एकतामा जोड दिउन् । आधुनिकतामा अपनत्वको प्राथमिकता र प्रभाव देखाउन् । मौलिक आधुनिकता र विकासको प्रवद्र्धन गर्दै त्यसैमा गौरवान्वित बनुन् ।
पूर्वाधारसाथै संस्कृतिको व्यापक विस्तार गर्दै नागरिक सोच, स्वभावसमेत बदल्न सकुन् । आन्तरिक रूपमा सक्षम अनि बाह्य हिसाबले सम्मानित देश बनाउन् । आर्थिक हिसाबले सम्पन्न अनि सामाजिक हिसाबले समुन्नत, सांस्कृतिक हिसाबले समन्वयित, व्यावहरिक हिसाबले अनुकरणीय, प्रगतिका हिसाबले सकरात्मक समृद्धि र विकासका उच्चतम पर्याय हुन् । यी पक्षमा अनुकरणीय सफलता लिन सकुन् । बिग्रिएको विरासतको बिनिर्माण गरुन् । स्वाभिमानको नारा दिएका ओलीलाई नागरिकले मत त दिए अब उनले त्यो स्वाभिमान निर्माण सकुन् । समय अनुकूल हँुदै छ, सोच र क्षमता देखाउन सकुन् ।
प्रतिक्रिया