पार्टी एकताका लागि बुझ्नैपर्ने यथार्थ

-ठाकुर गैरे   यतिवेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता सबैभन्दा बढी बहस, चर्चा र चासोको विषय बनेको छ । यो विषय एमाले, माओवादीका नेता कार्यकर्ता र सदस्यहरूबीच मात्र होइन, सबैखाले समुदाय र मान्छेका बीच पनि चासोको विषय बनेको छ । दुई पार्टी एकताको विषय नेपालका अन्य राजनीतिक दलहरूबीच पनि उत्तिकै चासो र महत्वको विषय बनेको छ ।

नेपालभित्र राजनीतिक दलमा आबद्ध नभएका नागरिक समाज, सञ्चार जगत् र सर्वसाधारणलाई समेत एकताको विषय कसरी अगाडि बढ्छ ?  यसले सार्थक परिणाम पाउँछ कि पाउँदैन ? एकतापछि यो साँच्चै कम्युनिस्ट पार्टी रहन्छन् कि रहँदैन ? यसका सैद्धान्तिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त र कार्यक्रम के होला ? नेपालका सबै कम्युनिस्ट पार्टीलाई समेटेर एउटै कम्युनिस्ट पार्टीका रूपमा रूपान्तरण गर्नेे जनअपेक्षा पूरा होला कि नहोला भन्नेसमेत जिज्ञासा, चासो र सरोकार बनेको छ ।

यी दुई पार्टीबीच एकताको चर्चा नेपालको भूगोगभित्र मात्र सीमित छैन । छिमेकी मुलुक भारत र चीनको समेत ध्यानाकर्षणको विषय बनेको छ । यो विषयमा चीन मौन रहेको छ भने भारतमा यसको खुला बहस भएको छ । यसका साथै विश्वमा कम्युनिस्ट पार्टीहरू क्रमशः समाप्त भइरहेको अवस्थामा नेपालमा कम्युनिस्ट पार्टीहरूको एकता र जनताका बीचमा भएको लोकप्रियतालाई पनि उनीहरूले हेरिरहेका छन् ।यस्तो अवस्थामा नेपालका कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर एउटै पार्टी बनाउँदै छन् भन्ने विषय स्वाभाविक रूपमा आकर्षण बन्ने कुरालाई आश्चर्य मान्न सकिँदैन । संसारभरि यस विषयमा विभिन्न रूपमा ध्यानाकर्षण भएकै छ ।

एकातिर यो अवस्था छ भने अर्कोतर्फ पार्टीभित्र र माओवादी केन्द्रले भन्ने गरेको एक्काइसौँ शताब्दीको जनवाद र उसको सशस्त्र विद्रोहको इतिहासलाई पनि हेरिनुपर्छ । त्यो पनि पुरानो होइन, ताजा इतिहास छ । त्यस्तै नेकपा एमालेको पुरानो सशस्त्र विद्रोहको इतिहास र पछिल्लो संसदीय मोर्चामा प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर समाज रूपान्तरणको प्रक्रियाबाट आन्दोलनलाई विकसित गर्ने जनताको बहुदलीय जनवादको बाटो । यी दुई एकीकृत कसरी हुन्छन् र यसको मार्गदर्शक सिद्धान्त के हुन्छ ? माक्र्सवादलाई हिजोको सशस्त्र विद्रोहको कोणबाट विश्लेषण गर्ने वा प्रतिस्पर्धाका रूपमा लोकतान्त्रिक कोणबाट विश्लेषण गर्ने ? यस्ता विषयमा एकता गर्दा के कुरामा ध्यान दिन्छौँ भन्ने महत्वको विषय छ ।

यस्तै, यसभित्र एमालेको नवौँ महाधिवेशन र माओवादीको हेटौँटामा सम्पन्न महाधिवेशनबाट पारित भएका समाजलाई हेर्ने दृष्टिकोण पनि छन् । दुवै पार्टीले समाजको चरित्र बदलिएर सामन्तवादी समाज अन्त्य भई नेपालमा आधारभूत रूपमा पुँजीवादी समाज विकसित भएको विषयमा दुवै पार्टीको साझा सहमति छ । त्यसकारण अन्तरविरोध बदलिएको विषयमा दुवै पार्टीमा सहमति छ । बदलिएको अन्तरविरोधलाई कसरी सूत्रबद्ध गर्ने ? आज नेपाली जनताको प्रधान अन्तरविरोध कोसँग छ ? त्यससँगको प्रतिस्पर्धा कसरी गर्ने ? भन्ने विषयमा स्पष्ट व्याख्याको खाँचो छ । एकताको प्रयासमा अहिले यही विषयलाई समाधान गर्ने र स्पष्ट पार्ने गृहकार्य भइरहेका छन् ।

हामीले न्यायसहितको आर्थिक समाजिक रूपान्तरणको प्रक्रिया, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, भौगोगिक अखण्डता र स्वाभिमानको पाटोलाई नेपालमा विद्यमान जातीय, सामाजिक, धार्मिक, वर्गीयलगायत विभेद र असमानतालाई अन्त्य गर्ने र समाजवादका आर्थिक आधार तयार गर्ने बाटोलाई कसरी सूत्रबद्ध र सहजीकरण गछौँ ? त्यसैको अधारमा कार्यदिशा र कार्यभार बनाउनुपर्छ । यसमा नेतृत्व बढी गम्भीर हुनु आवश्यक छ । पार्टी एकता गरिरहँदा भुल्न नहुने महत्वपूर्ण पाटो के पनि हो भने विशाल कार्यकर्ता रहेको नेकपा एमाले र उत्तिकै संख्यामा कार्यकर्ता रहेको माओवादी केन्द्रलाई सैद्धान्तिक, वैचारिक, आधारमा संगठित गर्ने संगठनात्मक पद्धति के हुन्छ ? यो विषय पनि उत्तिकै महत्वको विषय छ । यति हुँदाहुँदै पनि आजको दिनमा सबैभन्दा बढी चर्चा आगामी कार्यदिशा र कार्यभार के हुन्छ ?

र, समाजको आर्थिक समाजिक रूपान्तरणको कामलाई कसरी अगाडि बढाउँछौँ भन्ने भन्दा पार्टी एकतापछि पार्टीको अध्यक्ष को हुन्छ ? नेतृत्व कसले लिन्छ ? भन्ने विषय बढी चासो र सरोकारको बनेको छ । कसको नेतृत्व भन्ने विषय पार्टीभित्र र बाहिर उत्तिकै चर्चाको विषय बनेको छ । पार्टी कार्यकर्ताको व्यवस्थापन कसरी हुन्छ ? कार्यविभाजन कसरी गर्छौं ? यसको संगठनात्मक ढाँचालाई कसरी लैजान्छौँ ? एकअर्कोको मूल्यांकनको प्रक्रिया र विधि के हुन्छ ? नयाँ बन्ने पार्टीभित्र कार्यकर्तालाई कसरी न्याय दिइन्छ ? आमजनतालाई न्याय दिन सक्ने पार्टी बन्छ कि बन्दैन ? भन्ने कुरामा जति बहस हुनुपर्ने हो, त्योभन्दा बढी अबको प्रधानमन्त्री को हुन्छ ?

अबको पार्टी अध्यक्ष को बन्छ ? माओवादी केन्द्रका अध्यक्ष अबको अध्यक्ष हुन मिल्छ कि मिल्दैन ? वा एमालेको अध्यक्ष पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै हुन मिल्छ कि मिल्दैन भन्ने विषयले बढी प्रथमिकता पाएको छ । यो अनुचित बहस हो । यसले एकतामा फाइदा पुग्दैन, घाटा नै हुन्छ । मुलुकका लागि त झनै प्रत्युत्पादक बन्छ । एकताको प्रक्रिया बढेर गएको अवस्थामा निकट भविष्यमा नेकपा एमाले सम्पूर्ण ढंगले औपचारिक रूपमा समापन हुँदै छ । यस्तै, माओवादी केन्द्र पनि औपचारिक रूपमा समापन हुँदै छ । यी दुवै पार्टीको निरन्तरता र अस्तित्वलाई औपचारिक रूपमा समाप्त गरेर दुवै पार्टीमा आबद्ध नेता, कार्यकर्तालाई नयाँ पार्टीमा संगठित र रूपान्तरित गर्ने हो ।

केही समयपछि एमाले र माओवादी दुवै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरू नयाँ पार्टीका सदस्य हुने र नयाँ बन्ने पार्टीमा सबै सदस्य हुनेछन् । ती सदस्य सार्वभौमिकता स्थापित गर्ने र उनीहरूको निर्णयबाट नयाँ नेतृत्व निर्माण हुने कुरालाई आत्मसात गर्ने तरिकाबाट सोच्दा अबको अध्यक्ष को हुन्छ ? भन्ने कुरामा बढी चिन्ता लिनुपर्ने विषय होइन । त्यतिवेला न एमालेको नेता अध्यक्ष हुन्छ, न माओवादीको नेता अध्यक्ष बन्छन् । एकतापछि जे नामको पार्टी बनाउँछौँ, त्यो नामको पार्टीमा त्यो वैचारिक धरातलमा उभिएका नेता सदस्यहरूमध्येबाट अध्यक्ष बन्छ भन्ने कुरालाई बुझाउन नसक्दा आज दुई पार्टीबीच यो विषयले असमझदारी पैदा हुने, त्यो विषयमा बढी बहस हुने परिस्थितिको निर्माण भएको छ ।

त्यसैले, हामीले दुवै पार्टीको आजसम्मको जीवन औपचारिक रूपमा समाप्त हुँदै छ, यिनीहरू नयाँ पार्टीमा स्थापित हुँदै छन् भन्ने र नयाँ पार्टीको सदस्य बन्दै छन् भन्ने विषय आमकार्यकर्तालाई बुझाउनु आवश्यक छ । त्यो काममा हामी पछि परेका छौँ । आज एमालेमा आबद्ध कार्यकर्ताले आफू संगठित भएको पार्टीको अध्यक्ष नै अध्यक्ष चाहियो भन्ने प्रस्तुतीकरण गर्ने काम भएकोे छ । त्यस्तै, माओवादीमा आबद्ध कार्यकर्ताले आफू आबद्ध पार्टीको अध्यक्ष नै भोलिको पार्टी अध्यक्ष चाहियो भन्ने कुराको प्रस्तुतीकरण गर्ने काम भएको छ । यस्ता कुरा गरिरह्यौँ भने हामी ठीक ठाउँमा पुग्न सक्दैनौँ ।

त्यसैले, हामीले दुवै पार्टी समाप्त भएर नयाँ पार्टी निर्माण हुँदै छ र हामी त्यो नयाँ पार्टीको सदस्य बन्दै छौँ, त्यो नयाँ पार्टीमा आबद्ध सदस्य र नेतामध्येबाट अध्यक्ष बन्छ भन्ने कुरालाई जब बुझ्छौँ, त्यतिवेला केपी ओली अध्यक्ष भए पनि प्रचण्ड अध्यक्ष भए पनि हामी एउटै पार्टीमध्येका कसैलाई अध्यक्ष, कसैलाई वरिष्ठ नेता, कसैलाई सर्वोच्च नेता बनाइरहेका हुन्छौँ । काम र आवश्यताअनुसार जिम्मेवारी र पद विभाजन हुनेछ । यो विषयलाई यसरी नै बुझ्नु आवश्यक छ । यसो गर्न सकियो भने एकताको विषयलाई ठीक ढंगले बुझाउन र लैजान सकिन्छ ।  आजको बहस केवल पार्टीको अध्यक्ष को हुन्छ भन्ने विषयले मात्रै प्रर्याप्त हुँदैन ।

७७ वटै जिल्ला कमिटीहरू, जनवर्गीय संगठनहरू, सामुदायिक संगठनहरू, पेसागत संगठनहरू सबैको एकीकरण कसरी हुन्छ ? ती संगठनका नेताहरूको व्यवस्थापन कसरी हुन्छ ? भन्ने विषय अर्को ज्वलन्त प्रश्न हामीसामु छ । दुवै पार्टीलाई विघटन गरेर व्यक्ति छान्ने प्रक्रियाले भोलि पार्टी ठीक ठाउँमा पुग्ला ? नेता नै टेवलमा बसेर आफूलाई मन परेको नाम कागजमा लेख्ने र उसैलाई नेतृत्व चयन गर्ने विधिमा गयौँ भने त्यो सर्वनाशको बाटो हुनेछ । त्यसैले, पार्टीको जिम्मेवार ठाउँमा बस्नका लागि एउटा निश्चित विधि र मापदण्ढ बनाइनुपर्छ । यसका लागि आचारसंहिता बनाएर जानुपर्छ । पार्टी एकता पनि पार्टीका कमिटी र संगठन बनाउँदा अलग–अलग विधि र मापदण्ड बनाएर सार्वजनिक गर्नुपर्छ ।

त्यसपछि कार्यकर्ता आफैँले कुन कमिटीमा कुन विधि र पद्धतिअनुसार पर्छु भन्ने कुरा स्वतः आफू संगठित हुने ठाउँ यहाँ रहेछ भन्ने बुझ्नेछन् । हामीले त्यस्तो विधि बनाउन सक्नुपर्छ । त्यसो गर्दा सबै पार्टीपंक्ति कार्यकर्ता खुसी हुने अवस्था रहन्छ । अर्को कुरा आज पार्टी एकता हुन्छ कि हुँदैन भन्ने अन्योल क्रमशः बढ्दै गएको देखिन्छ । एकीकरणको विषय जति लम्बिँदै गएको छ, त्यति ढिला भएको छ । त्यसले अन्योल पनि बढेर गएको छ । पार्टी एकताका विपक्षमा विभिन्न कोणहरूबाट आवाज आउन थालेका छन् ।

एकातिर देशभित्र र बाहिर रहेका पार्टी एकताविरोधी क्रमशः संगठित भएर एकता भत्काउने खेलमा लागेका छन् भने अर्कोतर्फ दुई पार्टी एकतालाई कसरी परिणाममुखी बनाउने भन्दा पनि कसरी आफ्नो भविष्यको सुनिश्चितता खोज्ने भन्नेतर्फ बढी ध्यान गएको देखिन्छ ।भविष्यबारे चिन्ता लिने र म कुन ठाउँमा पर्छु भन्ने कुरामा केही नेताको ध्यान गएको देखिन्छ । पार्टी नेतृत्वमा रहेका नेताले एकता हुँदा सबैभन्दा पहिला आफ्नो भविष्यलाई निश्चित बनाएर मात्र एकता गर्ने भन्नेतिर जान खोज्यौँ भने त्यसले परिणाम दिन सक्दैन ।

त्यसकारण नेतृत्वले आफ्नो स्थान कहाँ हुन्छ भनेर खोज्ने भन्दा पनि यो एकतालाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी कसरी बनाउने त्यसको विधि, प्रक्रिया के हुन्छन् ? भन्नेतर्फ सोच्यौँ भने मात्र एकता सही बाटोमा अगाडि बढ्छ । पार्टी एकतालाई कुनै पनि मानेमा कसैले पनि आफ्नो इच्छा, अपेक्षा र उद्देश्य पूरा गर्ने माध्यम वा विषय बनाउनुहुँदैन । यसो गरियो भने एकतामा समस्या उत्पन्न हुन्छ । साना–मसिना र आफ्ना हितका कुरा अघि सारेर एकता प्रक्रियालाई कमजोर बनाउनुहुँदैन । जुनसुकै मूल्यमा पनि एकीकृत पार्टी भएर अगाडि बढ्न सक्नुपर्छ । त्योभन्दा फरक ढंगले सोच्नु देश र जनताविरुद्ध हुनेछ । हामीले भन्दै आएको राष्ट्रिय स्वाधीनता, सार्र्वभौम र समृद्धिविरुद्ध हुनेछ ।

प्रतिक्रिया