खेलाडी होइन, अब प्रशिक्षक गिलक्रिस्ट

मोहाली : अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य एडम गिलक्रिस्टले सक्रिय खेलाडी जीवन समाप्त भएको बताएका छन् । ‘मैले आज जीवनको अन्तिम म्याच खेलेको छु,’ भारतमा जारी आइपिएल क्रिकेट सिजन–५ अन्तर्गत शनिबार दिल्ली डेयरडेभिल्सविरुद्ध खेलेपछि किङस इलेभेन पन्जाबका कप्तान गिलक्रिस्टले भने, ‘म अब प्रशिक्षक बन्छु ।’
उनले पन्जाबले अनुरोध गरे आफू पूर्णकालीन प्रशिक्षक हुन तयार रहेको बताए । ‘अब क्लब (पन्जाब) सँग कुरा गर्छु । मलाई क्लबले प्रशिक्षकको रूपमा राख्यो भने बस्छु । साँच्चै भन्ने हो भने प्रशिक्षकको रूपमा मैले निकै आनन्द महसुस गरें । यो टिमबाट म अलग हुन चाहन्न । वास्तवमै म क्रिकेटबाट टाढा रहन सक्दिन,’ उनले भने ।
सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका गिलक्रिस्टले गत सिजन पन्जाबमा आबद्ध हुनुअघि दुई सिजन अर्को आइपिएल टोली डेक्कन चार्जर्सका लागि खेलेका थिए । उनी डेक्कनका पनि कप्तान थिए । उनी केही समययता पन्जाबका लागि कप्तान र प्रशिक्षक गरी दोहोरो भूमिकामा थिए ।
शनिबार ‘डबल लिग’ को अन्तिम खेलमा दिल्लीविरुद्ध पराजित भएपछि पन्जाब
प्ले–अफका लागि छनोट हुन असफल भएको थियो । ‘हयामस्ट्रिङ’ समस्याका कारण गिलक्रिस्ट जारी आइपिएल संस्करणमा करिब एक महिना सहभागी हुन सकेनन् । ‘प्ले–अफमा छनोट नहुनु टोलीका लागि ठूलो निराशा हो,’ गिलक्रिस्टले भने, ‘तर यसबीचमा केही सकारात्मक पक्ष पनि देखिए । गुरकिरत सिंह, मन्दीप सिंह, परविन्दर अवानालगायत स्तरीय भारतीय खेलाडीको उदय भयो ।’ आइपिएलमा सहभागी भएयता ६७ खेल खेलेका गिलक्रिस्टले २७.७३ रन औसतमा १७७५ रन बनाएका थिए । यसक्रममा उनले दुईपटक शतक प्रहार गरे भने १० अर्धशतक पनि आफ्नो नाममा लेखाए । ‘क्रिकेटमा आइपिएल मेरो दिमागमा सधंै रहिरहनेछ,’ उनले अन्त्यमा भने, ‘यस टिममा आबद्ध हुनु र त्यसअघि डेक्कनका लागि उपाधि जित्नु अत्यन्तै स्मरणीय रहन्छन् । क्रिकेट करियरमा मेरो निकै मीठो सम्झना गत वर्ष यही मैदान (मोहाली) मा बनेको थियो । त्यसबेला रोयल च्यालेन्जर्स बंगलोरविरुद्ध मैले साथी सउन मार्ससँग मिलेर २०६ रनको साझेदारी गरेको थिएँ, यही मैदानमा ।’ (एजेन्सी)

प्रतिक्रिया