काठमाडौं २० कात्तिक । समाजमा दिनहुँ कहीँ र कतैबाट महिलाहरू प्रताडित भइरहेका छन् । यसरी प्रताडित हुनेमा अशिक्षित मात्र होइन शिक्षित महिला पनि रहेका छन् । धेरैजसो महिला आफ्नै पति तथा परिबारबाट मात्र नभई महिलाबाट नै पीडित भइरहेका छन् । महिला पीडितको कारणमा परिवारमा असमझदारीलाई मानिन्छ । मानिसलाई प्राणीमा सर्वश्रेष्ठको दर्जा दिइन्छ । विवेक र चेतनका धनी मानिन्छ ।
यदि यो सत्य हो भने समाजमा यस्ता घटना नघट्नु पर्ने होइन र ? समाज पितृसत्तात्मक सोचले आक्रान्त छ । यसैकारण समाजमा महिलालाई दमन गर्ने पछि हट्दैन । यस्ता पुरातन सोचमा बाँचेका पुरुषले महिलालाई अगाडि बढ्न अनेकौँ वाधाव्यवधान खडा गरिरहेका छन् । २१औँ शताव्दीका महिला पनि के कम छन् र ! महिला अधिकार तथा आफ्ना हकहितको रक्षामा महिला पछि नहट्ने हुँदा समाजमा हिंसाको क्रम रोकिएको छैन ।
तैपनि, पितृसत्तात्मक सोचमा महिला पनि कहिँ न कतै सहमत छन् । घरपरिवार तथा समाजमा आफ्नो इज्जतका खातिर पनि निडर हुन सकिरहेका छैनन् । बरु अन्याय सहने तर इज्जत र घरपरिवारको लागि कुनै सम्झौता नगर्ने महिला आज पनि छन् । घरभित्रको झगडालाई समाजमा लैजाँदा अनेकौँ कुरा बढाएर घरका परिवारमा पु¥याइदिने पो हुन् कि ! अथमा उजुरी गरेमा आफैँलाई घाटा पो हुने हो कि ! भनेर आजको विज्ञान तथा प्रविधिको युगका महिला उजुरी गर्नसमेत पछि परेका देखिन्छन् ।
समाजले २१औँ शताब्दीको फड्को मार्दा पनि महिलामा भने डर आज पनि उही पुरानै तवरको रहेको छ । महिलालाइ हिंसा गर्ने कारक तत्वको रूपमा पुरुष मात्र नभई महिलाको लागि महिला नै हुन् भन्ने कुरा हामीले समाचार अथावा विभिन्न सञ्चार माध्यममा सुन्न र पढ्न पाएका छाैँ ।न्याय र कानुनी क्षेत्रमा अधिकृतको भूमिका निभाउँदै आएकी निर्मला गुरुङ किन आजको महिला पीडा र अन्यायको खुलासा गर्न चाहँदैनन् ?
भन्ने प्रश्नमा उनी भन्छिन्, ‘कति महिला हिंसाको पीडा सहन गर्न नसकी उजुरी गर्न आयोगलगायत प्रहरी कार्यालयमा जान्छन् तैपनि आर्थिक हो या सामाजिक अवस्थाको कारण महिलाहरू घरपरिवारलगायत समाजसँग आज पनि डराउने गरेका छन् । हिंसाको उजुरी गर्न आउने तर डरको कारण घर नफर्कने भन्ने उतर पाएको अवस्थामा ‘सेफ हाउसमा’ राख्ने गरेको छौँ । वासस्थानको अभावले पनि महिला अन्याय लुकाउन बाध्य भएका हुन्।
घरेलु हिंसाको उजुरी गर्ने महिलाले उजुरीपछि आफन्तको साथ लिने, प्रहरीको निगरानीमा बस्न चाहानेलगायत सरकारी तवरको सुरक्षित आवासमा बस्न रुचाउने गरेको देखिन्छ ।’ गुरुङ न्याय र कानुनको क्षेत्रमा राष्ट्रिय महिला आयोगमा अधिकृतको भूमिका निर्वाह गर्दै आएकी छन् उनी भन्छिन्, ‘आयोगमा यस्ता किसिमको उजुरी दर्ता हुन्छन् जसलाई उजुरी र कानुनको कुनै पनि प्रक्रियाको बारेमा केही थाहा नै हुँदैन ।’ घरेलु हिंसाको मुद्दा किन दर्ता गरेको भन्दा कति महिलालाई थाहा नहुने उनी बताउँछिन् ।
घरेलु हिंसाको विरुद्ध आयोगले यस्तो किसिमको व्यवस्था अपनाउँछ भनी सामान्य जानकारी दिएको आधारमा ५० प्रतिशत केस आयोगको दैलाबाट मिलि कैयौँ दम्पतीको जीवन पुनः सुचारु भएको भन्दै गुरुङले आफ्ना कार्यकालमा पार गरेको विभिन्न घटनाको यथार्थता व्यक्त गरिन् । निर्मलाका अनुसार काखमा बच्चा भएको कारण बच्चाको मायाले पनि मिलेर गएको देखियो । निर्मलाले विवाहको बारेमा यसरी भनिन्, ‘विवाह भनेको एक किसिमको महिला र पुरुषबीच हुने सम्झदारी हो ।’
एकको नियम र मर्यादा विपरीत जान खोजेमा झगडा जुनसुकै घरमा पनि सिर्जना हुन्छ । घरमा हुने सानातिना झगडाको समाधान महिलाले आफैँ गर्न चाहान्छन् त्यसैले पनि कम उजुरी दर्ता हुने गरेको हो ।
हिंसाको समाधान
महिला र पुरुषबीचको बुझाइ सकारात्मक भएमा, अभावलाई भावको आधारमा बिस्तारै परिवर्तित गर्दै लगेमा, मानिसले सहन गर्न सक्ने क्षमताको आधारलाई मजबुत बनाउँदै अघि बढेमा, घटनाको आधार हेरी लिन र पचाउन सक्ने घटनालाई दुई तर्फीबाट निर्मुल गर्न र गराउन सकेमा घरेलु हिंसाको अन्त्यका साथै समाधान निकै मात्रामा कम हुनेछ ।
युवायुवतीले विवाह गर्दा सम्झौताको आधारमा नगरी जीवन धान्ने आधारमा गर्नुपर्नेछ । वैदेशिक रोजगारमा जाने सपना बुनी विवाह गर्दा पनि हिंसाको केस सामना विपरीत पर्दा आयोगमा आउने गरेका हुन् । संविधानमा महिला पुरुष बराबरी भनी हक दाबी गर्न पाउने भन्ने आधारमा अलि उजुरी बढेको हो कि भन्ने लाग्छ त्यसैले सबै नागरिकले सही कानुनको पालना गर्न सिक्नुपर्छ । बिस्तारै हिंसाको समाधान हुँदै जान्छ ।
प्रतिक्रिया