वामतालमेलको राजनीतिक तरंग

एमाले, माओवादीकेन्द्र र नयाँ शक्ति नेपालको चुनावी तालमेलदेखि पार्टी एकीकरण सम्मको घोषणाले राजनीतिक क्षेत्र तरंगीत भएको छ । आकस्मिक र हठात रूपमा भएको जस्तो सतहमा देखिए पनि लामो अभ्यास र गृहकार्यविना कसरी संभव हुन सक्थ्यो र भनेर अनुमानसम्म गर्न सकिन्छ । गठबन्धन नामक विषयमा वाध्य वा आन्तरिक जेजस्तो कारणले भए पनि सतहमा प्रस्फुटन भएको यो घटना विशुद्ध चुनावी रणनीति र सुरक्षित अवतरण (नेताहरूको लागि )भएको भन्दा अन्यथा हुँदैन । यसको भविष्य र दिगोपन निर्वाचनको मतपरिणाममा निर्भर हुनेछ । अरू तपसिल कुरा हुँदै जाने हो । यस घटनाले केही कुरा बुँदागतरूपमा टिप्पणी गर्दा समय सान्दर्भिक हुनसक्छ भन्ने पनि लाग्यो ।

बाल्यकालको संस्मरण ः
तालमेलपछि जेजस्तो परिचर्चा र टिप्पणी भइराखेको छ, त्यसैले केटाकेटी बेलाको संझना गरायो । अहिले गाउँघरमा त्यो चलन छ वा छैन थाहा छैन ? केटाकेटी हुँदा पुतली नचाउने कुराले घरघरमा भएको सम्झन्छु । उनीहरू हिउँदको समयमा आउने गर्थेजस्तो लाग्छ । पुतली नचाएपछि धान पैसा आदि दिएर उनीहरूलाई सहृदयसाथ बिदा गरिन्थ्यो । पुतली अत्यन्त आकर्षक र मन लोभ्याउने खालको हुन्थ्यो । ढुंग्री, मुन्द्री, बुलाकी, तिलहरी आदि इत्यादि गहनाले धपक्क सजिएकी पुतलीले छमछम नाचेको आँखा नझिम्काइकन केटाकेटीमा लहरे आँगन र पर्खालको डिलमा बसेर हेथ्र्यौं ।

झुम्राको पुतली बनाएर खेल्ने हामी केटाकेटीको लागि त्यो पुतली लोभलाग्दो हुन्थ्यो । आफ्नो पनि त्यस्तै पुतली भएको हुन्थ्यो भन्ने लाग्थ्यो । कम्मर भाँचीभाँची नाच्ने पुतलीले अन्त्यमा सबैलाई नमस्ते गरेको दृश्यले हामी गमक्क पनि पथ्र्यौ । त्यस्तै पुतली बनाउन कोशिस गरेर बनाए पनि झुम्राको पुतली त्यस्तै नभएकोमा खिन्न पनि हुन्थ्याैँ । त्यस्तै पुतली चाहियो भनेर आमासँग झगडा गरेर हो वा के ले हो । आमाले पछि पुतलीको रहस्य बताइदिनुभयो ।

त्यो पुतली आफैँ नाचेको होइन् कुमालेले झोलाभित्र लुकाएर राखेको उस्को हातले पञ्जाले नचाएको हो । पुतली आफैँ नाच्ने भन्ने हुँदैन । आफ्नो झुम्राको पुतली पनि त्यसैगरी नचाउन वालबुद्धिले कोशिस गरे पनि पुतली नचाउने कुमालेको कौशलतासँग झुम्राको पुतली बनाएर खेल्ने अवोध केटाकेटीको पुतलीको प्रतिस्पर्धा हुने कुरो थिएन । आमाले त्यसबेला बनाउनुभएको पुतलीको रहस्यले एउटा ज्ञान भने दियो, जे सतहमा देखिन्छ त्यो सत्य नहुन सक्दछ, जे देखिँदैन त्यो सत्य हुन सक्छ । आमाले दिएको चेतले आफूले थाहानपाएको र नबुझेको कुरामा टिप्पणी र विचार प्रकटमा खासै रुचि लाग्दैन त्यसैले वामगठबन्धनको टिप्पणी गर्नु भनेको सतहमा मात्र गरेको हुन्छ भन्नेजस्तो लाग्छ ।

ऐतिहासिक अभ्यास ः
राजनीतिक नीतिहरूको मूल नीति आर्दशका रूपमा भनिए पनि अन्ततः शक्ति र सत्ताको शक्ति सञ्चयका लागि खेलिने एकप्रकारको खेल हो । अन्य खेलमा नियम हुन्छन् । खेलाडीले नियमका पालनाको अवज्ञा गरेको कुरा दर्शकले हेर्न पाउँदछ । आफ्नो स्वस्थ धारण बनाउन पाउँदछ तर राजनीतिक त्यस्तो हँुदैन । यस्तै हो भनेर विजगणितको सूत्र प्रयोग हुन सक्दैन । सहमति, सहर्काय र एकता ०६३ सालपछि गिरिजाप्रसाद कोइरालाले भन्ने गरेका राजनीतिक थेगो थियो । सुन्नको लागि आर्दश लागे पनि यर्थाथमा त्यस्तो हुँदैन ।

‘राजनीतिक सहमति होइन, प्रतिस्पर्धा हुन्छ राष्ट्रिय सहमति र राष्ट्रिय मुद्दा संविधानमा हुन्छ । संविधानमा सहमति त्यसमा पनि नभएका विरोधका स्वरहरूले आभास दिइरहेको छ । अहिलेको राजनीतिमा बलियो शक्तिको रूपमा देखापरेको कांग्रेस, एमाले र माओवादीको अवस्था मल्लकालीन, कान्तिपुर, भक्तपुर र पाटनका ३ राज्यको जस्तो लाग्छ । ३ वटा राज्यमा कहिले भक्तपुर र पाटन मिलेर कान्तिपुरलाई आक्रमण गर्थे भने कहिले पाटन र कान्तिपुर मिलेर भक्तपुरमाथि जाइलाग्यो यसरी राजनीतिक धुव्रीकरण हुँदै अहिले कुन राज्य बलियो र कुन राज्य कमजोर बन्न पुग्दथ्यो ।

काग्रेससँग गठबन्धन गरेर सरकारमा रहेको माओवादी केन्द्र एमालेसँग साँठगाँठ गर्न पुग्दा इतिहासको त्यो परिघटनाको रूप र प्रकृति एकै स्वरूप नभए पनि शक्ति सञ्चयको दृष्टिले संझनलायक छ । आफ्नो हातमा नभएको राजनीतिक वैशाखी सधैँ आफ्नाे हुन्छ भन्ने हुँदैन, त्यो सत्यलाई कांग्रेसले बुझ्नुपर्छ । वामगठबन्धनलाई सहजरूपमा लिनुपर्छ ‘सहमति, सहकार्य र एकता’ राजनीतिमा हुँदैन, प्रतिष्प्रर्धा हुन्छ ।

कांग्रेसले अहिलेको परिवेशलाई आत्मसात गनुपर्छ । आफ्ना अग्रजले छोडेको पुँजी र विरासतको सम्मान गर्दै कार्यदिशा तय गर्न जान्नुपर्छ । त्यसमा पनि कांग्रेस विश्व कम्युनिस्ट आन्दोलनको संस्थापक सदस्य पनि हो । यसर्थ वामगठबन्धनको विरोध गर्ने नैतिक, राजनीतिक, दार्शनिक आधार छ वा छैन भन्ने सत्यलाई कांग्रेसले बोध गर्न सक्नुपर्छ । त्यसमा पनि कांग्रेसलाई माओवादीको एजेन्डामा ।

निर्वाचनको मानकमा गठबन्धन ः
०४७ सालको संविधानको आधारमा भएको ०४८ सालको आमनिर्वाचन र ०५१ सालको मध्यवधि आमनिर्वाचनको मानकमा गठबन्धनलाई हेर्दा नेपाली जनताको जति दल निर्वाचनमा भए पनि अन्यको तुलनामा कांग्रेस र वामशक्तिलाई आफ्नो मतअभिमक्त गरेको देखिन्छ । ०४८ साल २९ वैशाखमा भएको उक्त निर्वाचनमा २० राजनीतिक दलले भाग लिएकोमा विजय हात पार्नमा कांग्रेस, एमाले, संयुक्त जनमोर्चा, नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द, राष्ट्रिय प्रजातन्त्रपार्टी थापा, नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसानपार्टी, यसमा क्रमशः कांग्रेस, एमाले, संयुक्त जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द र राष्ट्रिय प्रजातन्त्रपार्टी थापा पाँचाैँ शक्तिमा स्थापित भएका थिए ।

०५१ सालको मध्यवधि निर्वाचनमा २४ वटा राजनीतिक ६ दलका उम्मेदवारहरू चुनावी प्रतिष्पर्दामा भए पनि ५ वटा राजनीतिक दलहरूले एमाले, कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र नेपाल सदभावना पार्टीबाहेक १९ वटा दलका कुनै उम्मेदवार विजय हुन सकेन । अघिल्लो आमनिर्वाचनमा ९ स्थानमा विजय हासिल गरेर राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न सफल रहेको संयुक्त जनमोर्चा नेपालभित्र भएको द्वन्द्वको कारण पार्टी विभाजित भएपछि उक्त पार्टीले ४९ स्थानमा उम्मेदवारी दिए पनि कुनै स्थानमा विजय प्राप्त गर्न सकेन (राजेश गौतम नेपालको संवैधानिक इतिहास र राजनीतिक) यसरी निर्वाचनको मानकलाई हेर्दा धेरै दलमा जनताको रुचि देखिँदैन ।

कांग्रेस, कम्युनिष्ट र मध्यमार्गी केही दलबाहेक अरू दलले जनताको अनुमोदन पाउन नसकेको ऐतिहासिक तथ्यको जगलाई भुल्न मिल्दैन । शक्ति सन्तुलन र नियन्त्रणको दृष्टिले पनि भिन्नभिन्न राजनीतिक दर्शन, सिद्धान्त र राजनीतिक आधार भएका दलहरू प्रतिष्प्रर्धामा जानुपर्छ । त्यसैले मिलिजुली र मागदण्डको संस्कृतिको अन्त्य हुन्छ । आदर्श र मूल्यको रणनीति स्थापित हुनपुग्दछ ।

अन्तमा निष्कर्ष ः
वामगठबन्धनलाई अपाकृतिक र अस्वभाविक भन्नु हुँदैन, पाकृत हो । निजात्मक स्वार्थमा केन्द्रित नभएर राज्यको स्वार्थमा सक्छ भने त्यसलाई सुखद्पन मान्नुपर्छ । अझ गठबन्धनपछि १२ बुँदे सम्झौतामा सान्दर्भिकताको पनि अन्त्य भएको अर्थमा लिँदा आपत्ती हुँदैन तर यो गठबन्धन कति दिगो र स्थायी हुन्छ भन्ने कुराको मतदाताको मत परिणाममा निर्भर छ भन्ने कुरालाई बिर्सन हुँदैन त्यसका साथै तल्लोतहका दलका कार्यकर्ताको मानसिकता पनि निर्वाचनको मत प्रभावित पनि अर्काे कारक तत्व भएको तथ्यलाई भुल्न मिल्दैन ।

गठबन्धनलाई कसरी कार्यकर्ताले ग्रहण गरेका छन् त्यसैले पनि तालमेलको भविष्य प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित हुनेछ, वामगठबन्धनलाई कांग्रेसले गुनासोको विषय नबनाएर स्वार्थ प्रतिष्पर्धाको मौका ढाल्नु पर्छ । आफ्ना अग्रजहरूले छोडेको विरासतलाई सम्मान गर्दै र मूल्यांकन गर्नुपर्छ , ‘प्रजातन्त्र, राष्ट्रियता र समाजवादको’ आदर्श बोक्ने कांग्रेसले ऐतिहासिक दम्भमा होइन यथार्थको धरातललाई समाउने हिम्मत र साहस राख्न सक्नुपर्छ । यसो भए देशको भविष्यले कोल्टो फेर्ने संभावना बारे ढोका आपैmँ खुल्नेछ । अरूलाई दोष दिनुभन्दा दोष आपूmले लिने साहस ग¥यो भने राजनीति शुद्धीकरण उन्मुख हुँदै जाने पनि छ ।

प्रतिक्रिया