कमल न्यौपाने
परापूर्वकालदेखि चलिरहेको संस्कार भन्दै मध्य तथा सुदूरपश्चिमका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छाउपडी प्रथा कायम नै छ । छाउपडी अर्थात महिलाहरू रजस्वला (मासिक धर्म) भएपछि उनीहरूप्रति घरपरिवार र समाजले गर्ने व्यवहार र एकसरो कपडाको भरमा गोठमा बस्नुपर्ने प्रचलन छ । जसका कारण महिलाहरू पीडादायक जीवन बिताउ वाध्य छन् ।
ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनु हँुदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी महिलालाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई छाउपडी कुडी भनिन्छ ।
रजस्वला भएपछि दुर्गम कर्णालीमा मात्रै नभई दैलेख र सुर्खेत, अछाम, बाजुरा, बैतडीलगायत पश्चिमी क्षेत्रमा महिलाहरूलाई घरमा बस्न दिइँदैन । उनीहरू घरभन्दा टाढा बनाइएको गोठमा अरूसँग लुकेर एक्लै बस्नुपर्ने प्रचलन छ । यो प्रचलन र संस्कारका कारण महिलाहरूलाई एकखाले यातना त हुने गरेकै छ । यति मात्रै होइन यस्तो अवस्थामा उनीहरूलाई गाईभैँसीको दूध, दही, मही, घ्यू, लसुन र तेललगायत थुप्रै खानेकुराबाट समेत वञ्चित गराइन्छ ।
शरीरबाट रगत बगिरहँदाको उक्त अवस्थामा पोसिला खानेकुराहरू खान नदिनुले उनीहरूको स्वास्थ्यमा कस्तो असर पर्ने हो भन्नेबारे अझै कसैले पनि सोचेको देखिँदैन । यसरी हप्तादिनसम्म केही पनि पोसिलो खानेकुरा खान नपाएर गोठमा बस्नुपर्ने अवस्थाकै कारण यहाँका धेरै महिलाहरूले अकालमै ज्यान गुमाउनु परेको अवस्था छ ।
गाउँघरमा अशिक्षित परिवारको कुरा मात्रै नभई शिक्षित परिवारमा झनै यो संस्कार बढी देखिने गरेको छ । सरकारका साथै स्थानीय गैरसरकारी निकायहरूले समेत छाउपडी प्रथाको अन्त्य गर्नका लागि विभिन्न खाले चेतनामूलक कार्यक्रमहरू गाउँका दूरदराजमा सञ्चालन गरिरहेका छन् । तर, यी कार्यक्रमहरू अहिलेसम्म खासै प्रभावकारी भने हुन सकेको अवस्था छैन ।
परम्परागत जनविश्वासका कारण यस्ता महिलालाई छोएको खण्डमा वा कुनै लसपस भएमा अशुद्ध हुने भएकाले छोए पनि सुनपानीको छिटो हाल्ने, गहुँत खुवाउने, घरका कूलदेवता चोख्याउनेजस्ता चलन छ । प्राचीनकालदेखि चलिआएको परम्परालाई लत्याएर महिलाहरू महिनावारी तथा सुत्केरी भएको अवस्थामा छुइछाई गरेमा, घरका कूलदेवता रिसाउने र परिवारमा हानीनोक्सानी पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ ।
मानिसहरूमा कुनै खालको परिवर्तन आउन सकेको छैन । छाउपडीको समयमा घरमा ल्याएको पानी छुन नदिने कुरा त परै जाओस् धारा र कुवामा समेत अलगै बसेर पानी भर्नुपर्ने बाध्यता अभैm पनि रहिरहेको छ । यी यावत् समस्या र पीडाबाट यहाँ महिलाहरूले मुक्ति पाउन सकेको अवस्था छैन ।
छाउपडी प्रथाका कारण विभिन्न विकृतिहरू देखापर्ने गरेका छन् । जस्तो कि छाउपडी बसेका बेला बलात्कार हुने । सर्पले टोकेर मर्ने लगायतका घटना विभिन्न सञ्चार माध्यमबाट सुन्नमा आउँछन् । कतिपय महिला छाउपडीमा बसेका बेला चिसोले कठ्यांग्रिएर र कतिपय बढी रक्तश्राव भएर पनि मर्ने गरेका छन् । चिसो होस् या प्रचण्ड गर्मी जुनसुकै समयमा पनि यस्ता महिलाहरूले एकसरो कपडामा दिनरात बिताउनुपर्ने हुन्छ । अझै महिलाहरूले त महिनावारी भएको दिनदेखि पानी छुने नहुदाँसम्म विशेषगरी पुरुषसँग बोलचाल नै बार्नुपर्ने अवस्थासमेत रहेको छ ।
यो छाउपडी प्रथा महिलाहरूका लागि ठूलो यातना बनिरहेको छ । नेपाली समाजको संस्कार पनि स्थानअनुसार फरकफरक रहेको छ । यिनै जिल्लाका सहरका महिलाहरू महिनावारीमा घरमै बसेर पोषिला खानेकुरा खाने, घरभित्रै बस्ने गर्दछन् । तर, उही जिल्लाको दुर्गममा महिलाहरूको हालत भने विजोगको छ ।
सुर्खेतको पश्चिममा रहेको छापे्र गाविसकावासिन्दाहरूलाई छाउपडीका बारेमा जति बुझाए पनि स्थानीयले मात्रै नभई उक्त गाविसमा जागिर गर्न जाने सरकारी तथा गैरसरकारी निकायले महिलाहरूले समेत कष्टकर रूपमा छाउपडी बार्नुपर्ने बाध्यता नै छ । यदि यसो गरिएन भने सामाजिक घृणा गर्ने यहाँको प्रचलन छ । शिक्षित परिवार पनि छाउपडीको सिकार हुनुपर्ने तीतोसत्य अहिले पनि रहिरहेको छ ।
सरकारले छाउपडीका साथै अन्य विभिन्न प्रथाहरूको अन्त्यका लागि जति कार्ययोजना र कार्यक्रम बनाए पनि दुर्गममा यस्ता कार्यक्रमको औचित्य नै हुँदैन । नियम कानुन र ऐन बनाए पनि मध्य तथा सुदूरमा यो प्रथा अभैm जटिल बन्दै गएको छ । यतिसम्मकि यसक्षेत्रका महिला शिक्षकसमेत छुई हुने बेलामा विद्यालयबाट बिदा लिएर सदरमुकामतिर आउनुपर्ने बाध्यता छ ।
छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटकपटक अप्रिय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन् । विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन् । सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको ९ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने बाध्यता अहिले पनि कायमै छ । यसरी वर्षौंदेखि मान्दै आएको यो संस्कारको अन्त्य गर्नका लागि राज्यले नै प्रत्यक्ष नजरअन्दाज नगरेसम्म यहाँका महिलाहरूले अझै सयौं वर्षसम्म पनि यो प्रथाबाट पीडित हुनै पर्नेछ ।
यो प्रथाले अहिले यसक्षेत्रमा विकराल रूपसमेत लिइसकेको छ । छाउपडीको विरुद्धमा गएमा सामाजिक बहिष्कारको सिकार हुने डर एकातिर छ भने नगएमा महिलाहरूकै अधिकारका साथै स्वास्थ्यमाथि समाजले, स्वयं घरपरिवार र आफन्तहरूले नै थिचोमिचो गरेको सहनै पर्ने अवस्था छ ।
त्यसैले यसको अन्त्यका लागि महिला होस् या पुरुष सबैलाई उचित चेतनाका साथै उनीहरूको नकरात्मक सोचलाई परिवर्तन गर्न जरुरी रहेको छ । सरकारले छाउपडी प्रथाको अन्त्यका लागि नारामा मात्रै अग्रसर नभएर कार्यान्वयनका लागि गर्नुपर्ने सबैखाले प्रक्रियालाई प्रभावकारी रूपमा अगाडि बढाउनै पर्छ ।
अन्धविश्वासको वर्गीकरण सम्भव छैन । यसको नामाकरण पनि कठिन छ । त्यसैले यस्तो अन्धविश्वासका कारण यहाँका महिलाहरूले पीडा सहँदै जीवनयापन गर्नुपरेको छ । यसको रोकथाम तथा अन्त्यका लागि सरकारी तवरबाट पनि खासै काम भएको देखिँदैन । छाउपडीबाट महिलालाई मुक्त गर्नका लागि सरकारले गम्भीर भएर सोच्नै पर्छ । अन्यथा यो प्रथाले विकराल रूप लिनेमा दुई मत छैन ।
प्रतिक्रिया