वैदेशिक रोजगारी : कसैमा रहर कसैमा बाध्यता

टीका सुवेदी

Baidesik-Rojgarनेपालमा वैदेशिक रोजगारको प्रभावकारी प्रशासन र व्यवस्थापन हुन नसक्नाले राज्य ठूलो समस्यामा परेको छ । वैदेशिक रोजगार एकातर्फ अवसर भएको छ भने अर्को पाटोमा यो ठूलो जोखिमका रूपमा पनि देखिएको छ । यस क्षेत्रबाट देखिएको सकारात्मक स्वरूपहरूमा आर्थिक समावेशीकरण, विप्रेषण, आर्थिक सामाजिक र प्राविधिक पुँजीको विकास, रोजगारी तथा समष्टिगतरूपमा गसरबी न्यूनीकरण र मानव विकासमा प्राप्त योगदानलाई लिन सकिन्छ । मानव बेचबिखनको बढ्दो माध्यम, देशभित्र श्रमशक्तिको संकट, ठगी र आर्थिक अपराधको बढ्दो प्रवृत्ति, सामाजिक तथा मनोवैज्ञानिक विखण्डन, धनी र गरिबबीचको बढ्दो खाडल, विलासी जीवनशैली, आयातित महामारी र सरुवा रोग संक्रमणको बढ्दो अवस्थालाई प्रमुख नकारात्मक स्वरूपको रूपमा लिन सकिन्छ ।

सरकारी सबै तथ्यांक हेर्दा वैदेशिक रोजगारीमा धेरै युवायुवति बाहिरिएका पाइन्छन् । सिन्धुपाल्चोक जिल्लाबाट वैदेशिक रोजगारीमा जाने धेरै विकट बस्तीको युवायुवति रहेको जिल्ला समन्वय समितिको सामी परियोजनाको कार्यक्रम संयोजक रीना श्रेष्ठले जानकारी दिइन् । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकास्थित गोल्चे गुम्पा पाङताङलगायतको धेरै महिला विदेश गएका छन् ।

वैदेशिक रोजगारीमा महिला धेरै जानेमा झापापछि सिन्धुपाल्चोक दोस्रोमा रहेको पाइन्छ । यसअघिका दिनमा धेरै महिला विदेश जाने सिन्धुपाल्चोक जिल्ला रहेको थियो । यी स्रोतअनुसार वैदेशिक रोजगारीमा जाने कुल महिलामध्ये ७० प्रतिशत अनौपचारिक क्षेत्र (घरेलु काम) मा संलग्न देखिन्छन् । यिनीहरूको मुख्य गन्तव्य लेबनान, साउदी अरब, युएई, कतार, बहराइन, इजरायलजस्ता मुलुकहरू रहेको देखिन्छ । यसको प्रमुख कारण नेपालमा वैदेशिक रोजगारीको प्रशासन र व्यवस्थापन दुवै अपूर्ण, अप्रभावकारी, अवैज्ञानिक, अनियमित र हचुवा नै हो ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै कामदार तथा जागिरेहरूलाई दक्ष, अर्धदक्ष तथा अदक्ष गरी ३ समूहमा बाँडिएको छ । यी जनशक्तिले गन्तव्य मुलुकमा गई काम गर्ने क्षेत्रलाई औपचारिक, अनौपचारिक, मिश्रित र अन्य गरी ४ भागमा वर्गीकरण गर्न सकिन्छ । सरकारले वैदेशिक रोजगार व्यवस्थापनको प्रभावकारी कानुनी संरचना तथा प्रक्रियागत व्यवस्थापन भएको दाबी गरेको छ ।

विदेश पुगेपछि कतिपटक बेचिन्छन्, त्यसको अनुमान गर्न कठिन छ । त्यहाँ नेपाली श्रमिकहरूले नियमअनुसार पाउनुपर्ने तलब सुविधा पाउँदैनन् । जीवन र व्यवसाय दुवै अपेक्षाकृत सुरक्षित हुँदैन । यसको पूर्ण जानकारी हुँदा पनि सम्बन्धित निकायमा त कानमा तेल हालेर सुत्ने प्रवृत्ति बढ्दो छ । वैदेशिक रोजगारीको प्रशासन र व्यवस्थापन विकारल समस्या देखिएको छ । मेनपावर कम्पनी र यिनका एजेन्टहरूमा देखिएको बढ्दो दलाली र अपराधीकरण, असक्षम र कमजोर सरकारी नियमन र व्यवस्थापन, हचुवा र असक्षम वैदेशिक रोजगार नीतिलगायतको कारणले पनि वैदेशिक रोजगारीमा समस्याको चाङ लागेको पाइन्छ ।
विद्यमान समस्या र चुनौतीहरूको उचित सम्बोधन र व्यवस्थापन गर्न राज्यले वैदेशिक रोजगारीलाई अल्पकालीन लक्ष्यका रूपमा स्वीकार गरी दिशा र गन्तव्य स्पष्ट हुने गरी नीतिगत तथा कानुनी व्यवस्था मिलाउनुपर्ने देखिन्छ । वैदेशिक रोजगारीमा पठाउने धेरैजसो कार्य नीजिक्षेत्रलाई जिम्मा दिइसकेपछि अब सरकारले पूर्वस्वीकृति, अन्तिम स्वीकृतिको खेतीबाट माथि उठेर यसको नियमनलाई व्यापक र प्रभावकारी बनाउन लाग्नुपर्छ ।

वैदेशिक रोजगारमा जान चाहने सम्भावित सबै श्रमिकहरूलाई जानुपूर्वको अवस्थादेखि फर्किनेसम्मको परिस्थितिलाई राष्ट्रव्यापी रूपमा विशेष सचेतना शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ । दक्ष जनशक्तिको उत्पादन र विकासमा लागेका सबै सरकारी र गैरसरकारी निकायहरूले स्थानीय श्रम, रोजगार सूचना केन्द्र र स्थानीय निकायको सहयोग लिई अदक्ष जनशक्तिलाई संख्यायात्मक र गुणात्मक रूपमा दक्ष बनाउने अभियानमा लाग्नुपर्दछ । वैदेशिक रोजगारीको क्षेत्रमा रहेको दलालीकरण, अपराधीकरण, भ्रष्टाचार र अनियमितता रोक्न सोसल इन्टेलिजेन्टस् र यसबाट प्राप्त प्रमाणका आधारमा सरकारले कडाभन्दा कडा कानुनी कारबाहीको व्यवस्था मिलाउनुपर्छ  ।

दलालहरूले वैदेशिक रोजगारका नाममा पैसा लिँदा कागज नगर्दा असुली गर्न समस्या हुने गरेको छ । कागज गरिए पनि नक्कली हुने र फरक नामबाट बनाउँदा ठगिएका युवाहरूले लगानी फिर्ता पाउन समस्या हुने गरेको छ । कतिपय दलालहरूले आफ्ना सम्पत्ति परिवारको नाममा राखेर सम्बन्धविच्छेद गरेको कानुनी कागज बनाएका छन् । पीडितले ठगीको मुद्दा दिँदा सम्पत्ति नरहेको देखाइन्छ । वैदेशिक रोजगारीका लागि जाने युवाहरू पाइलैपिच्छे ठगिन्छन् ।

प्रतिक्रिया