— भरत दाहाल
चितवनको भरतपुरमा मतपत्रहरू च्यातिएको घटना अझै चर्चामा छ । सत्ता राजनीतिको कोणबाट यसको आआफ्नो ढंगको व्याख्या पनि धेरै भइसकेको छ । चुनावमा उठ्नु, जित्नु÷हार्नु सामान्य कुरा हो तर, यो जुन ढंगले असामान्य बन्दै गएको छ, यसका पछाडि मूलभूत रूपमा, जीत र हारको प्रश्न अन्तर्निहित नभएर नेपालको भू–राजनीतिक संकटको पाटो जोडिएको छ भन्ने तथ्यमा धेरै मानिसहरूको ध्यान गएको छैन । कुनै पनि कार्यहरू (घटनाहरू) स्वतःस्फूर्त रूपमा सम्पन्न हुँदैनन् । कार्यसँग त्यसको कारण जोडिएको हुन्छ, कारणले जहिले पनि उद्देश्यमूलक रूपमा काम गरेको हुन्छ ।
यस घटनालाई तीन वटा कोणबाट अध्ययन गर्नु उपयुक्त हुन्छ । पहिलो कोण के हो भने माओवादीका कयौँ दिग्गज नेताहरूले हार्ने सम्भावना भएका ठाउँहरूमा मतपत्रहरू किन च्यातिएनन् ? दोस्रो कोण हो– आफ्नै दलका एकसेएक नेताहरूलाई भोट माग्न नगएका शेरबहादुर देउवा पुष्पकमलकी छोरीका लागि भोट माग्न किन गए ? तेस्रो कोण हो– च्यातिएका मतपत्रहरू सबै निर्वाचन आयोगका हातमा भएको र तिनलार्ई पनि गन्ती गर्न सम्भव रहेको अवस्थामा कांग्रेस–एमाओवादीले पुनः मतदानको माग किन गरिरहेका छन् ? यी तीन प्रश्नहरूको जवाफले भरतपुर काण्डको सही वयान दिन्छन् ।
पहिलो प्रश्नको उत्तरसँग पुष्पकमलकी छोरीको हारको प्रश्न नजोडिएर पुष्पकमलको भावी सत्ता राजनीतिक खेलको आधार इलाकाको बचाऊको प्रश्न जोडिएको छ । दोस्रो प्रश्नको उत्तरसँग शेरबहादुरको प्रधानमन्त्री बन्ने आकांक्षाभन्दा हजार गुना बढी देउवा–दाहालको पश्चिमी साम्राज्यवादी सेन्टरप्रतिको वफादारिताको मुद्दा जोडिएको छ । तेस्रो प्रश्नको उत्तरसँग नेपालको भू–राजनीतिमा पश्चिमी शक्तिहरूको रणनीति कार्यान्वयनमा सहयोगी रहेका पात्रहरूको राजनीतिक भविष्यको सुनिश्चितताको मामिला जोडिएको छ । यसकारण चितवनको काण्ड सामान्य रूपमा समाधान हुने संभावना छैन ।
माओवादी संसदीयकरण भएर डुङ्डुङ्ती गन्हाइसक्दा पनि पश्चिमी साम्राज्यवादी शक्तिहरूको व्याख्याअनुसार नेपालमा शान्ति प्रक्रिया पूरा भएको छैन । शान्ति प्रक्रिया पूरा नहुँदासम्म पुष्पकमल दाहाल ‘विद्रोही पक्ष’का रूपमा रहिरहन्छन् । उनी ‘विद्रोही पक्ष’का रूपमा रहँदासम्म साम्राज्यवादीहरूले उनलाई कठपुतली बनाएर खेलाउने सम्भावना रहिरहन्छ । यो अन्त्यहीन खेल निरन्तर रूपमा जारी राख्नका लागि ‘मानवता विरोधी’ अपराधका बहानामा केही मुद्दाहरू जीवित राखिएको छ र सत्य निरूपण तथा मेलमिलाप आयोगका नाममा द्वन्द्वको मनोविज्ञान बढाइरहने प्रोजेक्ट सञ्चालन गरिएको छ ।
जो मानिस कसैको परिबन्दमा बाँधिएको हुन्छ, त्यो उपयोगका लागि सबैभन्दा अनुकूल हुन्छ । पूर्व निर्धारित जिन्दगी बाँचिरहेका यस्ता मानिसहरू साम्राज्यवादीहरूका लागि सबैभन्दा भरपर्दा औजारका रूपमा रहेका हुन्छन् र यस्ता पात्रहरूको बचाऊ गर्नु साम्राज्यवादीहरूको पहिलो धर्म हुन्छ । रोल्पा, गोरखा, सिन्धुलीजस्ता भरपर्दा स्थानहरू गुमाइसकेका र दोस्रो संविधानसभामा काठमाडौं र सिराहा दुबैबाट हारेका दाहालले भरतपुरको निर्वाचनमा हारेपछि उनको संसदीय निर्वाचन क्षेत्र अनिश्चित बन्न पुग्दछ र साम्राज्यवादी हत्केलाको एउटा कठपुतली त्यसको हातबाट गुम्ने खतरा प्रबल हुन्छ ।
शेरबहादुर देउवा अपवाद बनेर दाहाल–पुत्रीका लागि भोट माग्न जानुको एउटै कारण दुबै जनाको बाह्य सेन्टर पश्चिम हुनु हो । पश्चिमी (युरो–अमेरिकी) सेन्टरको नेपाल रणनीति एउटै हो । नेपाललाई खाडलमा धकेल्ने योजनाको थालनी गर्दा यी दुई पात्रहरूलाई विपरीत कित्तामा खडा गरिएको थियो र अहिले एउटै कित्तामा उभ्याइएको छ । एकदमै विपरीतजस्तो देखिने यस्तो काम आफ्नैहरूबाट मात्र गराउन सकिन्छ । शेरबहादुरले भरतपुरमा गएर रेणुका लागि भोट मागेका होइनन्, उनले भोट मागेका हुन् भविष्यमा भरपर्दो सहकार्य गर्न सकिने एउटा सहधर्मीको राजनीतिक जीवनका लागि । पुनः मतदानको कुरा माथि उल्लिखित दुई वटा आवश्यकताहरूको पूर्तिको माग हो । अहिले सरकार कांग्रेस–माओवादी गठबन्धनको छ र दोस्रो चरणको चुनाव पनि यसैले गराउने भएको छ । आज चुनाव हार्नुको कारण पत्ता लगाएर अब साम, दाम, दण्ड, भेद सबै नीतिहरू अपनाएर चुनाव जित्न सकिन्छ । मत–पत्रहरू च्यात्ने चुत्थो योजना बनाउनुका पछाडि अर्को चुनावको कानुनी प्रावधानलाई दुरूपयोग गर्ने मनसुवाबाहेक अरू केही पनि छैन ।
शेरबहादुर सिआइएको वफादार पात्र र दाहाल तिनीहरूको डिजाइनमा घेरिएका पात्र– यी दुई पात्रको अभाव भयो भने पश्चिमाहरूको जहाज नै डुब्छ ।दीर्घकालीन महत्व राख्ने सांकेतिक कदमहरूलाई हेर्ने हो भने दाहालको प्रधानमन्त्रीत्व कालमा इन्डो–पश्चिमी स्वार्थको पक्षमा आधा दर्जन जति आपराधिक कामहरू भएका छन् । यी मध्ये पहिलो त नरेन्द्र मोदीसँग जारी गरिएको संयुक्त वक्तव्य हो, जुन सत्ता दलालहरूले गरेका मध्ये सबैभन्दा निकृष्ट छ । उनै मार्फत् चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण रोकियो, शेरबहादुरलाई दलाई लामाका सरकारी प्रतिनिधिसँग एउटै मञ्चमा भाषण गराइयो, सगरमाथामा स्वतन्त्र तिब्बतको झन्डा पु¥याइयो, ओबोर सहमतिमा पश्चिमी सर्त राखियो र पाकिस्तानविरुद्ध दिल्लीको पक्षमा वक्तव्य दिइयो ।
शेरबहादुर प्रधानमन्त्री बन्ने तयारीसँगै बौद्ध स्तुपामा दलाई लामाका भनाइहरू सार्वजनिक टेलिभिजनमा देखाउन सुरु गरिएको छ । यस्ता कुकर्महरू यीनै दलका अरू व्यक्तिबाट हुन संभव छैन । कांग्रेसभित्र शशांक कोइरालाको गुटबाट यस्तो काम हुन त्यति संभव छैन । माओवादी वृत्तमा हुर्काएर उठाइएका बाबुरामको परीक्षण पूरै असफल भएको छ । एमालेभित्र यस्ता तत्वहरू तत्काल उठ्न सक्ने अवस्थामा छैनन् भने अन्य गुटमा रहेका दलालहरूको यति हैसियत बनेको छैन । यस कोणबाट हेर्दा पनि पश्चिमा साम्राज्यवादीहरूको एक मात्र भरोसा देउवा–दाहाल गठबन्धन हो भन्नेमा दुईमत छैन । पहिलो चरणको स्थानीय चुनावलाई आफ्नो स्वार्थको पक्षमा उपयोग गर्ने कुरामा इन्डियन र पश्चिमाहरूका बीचमा खासै प्रतिस्पर्धा छैन, किनभने इन्डियन रणनीतिको केन्द्रबिन्दु रहेको क्षेत्रमा चुनाव भएको छैन तर परोक्ष रूपमा सरकार परिवर्तनको सन्दर्भमा भने यस्तो प्रतिस्पर्धाको मनोविज्ञान प्रकट भएको छ ।
राजपा नामको इन्डियन ग्याङले दाहालले राजीनामा गर्ने कुराको विरोध गरेको प्रसंग यहाँ स्मरणीय छ । दिल्लीका लागि दाहाल खोरमा थुनिएका मुर्गा हुन्, देउवाचाहिँ सिआइएले डामेको साँढे । दाहाललाई जति सजिलो शेरबहादुरलाई प्रयोग गर्न हुनेछैन भन्ने तथ्य त्यसले बुझेको छ । दिल्लीलाई प्रयोग गर्न सबैभन्दा सजिलो पनि दाहाल र पश्चिमाहरूका हातमा खेलाउनका लागि सबैभन्दा उपयुक्त पनि दाहाल भएपछि भरतपुरको गुन्डागर्दी काण्ड सामान्य रूपले समाधान हुने संभावना नै रहँदैन । आपैmँले मत–पत्र च्यात्ने, पुनः चुनावको माग गर्ने र चुनाव पनि आफँैले गराउने वदनियतका पछाडि चुनावको हार–जितको सामान्य प्रश्न मात्र जोडिएको हुँदैन भन्ने कुरा सामान्य चेत भएको मानिसले पनि बुझ्न सक्दछ । १२ बुँदेमा साम्राज्यवादी शक्तिहरूको जुन रणनीति बनेको छ, त्यसको निरन्तरताको वातावरणको सुनिश्चितताको खोजी यो समग्र नौटंकीका पछाडिको मूल कारण हो ।
रेणुले चुनाव हारे पुष्पकमलको निर्वाचन क्षेत्र नबन्ने, पुष्पकमलको निर्वाचन क्षेत्र नबने साम्राज्यवादी हातबाट ‘विद्रोही पक्ष’ का नाममा खेलाउने कार्ड फुत्किने र साम्राज्यवादी खेल कमजोर हुने तथा खेल कमजोर हुँदा नेपाल र चीनका विरुद्धको रणनीति भत्किने तानाबानाको चक्रब्युहमा फस्न पुगेको छ भरतपुर चुनाव । सो चुनावी परिणाम शेरबहादुर र पुष्पकमलको पक्षमा भएको घोषणा नहुने हो भने यिनीहरू बरु मारमुग्रीको पक्षमा वा आयोग बनाउने बाटोमा जानेछन् तर पुनः मत गणनाको पक्षमा आउने छैनन्, किनभने यो प्रकरण रेणुले जित्ने कि देवीले भन्ने प्रकरण मात्र होइन ।
प्रतिक्रिया