घरेलु कामदारको सम्मेलन सुरु

काठमाडौं । पौरखी नेपालको आयोजनामा ‘आप्रवासी नेपाली घरेलु कामदार’ को राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले बिहीबार उद्घाटन गरे । सम्मेलनले वैदेशिक रोजगारीमा जाने घरेलु कामदार वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा विस्तृत छलफल गरी प्राप्त सुझाव र निष्कर्ष सरकारलाई बुझाउने आयोजकले बताएका छन् ।
मन्त्री गुरुङले घरेलु कामदारका रूपमा जानेहरूले आत्मसम्मानपूर्वक काम गर्न पाउने अवस्थामा मात्रै उनीहरूलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने बताए । अहिलेको अवस्थामा घरेलु कामदारका रूपमा पठाउँदा विभिन्न समस्या आएको स्वीकार गर्दै त्यसलाई व्यवस्थित गर्न मन्त्रालय लागिरहेको उनको भनाइ छ ।
सांसद विनोद श्रेष्ठले इथोपियाजस्तो गरिब मुलुकले समेत खाडीमा घरेलु कामदारको सुरक्षा नभएको भन्दै पठाउन रोक लगाएको अवस्थामा नेपालले पठाउनैपर्छ भन्ने नरहेको टिप्पणी गरे । उनले सम्बन्धित मुलुकसँग श्रम सम्झौता गरेर मात्रै घरेलु कामदार पठाउनुपर्ने सुझाव दिए ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भाषाको समस्या, तालिमको अभावजस्ता कुराले घरेलु कामदारले विदेशमा दुःख पाइरहेको भन्दै त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए । साउदी अरबका लागि नेपालका पूर्व राजदूत उदयराज पाण्डेले नेपालले घरेलु कामदार खोले साउदीले मात्रै १० लाख कामदार लैजान तयार रहेको भन्दै त्यसअघि उनीहरूको सुरक्षाको सुनिश्चितता खोजिनुपर्ने भनाइ राखे ।

प्रतिक्रिया