‘बाटोमुनिको फूल २’ हेर्नेलाई स्कुटर उपहार

batomuniko fullकाठमाडौं, १९ चैत । १० वैशाखदेखि रिलिज हुने फिल्म ‘बाटोमुनिको फूल २’ हेर्न अन्तरजातीय बिहे गरेका जोडी गएमा स्कुटर उपहार पाउने भएका छन् । राजधानीमा १ कार्यक्रमकाबीच फिल्म टोलीले अन्तरजातीय बिहे गरेका जोडीले फिल्म हेर्दा स्कृटर उपहार दिने योजना सार्वजनिक गरेको हो ।

उपहारका लागि अन्तरजातीय बिहे गरेका जोडीले फिल्म हेरिसकेपछि फिल्मको अर्धकट्टी र बिहे दर्ताको प्रमाणपत्र, इमेल, पोस्टबक्स या फिल्मको फेसबुक पेजमा बुझाउनुपर्नेछ । त्यसमध्येबाट गोलाप्रथाद्वारा १ जनालाई स्कुटर उपहार दिइने गायक, अभिनेता तथा निर्माता यशकुमारले बताए ।

उनले यसलाई फिल्मको प्रचार फन्डाको रूपमा नबुझिदिन आग्रह गर्दै नेपालमा अन्तरजातीय बिहे गरेका सबैको बिहे दर्ता हुन नसकेको बताए । उनले भने, ‘कतिपय समस्याहरू समाचारमा नआइकन सरकारले पनि सुल्झाउने बारे सोच्दैन । अन्तरजातीय बिहे गरेका सबै जोडीले मात्र फिल्म हेर्दा फिल्मको लगानी उठ्ने पनि होइन । परिवर्तनका लागि हामीले यस्तो कदम चालेका हौँ ।’

उनले स्कुटर उपहारलाई परिवर्तनको कदमको बिम्ब भएको बताए । महिला र पुरुष दुवैले चलाउन सक्ने र स्कुटरले अगाडीको यात्रा तय गरेजस्तै अन्तरजातीय बिहे पनि परिवर्तनको यात्रा भएकाले स्कुटर नै उपहार राखिएको उनको भनाइ छ । जातीय विभेदको विषयमा बनेको फिल्मलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । फिल्ममा यशकुमार, दीलिप रायमाझी, बाबु बोगटी, अर्पण थापा, ऋचा शर्मा, अशिष्मा नकर्मी, रिमा विश्वकर्मा, टीका पहाडीलगायतको भूमिका रहेको छ ।

प्रतिक्रिया