बनेपा, १२ फागुन । जिल्ला अदालत काभ्रेपलाञ्चोकले अदालतमा हाजिर नभएको भन्दै २ वर्षअघि ‘मुल्तबी’मा राखिएको मुद्दा ब्युँताएको छ । द्वन्द्वकालमा किशोरी हत्याको आरोप लागेका नेपाली सेनाका ४ जनालाई पटकपटक पत्र काट्दासमेत हाजिर नभएकाले सो मुद्दा मुल्तबीमा राखेर काराबाही अगाडि बढाइएको हो ।
पीडितपक्षले दोषीमाथि कारबाही नभएको उल्लेख गर्दै पुनः निवेदन दिएकाले यो मुद्दा मुल्तबीमा राखिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनले मुद्दाको टुंगो नलागुन्जेल प्रक्रिया अघि बढ्नेसमेत जानकारी दिए । सशस्त्र द्वन्द्वका क्रममा नेपाली सेनाले चरम यातना दिई हत्या गरिएकी काभ्रेपलाञ्चोकको खरेलथोक गाविसकी १५ वर्षीया मैना सुनारको मुद्दा अदालतले ०७० साल असोज पहिलो साता प्रतिवादी हाजिर नभएको कारण देखाउँदै २ वर्षका लागि मुल्तबीमा राखेको थियो । तत्कालीन जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले यस्तो आदेश गरेको थियो । यसपछि न्यायाधीश अनवी मैनाली भट्टराईको इजलासले गत २८ पुसमा मुल्तबीको म्याद सकिएको ४ महिनापछि मुद्दा ब्यँुताएका हुन् ।
आरोपी सैनिक अधिकारी पटकपटक उपस्थित हुन पत्राचार तथा ‘वारेन्ट’जारी गरे पनि अदालतमा हाजिर नभएकाले उनीहरूको अंश २ वर्षका लागि रोक्का राख्न आदेश दिएर मुद्दा मुल्तबीमा राखिएको थियो । जिल्ला सरकारी वकिल गोविन्द उपाध्यायले प्रतिवेदनमा आरोपी फरारको सूचीमै रहेको भन्दै अब अदालतले एकपक्षीय रूपमै मुद्दा अघि बढाउने जानकारी दिएका छन् ।
उनले २ वर्षसम्म दोषी आफैँ अदातलमा उपस्थित भएमा वा प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गराएमा मुद्दा पुनः सुरु हुने बताए । खरेलथोक गाविस–६ भगवती मावि कक्षा ९ मा अध्ययनरत मैनालाई ५ फागुन ०६० मा सेनाले घरबाटै पक्राउ गरी पाँचखालस्थित तत्कालीन वीरेन्द्र सैनिक शान्ति तालिम केन्द्रमा चर्को यातना दिई हत्या गरेको थियो । उनकी आमा देवी सुनुवारले १७ माघ ०६४मा कर्तव्य ज्यान मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १८ अन्तर्गत जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ४ जना सैनिक अधिकारीविरुद्ध अभियोगपत्र दर्ता गराएकी थिइन् । देवीले केन्द्रमा कार्यरत महासेनानी बबी खत्री तथा सहसेनानी सुनीलप्रसाद अधिकारी, अमित पुन र निरञ्जन बस्नेतविरुद्ध अभियोगपत्रसँगै एकसय ३३ वटा सबुतप्रमाण संलग्न राखेकी थिइन् ।
मैना स्कुल जाँदै गर्दा १५ जनाको समूहमा रहेका सुरक्षाकर्मीले ‘विद्रोही माओवादी’ भएको कारण देखाउँदै अपहरणको शैलीमा नियन्त्रणमा लिएर केन्द्रमा ल्याएर स्तनमा करेन्ट लगाएर चरम यातना दिई हत्या गरेको र गोप्यरूपमा तालिम केन्द्रकै घेराभित्र रहेको जंगलमा गाडेको नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघसंस्थाको दबाबपछि नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयोग र राष्ट्रिय मानवअधिकार आयोगको प्राविधिक सहयोगमा मैनाको शव ९ चैत ०६३ मा उत्खनन गर्दा कंकाल फेला परेको थियो । मैनाको शव उत्खननपछि भारतमा डिएनए परीक्षणसमेत भएको थियो ।
‘सोधपुछको वैकल्पिक उपाय हुँदाहुँदै’ किशोरी मैनालाई चरम यातना दिएर हत्या गरेको तत्कालीन उपरथी किरणशमशेर जबराको नेतृत्वको सैनिक अदालतकै ‘कोर्ट अफ इन्क्वायरी बोर्ड’ले समेत निष्कर्ष निकालेको थियो । नेपाली सेनाले हत्या अभियोग लागेकालाई सेवाबाट बर्खास्त गर्दै अदालतको पत्राचारपछि प्रहरीलाई बुझाउनुपर्ने प्रावधान छ । हत्याको नियत नदेखिए पनि अनुसन्धान र मृत्युपछिको ‘प्रकृति र प्रक्रिया’ गलत भएको ठहर गर्दै सैनिक अदालतले महासेनानी खत्री, सहसेनानीद्वय अधिकारी र पुनलाई दोषी ठहर गरी ६ भदौ ०६२मा महिना कैद सजाय दिएको उल्लेख ग¥यो । सैनिक अदालतले महासेनानी खत्रीलाई २ वर्ष तथा सहसेनानी अधिकारी र पुनलाई १÷१ वर्ष बढुवा रोक्का गरेको जनाएको थियो ।
अदालतले काठमाडौं–३३ ज्ञानेश्वर घर भएका महासेनानी खत्रीको ललितपुर लेले गाविस–९ स्थित २ रोपनी १४ आनामध्ये उनको भागमा पर्न आउने ९ आना जग्गा १६ फागुन ०६७ मा, सहसेनानी अधिकारीको काठमाडौं–३ बाँसघारीको २ पैसा १ दाम जग्गा १५ चैत ०६७ मा रोक्का गरेको थियो । त्यसैगरी रूपन्देही जिल्ला आनन्दवन गाविस–३ घर भएका सहसेनानी अमित पुनको परिवार त्यहाँबाट वर्षौं पहिले बसाइँसराइ भएको भन्दै प्रहरीबाट सर्जमिन मुचुल्का भएको थियो । दोलखा जिल्ला मकैबारी गाविस–९ घर भई सेनानी बस्नेतको परिवार पनि २० वर्ष पहिल्यै बसाइँसराइ भएको भनी १६ वैशाख ०७० मा सर्जमिन गरिएको छ । महासेनानी खत्रीले भने १३ जेठ ०६६मा अवकाश पाइसकेका छन् भने सहसेनानीद्वय अधिकारी २० कात्तिक ०६३ मा र पुनलाई सोही वर्ष १५ वैशाखमा सेवाबाट राजीनामा गरी अमेरिका गएका थिए ।
प्रतिक्रिया