घुससहित निर्देशक पक्राउ

nabin-pokhrel-1काठमाडौं, १६ पुस । यातायात व्यवस्था विभागका निर्देशक नवीनकुमार पोखरेल घुस लिँदालिँदै पक्राउ परेका छन् । घुस लिनासाथ अख्तियारको फन्दामा परेपछि पोखरेलले घुस लिएको रकम तत्कालै अफ्नै कार्यकक्षको बाहिरपट्टीको सोफामा मिल्काएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार निर्देशक पोखरेललाई १ लाख ८० हजार रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको हो । विद्युतीय मोटरसाकइकल भित्र्याउने एभन साइकल कम्पनीलाई भन्सार छुटका लागि सिफारिस मागेवापत पोखरेलले घुस लिएका हुन् ।

इलेक्ट्रिक सवारी भित्र्याउँदा दिइने छुटका लागि यातायात व्यवस्था विभागले सम्बन्धित भन्सार कार्यालयलाई सिफारिससहित अनुमति दिनुपर्ने व्यवस्था छ । आयातकर्ता कम्पनीले सहजै पाउनुपर्ने सुविधा दिन नमानेर पाखरेलले घुस मागेका थिए । नेपालगञ्ज भन्सार हुँदै आयात गर्न लागिएको विद्युतीय मोटरसाकइकलका लागि छुटको सिफारिस गरेवापत पोखरेलले घुस लिएका हुन् ।

३६ थान विद्युतीय मोटरसाइकल भित्र्याउनका लागि अनुमति दिन पोखरेलले प्रतिमोटरसाइकल ५ हजार रुपैयाँका दरले घुस लिएका थिए । अख्तियारले घुस मागेको पूर्वसूचनाका आधारमा पोखरेललाई पक्राउ गरेको हो । अख्तियारको टोली पुगेको थाहा पाउनासाथ निर्देशक पोखरेलले आफूले लिएको घुस रकम फ्याँकेका थिए । पोखरेलले त्यो रकम कसरी सोफामा आयो भन्नेबारे अनभिज्ञता जनाए । उनले आफूले घुस नलिएको भन्दै पटकपटक आरोप इन्कार गरेका थिए ।

अख्तियारको टोलीले आयोगलाई असहयोग गरेमा थप कारवाही भोग्नुपर्ने चेतावनी दिएपछि उनले बल्ल घुस लिएको स्वीकारेका हुन् । उनले झन्डै १ घन्टासम्म घुस नलिएको दाबी गरेका थिए । तर, अन्तिममा स्वीकार गर्न बाध्य भए ।

प्रतिक्रिया