अझै भएन इन्धन सम्झौता

काठमाडौं, १४ पुस । नेपाल आयल निगमले प्राविधिक तयारी अपुग भएकाले चीनसँग इन्धन खरिद सम्झौता हुन ढिलाइ भइरहेको जनाएको छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काका अनुसार चीन नेपाललाई व्यापारिक रूपमा इन्धन दिन तयार भए पनि तेल ल्याउन दुई पक्षबीच केही प्राविधिक कुरा अपुग भएकाले तत्काल सम्झौता नगर्ने बताएको हो । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको चीन भ्रमणताका निगम र वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्राविधिक छलफल पूर्ण नरहेको चीनले संकेत गरेको खड्काले बताए ।

यसअघि उद्योग समितिको छलफलमा चीन पुगेको टोलीले प्राविधिक विषयका सबै कुरा मिलाइसकेको बताएको थियो । ३ पटकसम्म चीन भ्रमण गरेको मन्त्रालय र निगम टोलीले चीनबाट तेल ल्याउन प्राविधिक रूपमा कुनै समस्या नरहेको र यसका लागि उच्चस्तरीय छलफल आवश्यक रहेको बताएको थियो ।

निगम र मन्त्रालयले गरेको छलफललाई आधार मान्दै उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापासहित वाणिज्य सचिव, अर्थ सचिवलगायत ७ सदस्य टोली पुस ८ गते चीन गएको थियो । टोली चीनमा रहँदा चिनियाँ पक्षसँग विभिन्न चरणमा छलफल भएको थियो । यसैक्रममा इन्धन सम्झौताका लागि भन्दै निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मन्त्रालयबाट नमराज ढकाल चीन उडेका थिए । उनीहरू चीन पुगे लगतै थापासहितको टोलीले चिनियाँ पक्षसँग इन्धन व्यापारको विषयमा छलफल हँुदा चिनियाँ पक्षले प्राविधिक विषयमा टुंगो लगाउन थप छलफल आवश्यक रहेको बतायो ।

एक साता लामो चीन भ्रमण सकी मंगलबार नेपाल फर्केका परराष्ट्रमन्त्री थापाले तत्काल चीन सरकारले १६ करोड ७० लाख रुपैयाँ बराबरको करिब १४ लाख लिटर पेट्रोल अनुदान दिने जानकारी दिए । उनले चीन नेपाललाई तेल दिन तयार रहको र प्राविधिक कुरा मिलाएर प्रधानमन्त्रीको चीन भ्रमणताका इन्धन सम्झौता हुने बताए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको टुंगो लागिसकेको छैन । यस अघि चीनले १३ लाख लिटर पेट्रोल नेपाललाई अनुदान दिइसकेको छ ।

निगम उच्च स्रोतका अनुसार चीनले पहिले करको विषय र अहिले प्राविधिक कुरा नमिलेको भन्दै इन्धन खरिद सम्झौतालाई टारिरहेको छ । यसअघि चीन भ्रमणमा गएको निगम र मन्त्रालयको टोलीले सबै कुरा मिले पनि चीन सरकारले स्थानीय कर छुट दिने र नदिने विषयमा टुंगो लाग्न नसकेको प्रतिवेदन वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको थियो । सो टोलीले स्थानीय करका बारेमा कुरा गर्न सरकारका तर्फबाट उच्चस्तरीय टोलीले छलफल गर्नुपर्ने सुझाव दिएको थियो ।

यसै क्रममा सुटुक्क चीन भ्रमण गरेका आपूर्ति मन्त्री गणेशमान पुनले चीनसँग इन्धन खरिद सम्झौता लागि सबै कुरा मिलिसकेको भन्दै सम्झौता गर्नका लागि मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा टोली बनाएका थिए । चीनबाट सम्झौता हुने संकेत नआएपछि सो टोली चीन नगई निगमले निर्देशक सुशील भट्टराईको टोली चीन पठाएको थियो ।

खड्काका अनुसार चीनबाट तेल ल्याउन सबैभन्दा ठूलो समस्या मौसम हो । वर्षा सुरु भएलगतै बाटो बन्द हुन अवस्था नेपालतर्फ रहको छ । सम्झौता भएपछि तेल ल्याउन नसक्दा नेपालकै इज्जतको सवाल हुने उनले बताए । ‘मौसमकै कारण हाम्रा ट्यांकर ल्हासा र सिगात्से पुगी तेल ल्याउन पनि असम्भव छ’, उनले भने ‘तर त्यसको लागि चिनियाँ ट्यांकर भाडामा लिएर भए पनि केरुङसँग तेल ल्याउन सकिने अवस्था छ ।’ बाटोका कारणले नेपालबाट केरुङसम्म पनि साना खालका टयांकर मात्र जाने सक्ने र उताबाट आउने चिनियाँ टयांकर ठूला हुने भएकाले एउटैमा ट्रान्सफर गर्न नसकिने प्राविधिक समस्या रहको छ । ट्रान्सफर गर्ने काम संवेदनशील हुने भएकाले यसका पनि तयारी नपुगेको भन्दै चिनियाँ पक्षले यस्तो कुरा गरेको खड्काले बताए ।

‘निगमले केरुङसँग चिनियाँ टयांकर भाडामा लिएर भए पनि तेल ल्याउन सक्छ,’ उनले भने ‘यसका लागि सबैभन्दा पहिले हाम्रातर्फ रहेको समस्या समाधन गर्न आवश्यक छ ।’ ढिलो भए पनि चीनसँग इन्धन व्यापारको सम्झौता हुने खड्काले बताए । प्राविधिक विषयमा कुरा गर्न बाँकी भएकाले निगम निर्देशक सुशील भट्टराई अहिले पनि चीनमै छन ्।

प्रतिक्रिया