इन्धन वितरणमा सहजता

रुपन्देही, २३ असोज । नजिकिँदै गरेको नेपालीहरूको पर्व दसँैलाई मध्यनजर गर्दै रुपन्देही प्रशासनले रुपन्देहीमा रहेका सार्वजनिक यातायातलाई व्यवसायी समितिमार्फत इन्धन वितरण गर्ने भएको छ ।

इन्धन अभावका कारण यातायात सञ्चालनमा कठिनाइ आएको व्यवसायीको प्रशासनसमक्ष गुनासो बढेपछि स्थानीय प्रशासनले मौज्दात रहेको इन्धन प्रयोग गरी यातायात सञ्चालनमा सहजता ल्याउन गरी विभिन्न निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायीसँगको बैठकमा पश्चिमाञ्चल बस व्यवसायी समितिअन्तर्गत चल्ने यात्रुबाहक बसलाई दैनिक २२ हजार लिटर डिजल उपलब्ध गराउने निर्णय गरिएको छ ।

त्यस्तै सिद्धार्थ यातायात व्यवसायी समितिअन्तर्गतका यात्रुबाहक बसलाई दैनिक दुई हजार पाँच सय लिटर, खाद्यान्न ढुवानी गर्ने ट्रक व्यवसायीलाई दैनिक सात हजार पाँच सय लिटर र साना तथा मझौला ढुवानी व्यवसायीलाई दैनिक पाँच सय लिटर डिजेल उपलब्ध गराउने निर्णय भएको रुपन्देहीका सिडिओ विष्णुप्रसाद ढकालले जानकारी दिए । साथै उनले कालीगण्डी जलविद्युत्लगायतका महत्वपूर्ण आयोजनालाई पनि प्रभावित नपार्ने गरी इन्धन उपलब्ध गराइने जानकारी दिए ।

विभिन्न पम्पबाट उपलब्ध गराउने इन्धनलाई सम्बन्धित बस तथा ट्रक व्यवसायी समितिले नम्बर परेका गाडीमा समितिको सिफारिस पछि मात्र पम्पले इन्धन उपलब्ध गराउने उनले जानकारी दिए ।

सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्यकुमार सारुले भित्रँदै गरेको नेपालीको पर्वमा यसले केही राहत हुने र त्यसमा बस व्यवसायीले पनि बसको क्षमताअनुसारको सेवा प्रदान गर्दै जानेछन् भने ।

प्रतिक्रिया