दुई कोरियालाई वार्तामा बस्न आग्रह

सोल, ४ भदौ । संयुक्त राष्ट्रसंघ कमाण्ड (यूएचसी) ले उत्तर कोरियालाई दक्षिण कोरियाली भूभागको सैन्य गतिविधि निषेधित इलाकामा भइरहेको गोलाबारी रोक्न अनुरोध गरेको छ । यूएनसी कोरियाली युद्धपछि दक्षिण कोरियामा तैनाथ गरिएको एक बहुराष्ट्रिय संयुक्त सैन्य दस्ता हो ।

योनाप समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गर्दै शुक्रबार यूएनसीको युद्धबिरामका लागि दक्षिण कोरियामा रहेको आयोगले टेलिफोनबाट सूचना पठाउँदै उत्तर कोरियालाई उक्त क्षेत्रमा भइरहेको गोलाबारी तथा झडप वार्ताद्वारा समाधान गर्न आग्रह गरेको हो ।

दक्षिण कोरियाली सैन्य गतिविधि निषेधित इलाकामा बिहीबार उत्तर कोरियाले एक राउन्ड मेसिनगन तथा तीन राउन्ड अन्य गोली चलाएको थियो । यसको प्रतिरोधस्वरूप बिहीबारै दक्षिण कोरियाले एक दर्जन भन्दाबढी राउन्ड गोली चलाएको थियो ।

सूचनामा मन्त्रीस्तरीय वार्ता गरी समस्याको समाधान गर्न पहिला महासेनानी तहको दुई सेनाबीच वार्ता गर्न अनुरोध गरिएको छ ।

गएको अगस्ट ४ मा उत्तर कोरियाद्वारा गराइएको भनिएको धरापमा परी दुई दक्षिण कोरियाली सेना घाइते भएपछि कमाण्डद्वारा दुवै देशलाई वार्तामा बस्न १० अगस्टमा अनुरोध गरे पनि प्योङयाङले यसमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै वार्तामा बस्न अस्वीकार गरेको थियो ।

दक्षिण कोरियाले धराप विस्फोटन गराउन उत्तर कोरियाको हात रहेको दाबी गर्दै आएको छ । तत्पश्चात दुई देशबीचको सम्बन्धमा थप तनाब सिर्जना हुँदै आएको छ ।

प्रतिक्रिया