राष्ट्रपतिले मार्छु भनेकै भोलिपल्ट हत्या

जुबा, ३ भदौ । दक्षिण सुडानका राष्ट्रपति साल्भा किरले पत्रकारलाई मार्ने धम्की दिएको भोलिपल्टै एकजना पत्रकारको हत्या भएको खबर छ ।

उनले ती पत्रकारलाई हत्या गर्ने धम्की दिएको मृतक पत्रकारका साथीले बताएका छन् । उनको हत्यापछि अस्पतालमा उपस्थित पत्रकारले राष्ट्रपतिबाटै पत्रकार मार्ने धम्की आएको बताएका हुन् ।

पिटर मोइ नामका ती पत्रकारलाई बन्दुकधारीले गोलीहानी हत्या गरेका थिए । हत्यापछि उनको साथमा रहेका पैसा र कुनै पनि सामान नलगेका जनाइएको छ ।

राजधानी जुमाको एक अस्पतालमा उनको शव राखिएको स्थानमा पुगेर पत्रकारहरूले आफूहरू पनि राज्य पक्षबाट असुरक्षित भएको बताएका छन् ।

जुमामा यस वर्ष मारिने पत्रकारमा उनी सातौँ हुन् । पछिल्लो समयमा सुडानमा बढ्दै गएको द्वन्द्वका कारण कयौं पत्रकार मारिएका छन् । उनीहरू धाकधम्की सहन पनि बाध्य रहेको बताइन्छ ।

नियतबस र रिसइबीकै कारण उनको हत्या गरिएको छ– दक्षिण सुडानको पत्रकार युनियनका अध्यक्ष ओलिभर मोदीले बताएका छन् । उनका अनुसार पछिल्लो समयमा दक्षिण सुडानको सरकारले आफ्ना विरुद्धमा समाचार लेख्ने पत्रकारलाई तारो बनाएको पनि बताए ।

प्रतिक्रिया